• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


प्रदेश ३ को नाम बाग्मती राख्ने नेकपाको निर्णय, घेदुङको गम्भीर आपत्ति


नेपाली अपडेट
सोमवार, पुस १४, २०७६
 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश नं ३ को नाम ‘बाग्मती प्रदेश’ राख्ने निर्णय गरेको छ । आदिवासी जनजातिका साथै पहिचान पक्षधर राजनीतिक दलहरुले प्रदेश नं ३ को नाम नेवा– ताम्सालिङ प्रदेश राख्न माग गरिरहेका बेला सत्तारुढ नेकपाले प्रदेशको नाम बाग्मती राख्ने र राजधानी हैटौडालाई बनाउने निर्णय गरेको हो ।

आइतबार बसेको नेकपाको सचिवालय बैठकले उक्त निर्णय गरेको हो । र, उक्त निर्णय कार्यान्वयन गर्न पार्टीको ३ नम्बर प्रदेश कमिटि र प्रदेश सांसदहरुलाई निर्देशन दिइने छ ।

प्रदेश नं ३ मा नेकपाको दुई तिहाई बहुमत छ । नेपाली कांग्रेस दोस्रो ठूलो दल भए पनि उसले पनि पहिचानसहितको संघीयता चाहँदैन ।

अब प्रदेश नं ३ को नाम बाग्मती प्रदेश हुने निश्चित भएको छ । नेकपाले यसअघि पनि आदिवासी समुदायले प्रदेश नं ४ लाई तमुवान–मगरात प्रदेश नामाकरण गर्न माग गरिरहेका बेला गण्डकी प्रदेश बनाएको थियो । तर, नेकपाको सचिवालयको निर्णयलाई नेकपाकै केही सांसदले भने विरोध गरेका छन् ।

घेदुङको गम्भीर आपत्ति
प्रदेश नं ३ लाई बाग्मती प्रदेश नामाकरण गर्ने नेकपाको निर्णयप्रति नेपाल तामाङ घेदुुङले आइतबार नै विज्ञप्ती जारी गरी गम्भीर आपत्ति जनाएको छ ।

घेदुङका अध्यक्ष मोहन गोले तामाङले विज्ञप्तीमा भनेका छन्, ‘प्रदेश नं ३ तामाङ र नेवार लगायत १५ भन्दा बढी आदिवासी जनजातिहरुको ऐतिहासिक सभ्यताबाट विकसित भूमि हो । तसर्थ, यो सभ्यताको सम्मान गर्नको खातिर यस प्रदेशको नाम नेवा–ताम्सालिङ प्रदेश राख्न विगतदेखि हामीले आवाज उठाउँदै आइरहेको सर्वविदित्तै छ । प्रदेश सभामा ५ जना सांसदहरुले २०७५।२।९ गते नेवा–ताम्सालिङ प्रदेश नामाकरण गरियोस् भनी प्रस्ताव समेत दर्ता गरिसकेको अवस्थामा त्यसबारे कुनै छलफल नगरी राजनीतिक दलले प्रदेशको नामाकरणको निर्णय लिनु लोकतान्त्रिक विधि, प्रक्रिया विपरित समेत हो भन्ने हाम्रो ठहर छ ।’

नेकपाले यस किसिमको निर्णय गरी संघीयता, गणतन्त्र, धर्मनिरपेक्षताको भावना र मर्ममाथि प्रहार हुनुका साथै जनताको बलिदानीपूर्ण संघर्षको समेत अवमूल्यांकन भएको घेदुङले जनाएको छ ।

घेदुङले नेकपासँग उक्त निर्णय फिर्ता लिई प्रदेश नं ३ को नाम नेवा–ताम्सालिङ राख्न माग गरेको छ । निर्णय फिर्ता नगरिए उत्पन्न हुने असहज परिस्थितिको जिम्मेवारी नेकपाले नै लिनुपर्ने चेतावनी समेत दिइएको छ ।

हेर्नुस् विज्ञप्तीः

प्रकाशित भएको : December 30th, 2019

सम्वन्धित समाचारहरु