• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


लायन्स क्लब टि कपनका पूर्व अध्यक्षको जन्मोत्सवमा बालबालिकालाई खाना र शैक्षिक सामाग्री


नेपाली अपडेट
आइतवार, चैत्र ८, २०७७
 

काठमाडौं, आइतवार ८ चैत

लायन्स क्लब अफ काठमाडौं टि कपनका पूर्व अध्यक्ष एवं डिष्ट्रिक ३२५ बि१ मा चेयरपर्सन ठाकुर प्रसाद खकुरेलको जन्मोत्सवको अवसरमा अपांग बालबालिकाहरुलाई खाना खुवाएर शैक्षिक सामाग्री हस्तान्तरण गरिएको छ।

बागमती प्रदेश सभा सदस्य माननीय कुसुमकुमार कार्कीको प्रमुख आतिथ्यता तथा क्लबका अध्यक्ष सुरेन्द्र दियालीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष ठाकुर प्रसाद खकुरेलको ६४औं जन्मोत्सव पारेर बाल अपांग टेवा संस्था बूढानीलकण्ठ-११, कपनका ३० जना शारीरिक रूपमा अशक्तता भएका बालबालिकाहरुलाई बिहानको खाना खुवाउनुको साथै शैक्षिक सामाग्री वितरण गरिएको हो। उक्त अवसरमा लायन्स क्लब ईन्टरनेशनल ३२५ बि१ का भाईस डिष्ट्रिक गभर्नर महेन्द्र पौडेल, क्लबका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक पिआरओ सबिन पन्त ‘पृथक’, पूर्व अध्यक्ष एवं डिष्ट्रिक चेयरपर्सन संगीता पन्त, प्रथम उपाध्यक्ष सुनन्दा पन्त, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराई, ११ का वडाध्यक्ष राजु अधिकारी, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराई, काठमाडौं खेलकुद विकास समितिका पूर्व अध्यक्ष ध्रुवराज न्यौपाने, समाजसेवी रत्न उप्रेती, भानुभक्त थपलिया, ग्लोबल हामी नेपाली अमेरिकाकी संयोजक ईन्दिरा त्रिपाठी, बाल अपांग टेवा संस्थाका अध्यक्ष डेन्डी शेर्पा लगायत सञ्चारकर्मी र परिवारका सदस्यहरुको उपस्थिति रहेको थियो।

उपस्थित सम्पूर्ण अतिथिहरुले पूर्व अध्यक्ष खकुरेलको जन्मोत्सवको अवसरमा उहाँको कपन क्षेत्रमा रहेको उत्कृष्ट योगदानको चर्चा गर्दै समाजसेवा गर्ने चाहना र शारीरिक स्फुर्ती अझै वृद्धि होस् भन्ने कामना गरेका थिए। खकुरेलले कार्यक्रमका बारेमा प्रष्ट पार्दै आफुले जीवनमा चुरोट सेवन गर्ने बानी र कुलतलाई त्यागेर त्यो रकमले सानोतिनो भएपनि उदाहरणीय सामाजिक कार्य गर्न सकिन्छ भनेर नै प्रत्येक बर्ष आउने जन्मदिनको अवसरमा यस्तै सेवामूलक काम गर्दै आएको बताउनु भएको थियोे। साथै यसबाट अरुलाई पनि शिक्षा मिल्ने आशा गर्दै उपस्थितहरुलाई आफुसंग भएको कुनैपनि नशालाई त्यागेर थोरैथोरै रकम जोगाएर यस्तै सामाजिक कामगर्न आग्रह गर्नुभएको थियो। प्रमुख अतिथि प्रदेश सभा सदस्य कुसुम कार्कीले खकुरेलको जन्मोत्सवको अवसरमा यस्तो उल्लेखनीय सामाजिक कार्यप्रती प्रशंसा गर्दै आउँदा दिनहरुमा उमेर बढेपनि त्यो संगै शारीरिक तन्दुरुस्ती र कार्य क्षमताको पनि वृद्धि होस् जोस जाँगर बढ्दै जाओस् भनी शुभकामना दिनुभएको थियो। लायन्स क्लब अफ काठमाडौं टि कपनले गर्दै आएको विभिन्न सामाजिक सेवाका कार्यको पनि खुलेर प्रशंसा गर्नुभएको थियो साथै आउँदा दिनमा झन सेवाका क्षेत्रको वृद्धि होस् भन्दै शुभकामना पनि दिनुभएको थियोे।

बिशेष अतिथि लायन्स क्लब ईन्टरनेशनल ३२५ बि१ का भाईस डिष्ट्रिक गभर्नर महेन्द्र पौडेलले लायन्स क्लब अफ काठमाडौं टि कपनले समाज सेवामा गरेका विशिष्ट कार्यहरूको बारेमा धन्यवाद दिदै पूर्व अध्यक्ष खकुरेलको सुस्वास्थ, दिर्घायूको कामना गर्दै शुभकामना दिनुभएको थियोे। त्यसै अवसरमा बूढानीलकण्ठ नगरपालिका वडा नं.११ का वडाध्यक्ष राजु अधिकारीले लायन्स क्लब टि कपनले यस क्षेत्रमा गरेको उत्कृष्ट सामाजिक कार्यबाट आफू प्रभावित भएको र क्लबको सदस्य बन्न चाहेको घोषणा गर्नुभएको थियोे। वडाध्यक्ष अधिकारीलाई गभर्नर पौडेलले लायन्सको पिन लगाईदिएर क्लबमा स्वागत गर्नुभएको थियोे।

प्रकाशित भएको : March 21st, 2021

सम्वन्धित समाचारहरु