
काठमाडौं, बुधवार २६ फाल्गुन
प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्ने कुनै उद्देश्य नभएको बताएका छन्। उनले भने,‘मलाई प्रधानमन्त्री पदसँग मतलब छैन्। बरु, फेरि सभापति बन्ने मेरो उद्देश्य छ।’ बुधबार कांग्रेस सम्बद्ध आदिवासी जनजाति नेताहरूसँगको भेटमा पूर्व प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। पूर्वसांसद सीता गुरुङलगायतका जनजाती नेताहरू सहभागी थिए। देउवाले आफू फेरि एकपटक सभापति बन्नेगरि आन्तरिक तयारीमा लागेकोले सत्ताको खेलमा नलाग्ने कुरा बताएका थिए।
पछिल्लो समय सर्वोच्च अदालतको फैसला आएपछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग अलग भएका छन्। यो सँगै माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जुटेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजोमात्रै सभापति देउवासँग सत्ता सहकार्यको लागि भेटवार्ता गरेका थिए। त्यसको भोलिपल्ट देउवाले आफू सरकारमा जान लालयित नभएको कुरा स्पष्ट पारेका हुन्।