
काठमाडौं, सोमवार ९ चैत
नेकपा एमालेको शनिबार बालुवाटारमा बसेको संसदीय दलको बैठकमा केहीबेर विवाद भयो । कारण थियो प्रभावशाली नेता बामदेव गौतम पुगेपछि ओलीको सिधै राजीनामा माग्नु । गौतमले एमालेलाई जोगाउनका लागि केपी शर्मा ओलीले प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने बताए ।
प्रतिनिधि सभा विघटन गराउने ५ पौषको कदम देखि २८ फागुनमा पार्टीसम्बन्धी निर्णयहरुको विरोध गर्दै गौतमले राजीनामा मागेपछि ओली रुष्ट भए । उनले बीचैमा हस्तक्षेप गरी गौतमलाई बोल्नबाट रोके । अब भयो पुग्यो भनेपछि गौतम धन्यवाद भनी निस्किएका थिए ।
गौतमले राजीनामा मात्र मागेनन् आफूलाई पार्टीको ह्वीप नलाग्ने समेत तर्क गरेका थिए । राष्ट्रिय सभाका सांसद गौतम मन्त्रिपरिषदको सिफारिशमा राष्ट्रपतिद्वारा मनोनित सांसद हुन् । उनले यसकारण पनि ह्वीप नलाग्ने तर्क गरेका हुन् ।
गौतम रुष्ट भई बालुवाटारबाट निस्किएका थिए । उनी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी भएनन्।
ओली भने गौतमप्रति रुष्ट भएका छन्। उनले अब गौतमसँग सहकार्य नहुने निकटस्थलाई बताएको बुझिएको छ। संसदीय दलको बैठकमा सबैका सामु राजीनामा मागेकोमा ओली असन्तुष्ट भएका हुन्। यसअघि छुट्टै भेटमा पनि गौतमले राजीनामा मागेका थिए। बालुवाटार रुष्ट भएपछि गौतम पनि आफ्नै रणनीति बनाउन लागेका छन्।