• शनिबार, अशोज ९, २०७८
  • | September 25, 2021


प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठ रहेको भीम रावलको आरोप


नेपाली अपडेट
बुधबार, चैत्र ११, २०७७
 

काठमाडौं, बुधवार ११ चैत

प्रधानमन्त्री केपी शर्मा ओलीमाथि विदेशीसँग साँठगाँठको गम्भीर आरोपहरु लाग्न थालेको छ । उनलाई आरोप लगाउनेमा उनकै दलका नेताहरु देखिएका छन् ।

आज सामाजिक सञ्जालमा नेकपा एमालेका प्रभावशाली नेता भीम रावलले ओलीमाथि विदेशीसँग साँठगाँठको आरोप लगाएका छन् । उनले विदेशी तथा स्वदेशी शक्तिको नाम उल्लेख नगरी नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिसँग साँठगाँठ गर्न तल्लीन भएको आरोप लगाएका हुन् । उनको संकेत दक्षिण छिमेकी भारततर्फ थियो ।

रावलले लेखेका छन्,‘प्रम केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरुसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ। देशभक्त नेपाली सजग होऔं ।’

यसअघि रावलले दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहँदा ओली बालुवाटारमा पदको खेल र झेलमा मग्न भएको आरोप लगाएका थिए । काँग्रेस नेता दिलेन्द्रप्रसाद बडुले पनि यो विषय उठाउँदै प्रधानमन्त्री ओलीको राष्ट्रवादमाथि प्रश्न गरेका थिए ।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीमाथि विदेशीसामु लम्पसार परेको आरोप लगाएका थिए । ८ चैत्रमा राजधानीमा आयोजित अन्र्तक्रियामा ओलीलाई २०औं २५औं वर्षदेखि विदेशीहरुले हुर्काएको, पालित, पोषित भएको टिप्पणी गरेका थिए । त्यसअघि पनि प्रचण्डले ओलीलाई भारतको इशारामा चलेको आरोप लगाएका थिए ।

प्रकाशित भएको : March 24th, 2021

सम्वन्धित समाचारहरु