
सोमवार, फाल्गुन २४, २०७७
काठमाडौं, सोमवार २४ फाल्गुन १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा एम्नेष्टी ईन्टरनेशनल नेपाल बालबालिकाको लागि कार्यरत समूह ८० द्वारा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ। ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलको प्राङ्गणमा समूहकी अध्यक्ष रिता थपलियाको सभाध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रमको प्रमुख आतिथ्यता एमनेष्टी ईन्टरनेशनल नेपाल राष्ट्रिय कार्यसमितिका अध्यक्ष विक्रम ढुकुछुले गरेका थिए। ए.आई नेपालका पूर्व अध्यक्ष सूर्यबहादुर अधिकारी, सामाजिक अभियन्ता दिनेश खनाल बिशेष अतिथिका रूपमा र काठमाडौं महानगरपालिका -६ का सदस्य भगवान थापा, नेकपा बूढानीलकण्ठ १० अध्यक्ष जगत निरौला, नेपाली काङ्ग्रेस बूढानीलकण्ठ १० का सभापति श्याम डोटेल, समाजसेवी तथा साहित्यकार सीमा पुरि, एचटिभी खबरका अध्यक्ष सबिन पन्त, राष्ट्रिय खबरका मकुन्द ढुंगाना, शान्ति नगर उपभोक्ता समितिका गोविन्द भट्टराई, ए आई नेपालका पूर्व केन्द्रिय सदस्य पासाङ शेर्पा, ए आई नेपालका पूर्व अध्यक्ष मनोज अधिकारी, दीपक अधिकारी लगायत जोसेफ कलेजका शिक्षक र विद्यार्थीहरुको उल्लेखनीय उपस्थिति रहेकोे थियो। कार्यक्रममा बोल्दै एमनेष्टी नेपालका पूर्व राष्ट्रिय अध्यक्ष अधिकारीले एमनेष्टी नेपालको स्थापनापछि बालबालिका, महिला तथा मानव अधिकार लगायत विभिन्न क्षेत्रमा महत्त्वपूर्ण कार्यहरू भएको बताएका थिए। कलेजका छात्राहरुलाई सम्बोधन गर्दै छोरीहरूले घरदैलो देखि बाहिरसम्म भोग्नुपरेका यौनजन्य हिंसाबाट मुक्त हुन आफै सक्रिय हुनुपर्ने सुझाव दिएका थिए। कसैले पनि गलत मनसाय राखेर नजिकिँदै शरीरमा स्पर्श गर्न खोज्छ भने त्यसको प्रतिकार गर्न पछि पर्नु नहुने पनि सुझाएका थिए। समाजसेवी तथा साहित्यकार सीमा पुरीले कविताको माध्यमबाट नारी भएर जन्मिएपछि भोग्नुपर्ने अनेकौं अन्तरमनका पीडा, मनोसामाजिक पिडाको वर्णन गर्दै महिलाको निम्ति भइरहेको सामाजिक बन्धनहरु परिवर्तन हुनुपर्ने बारेमा उजागर गरेकी थिइन्। त्यस्तै जोसेफ कलेजकी छात्रा विनिता सिलवालले छोरा र छोरी बीच भेदभाव गरि छोरीलाई गर्भमा नै मार्ने जघन्य अपराध गर्नेहरूलाई छोरीलाई गर्भमै मारेपछी छोराको लागि बुहारी कहाँबाट ल्याउने भनेर कविताकै माध्यमद्वारा चोटिलो प्रश्न तेर्साएकि थिइन्। तराई, पहाडी र पश्चिमी नेपालमा रहेको सामाजिक कुरिती छाउपडी, झुमा, देउकी र घुम्टो प्रथाको आलोचना गर्दै यस्ता अमानवीय प्रचलनको अन्त्यको लागि आवाज उठाएकी थिइन्। कलेजकै छात्र निशान ढकालले हरेक नारीलाई सम्मानको दृष्टिले हेर्नुपर्ने बताउँदै यदि नारी नै नभएको भए यो संसारको सृष्टि सम्भव नभएको बताएका थिए। नारीलाई कसैले पनि कमजोर ठान्नु गलत भएको भन्दै महिला र पुरुष दुवैलाई समान व्यवहार दिदै अवसर प्रदान गर्नुपर्नेमा जोड दिएका थिए।
प्रकाशित भएको : March 8th, 2021