काठमाडाैं, शनिवार ८ फागुन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले पार्टीको महासचिव टुंगो लगाउँन सकेको छैन। प्रतिनिधि सभा विघटनसंगै नेकपा दाहाल–नेपाल समुहको बसेको पहिलो केन्द्रीय कमिटी बैठकले अध्यक्षमा माधवकुमार नेपाललाई चयन गर्ने निर्णय गरेको थियो।
पार्टी अध्यक्ष र संसदीय दलको नेता समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्दै रिक्त अध्यक्ष पदमा नेपाललाई नियुक्त गरिएको थियो। संसदीय दलको नेतामा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गर्ने निर्णय समेत गरिसकेको दाहाल–नेपाल समुहले महासचिव चयन गर्न सकेको छैन्।
नेकपा स्रोतका अनुसार महासचिव हुनका लागि तत्कालिन एमालेबाट सुरेन्द्र पाण्डे, घनश्याम भुषाल र तत्कालिन माओवादी केन्द्रबाट बर्षमान पुन, जनार्दन शर्मा दौडधुप गरिरहेका छन्। तर महासचिव तत्कालिन एमाले वा माओवादी केन्द्र कसले लिने भन्ने नै टुंगो लाग्न नसक्दा समस्या भएको छ। ‘तत्कालिन एमालेबाट की माओवादी केन्द्रबाट पहिला त्यो नै टुंगो लाग्न सकेको छैन्’ नेकपा स्रोतले भन्यो, ‘पहिला पुरानो पार्टी कुनबाट हुने भन्ने टुंगो लागेपछि मात्रै को हुने भन्न सकिन्छ। दुबै अध्यक्षबीच नै कुरा मिलेको छैन्।’
१९ पुसमा बसेको नेकपा दाहाल–नेपाल समुहको स्थायी कमिटी बैठकले नेकपा अध्यक्ष नेपालको संयोजकत्वमा पार्टी एकताको बाँकी काम टुंगो लगाउँन र नेताहरुको जिम्मेवारी बाँडफाँड गर्न कार्यदल गठन गरेको थियो। १० सदस्यीय कार्यदलको सदस्यहरुमा गिरिराजमणि पोखरेल, घनश्याम भुसाल, गोकर्ण विष्ट, जनार्दन शर्मा, पम्फा भुसाल, बर्षमान पुन, मातृका यादव, बेदुराम भुसाल, सुरेन्द्र पाण्डे र शक्ति बस्नेत रहेका छन्। सात दिनको समय पाएको यो कार्यदलले तोकिएकै समयभित्रमा आफ्नो जिम्मेवारी पुरा गर्न सकेन्।
त्यसयता बसेको स्थायी कमिटी बैठकले महासचिव सहित पार्टी एकताको काम टुंगो लगाउँन सचिवालयलाई जिम्मेवारी दियो। तर अध्यक्षद्धय दाहाल र नेपालका बीचमा नै सहमती हुन नसक्दा महासचिव सहित नेताहरुको जिम्मेवारी बाँडफाँड सहित पार्टी एकताको बाँकी काम टुंगो लाग्न नसकेको हो। प्रतिनिधि सभा विघटन असंवैधानिक र अलोकतान्त्रिक रहेको बताउँदै दाहाल–नेपाल समुह चरणबद्ध आन्दोलनमा छ। सडक आन्दोलनमा रहेको नेकपा दाहाल–नेपाल समूहले संसद पुनस्र्थापना नहुँदा सम्म आन्दोलन जारी नै राख्ने बताउँदै आएको छ।