सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी हुँदै छ। बिहिबार न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाईपछि निर्णय सुनाउने मिति समेत तोकिएको छ। त्यसउपर २० फागुनमा फैसला गर्ने तय भएको छ।
निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी पहिल्यै दर्तामा रहँदा नेपाल कम्युनिस्ट पार्टी नेकपा नाममा पार्टी दर्ता गराएको थियो। केपी शर्मा ओली र पुष्पकमल दाहाल नेतृत्वको नेकपा दर्ताप्रति ऋषि कट्टेलले गम्भीर आपत्ति जनाए। आयोगमा उजुरी पनि गरे। तर, निर्णय ओली र दाहालको पक्षमा गयो ।त्यसपछि ऋषि कट्टेल सर्वोच्च अदालतमा निर्वाचन आयोगविरुद्ध रिट दर्ता गर्न पुगे। लामो समयपछि रिटमाथि पेशी चढेर सुनुवाई भयो। अब अन्तिम फैसला आगामी हप्ता आउने निश्चितप्रायः छ।
फैसला ओली र दाहाल नेतृत्वको नेकपाको पक्षमा गएमा वैधानिक रुपमा एकता कायमै हुने अवस्था अझै रहन्छ। तर, ऋषि कट्टेलको पक्षमा फैसला भएमा परिस्थित फरक हुनसक्छ। नेपाल कम्युनिस्ट पार्टी नेकपा एकीकरण पूर्वको अवस्थामा रहन सक्छ। त्यतिबेला ओली नेतृत्वको नेकपा एमाले र प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबीच एकता भएको थियो।