• मङ्लबार, बैशाख १८, २०८१
  • | April 30, 2024


आफ्नै कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो छ : डा. शेखर कोइराला


नेपाली अपडेट
आइतवार, चैत्र १२, २०७९
 

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पछिल्लो समय आफ्नै कमी कमजोरीले सङ्घीयताप्रतिको वितृष्णा चुलिँदो भएको बताएका छन् । ‘अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन’, प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले उनले भने– ‘हाम्रा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ ।

यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो ।’ उनले २०४८ सालमा ल्याएको सुधारको शृङ्खलालाई निरन्तरता दिन नसक्दा नै अहिले समस्या उत्पन्तन भएको धारणा राखे । उनले लोकतान्त्रिक राजनीतिक प्रणालीले विशिष्ट मूल्यपद्धति र नैतिक मूल्यको अपेक्षा गर्ने उल्लेख गर्दै राजनीतिक पद्धति जतिसुकै राम्रो भए पनि त्यसअनुरुप व्यवहार नभएको बताए ।

उनले देशमा अराजकताले मात्रै प्रश्रय पाउँदा राजनीतिक उपलब्धि पनि धरापमा पर्ने उल्लेख गरे । सरकारको सामु चुनौतीको चाङ भए पनि नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावना रहेको उनको भनाइ छ । उनले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै राजनीतिक सहमति कायम गरी अघि बढ्न आग्रह गरे ।

नागरिकको विश्वास र संसद्को समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको सङ्कट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिने उनको धारणा छ । ‘यसका लागि प्रधानमन्त्रीले इच्छाशक्तिले मात्रै पुग्दैन’, उनले भने– ‘सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ ।’

समाजवाद भ्रष्टाचारको जगबाट नआउने भन्दै उनले समन्यायिक समाज बनाउन विचार, व्यवहार र दृष्टिकोण आवश्यक पर्ने बताए । ‘साझा सङ्कल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न सकिन्छ, विश्वबाट लगानीको अवसर नेपाल भित्र्याएर बेरोजगारीलाई सम्बोधन गर्न आवश्यक छ’, उनले भने ।

सरकारी निकायले उद्योग–व्यवसायमाथि झन्झट थोपर्ने, दोहन गर्ने र हैरान पार्ने काम बन्द गर्नुपर्ने, उद्योग–वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्श लगायतले लगानी र रोजगारी बढाउन ऐन, कानुन र प्रक्रियामा सुधारका लागि दिएका सुझावको निरपेक्ष अध्ययन गरेर आवश्यकता अनुसार सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।

उनले जनतामा आशा र भरोसा नजगाइ लोकतन्त्रको संरक्षण गर्न पनि नसकिने बताउँदै सम्भव भएसम्म अब सर्वाङ्गीण आर्थिक सुधारका काम अगाडि बढाउन आग्रह गरे । लोकतान्त्रिक राजनीतिक प्रणालीलाई अक्सिजन दिएर बचाउने, बढाउने र जोगाउने काम आर्थिक विकासवाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता कोइरालाले नेपालका प्रत्येक नागरिकको जीवनमा देखिने गरी आउने दिगो सुधारले मात्र यो सम्भव हुने धारणा व्यक्त गरे ।

प्रकाशित भएको : March 26th, 2023

सम्वन्धित समाचारहरु