• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


मनाईयो १११ औं अन्तर्राष्ट्रिय महिला दिवस,तर देखिएन महिला बीच एकता


नेपाली अपडेट
सोमवार, फाल्गुन २४, २०७७
 
काठमाडौं, सोमवार २४ फाल्गुन १११औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ( मार्च ८) को अवसरमा देशभर विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। यसै अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं.१० संयुक्त महिला सञ्जालद्वारा पनि कार्यक्रम आयोजना गरिएको थियो। तर सदाको बर्ष झैं कार्यक्रमको रौनक र महिलामा उत्साह भने देखिएन। ९ बर्ष अगाडिदेखि साविक कपन गाविस हुँदाका र हालको बूढानीलकण्ठ नगरपालिका वडा नं.१०,११ र १२ मा भएका महिला समुहहरुको छाता समुह बीचको एकताको छाता च्यात्तिएको प्रष्टै देखिएको छ। अब न त पानी थेग्न सक्छ न त घाम छेक्न सक्छ भन्ने चिन्ता परेको सहभागी एक महिलाले बताईन। प्रत्येक बर्ष मार्च ८ महिला दिवसको दिन महिलाहरुको बाक्लो उपस्थितिले खचाखच भरिने कपन ह्यान्डबल मैदान यसपालि चहलपहल विहीन हुन पुग्यो। महिला बीच आत्मीयता र एकताको कमि अनि एकले अर्काको अस्तित्व स्वीकार्न नचाहने प्रविर्ती नै यसको मुख्यकारण हुनसक्छ। महिला सम्बन्धि हरेक कार्यक्रममा महिला हक अधिकारका कुरा र महिला हिंसाका कुराहरु आदर्शपरक शब्दहरुमा गुन्जिने गर्छन्। त्यतिबेला महिला हिंसामा पुरुषलाईनै औंला तेर्साईने गरिन्छ। किन कि पुरुषवादी सामाजिक सोच र वास्तविक रूपमा घट्ने घटनाले पनि पुरुष नै दोषी मान्न सकिन्छ। घरको दैलो देखि बाहिर जहाँ कहिँ पनि महिला हिंसाका साथै महिला माथि हुने बलात्कारका घटनालाई प्रमुख रूपमा लिन सकिन्छ। अझै जन्मदिने बाबुबाट छोरी, दाईबाट बहिनी बलात्कृत भएका कतिपय पिडादायी घटनाहरु यसका उदाहरण हुन्। अन्तर्राष्ट्रिय रूपमा नै श्रमिक महिला एकताको प्रतीकको रूपमा मनाउँदै आएको महिला दिवसमा नै बूढानीलकण्ठ नगरपालिका वडा १०,११ र १२ का महिला बीचको मनोमालिन्य यसरी छरपस्ट देखिनु अत्यन्तै दु:खद मान्न सकिन्छ। वडा १० संयुक्त महिला सञ्जालकि संयोजक विद्या सुवेदी र वडा सदस्य रीता दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिका रूपमा उपस्थित वक्ताहरुले पनि महिला बीचको एकता टुट्नुको कारणको चासो व्यक्त गरेका थिए। प्रत्येक बर्ष नारी दिवस मनाउन नगरपालिकाले रकम दिने गरेकोमा यसबर्ष नगरपालिकाले नै नगर कार्यालय प्राङ्गणमा बिशेष कार्यक्रम आयोजना गरेको थियो। नगरपालिकाबाट रकम प्राप्त नभएकै कारण १०,११ र १२ का महिलाको एकता टुटेको आरोप लगाउनेको पनि कमि छैन। यसपटकको महिला दिवसको अवसरमा वडा ११ मा कुनै कार्यक्रम आयोजना गरिएको जानकारी प्राप्त भएको छैन भने वडा १२ मा भव्य कार्यक्रम भएको जानकारी प्राप्त भएको छ। वडा १२ ईभर साईन पार्टी प्यालेसमा आयोजित महिला दिवस कार्यक्रममा वडा १० र ११ का महिलाहरूलाई पनि आमन्त्रण गरिएको थियो। वडा नं.१० कै संयुक्त महिला सञ्जालले आयोजना गरेको कार्यक्रममा वडा १० कै महिलाको उपस्थिति नहुनु तर १२ को कार्यक्रममा जानू यस कुरालाई पनि अर्थपूर्ण रूपमा लिन सकिने कार्यक्रममा उपस्थित एक सहभागीले बताएका छन्। दिवस मनाउने कुरामा त महिला महिलामा एकता देखिएन भने अन्य कुरामा कसरी मिल्न सक्छन् उनले जिज्ञासा व्यक्त गरेकाछन्। कार्यक्रममा कपन क्षेत्रमा रहेका बैंकमा कार्यरत महिला प्रवन्धकहरुलाई र समाजमा योगदान पुर्‍याउने महिलाहरुलाई सम्मान गरिएको थियोे। उक्त कार्यक्रममा वडाध्यक्ष नवराज भट्टराई, नेपाली काङ्ग्रेसकि रीता बुढाथोकी, रामप्रसाद लुइँटेल, देवेन्द्र पौडेल, समाजसेवी मीना पराजुली, समाजसेवी हेमा अधिकारी, वडा सचीव नविन्द्र तामाङ लगायत विभिन्न क्षेत्रमा कार्यरत महिलाहरुको उपस्थिति रहेको थियो। सौरभा गौतम, सरस्वती अर्याल र हेमा अधिकारीले कविता वाचन गरेका थिए। संयुक्त रूपमा टीका दाहाल र सुनिता खड्काले कार्यक्रम संचालन गरेका थिए।
प्रकाशित भएको : March 8th, 2021

सम्वन्धित समाचारहरु