• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


‘अब लोडसेडिङ हुँदैन, घरमा बिजुलीका उपकरण जोडे हुन्छ’


नेपाली अपडेट
शनिबार, साउन २५, २०७६
 

देशमा धेरै आयोजना बेलैमा सम्पन्न नहुँदा नागरिक निराशामा परिरहेको बेला विद्युत क्षेत्रमा भने उत्साहजनक काम भैरहेको छ । देश लोडसेडिङमुक्त भैसकेको छ भने नेपाल विद्युत प्राधिकरण बिजुली खेर जान नदिन खपत बढाउने उपायको खोजीमा लागेको छ ।तर विद्युत उत्पादन र वितरण सजिलो छैन । पाइलैपिच्छे अवरोध नै अवरोध छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हरेक आयोजनास्थलमै पुगेर समस्या समाधानको प्रयास गरिरहनुभएको छ । नेपाल विद्युत प्राधिकरणले गरेका काम र योजनाको बारेमा अर्जुन पोख्रेलले कार्यकारी निर्देशक कुलमान घिसिङसँग गरेको कुराकानी –

हिजोआज तपाईँ हरेकजसो आयोजनाको फिल्डमै जाने गर्नुभएको छ ।बिदाको दिनको पनि वास्ता नगरी किन यसरी आयोजनास्थलको दौडधुपमा लाग्नुभएको हो ?:हरेक आयोजनास्थलमा कार्यकारी निर्देशक जाँदा धेरै नै फरक पर्छ। आयोजना स्थलमा देखिएका समस्या समाधान गर्न, त्यहाँका कमीकमजोरी सुधार्न, आयोजना प्रमुख तथा अन्य कामदार, ठेकेदार, कन्सल्ट्यान्ट सबैसँग भेट्दा खास समस्या थाहा हुन्छ ।आफूलाई गरिएको रिपोर्टिङ ठिक छ कि छैन भन्ने पनि आयोजनास्थलमा पुगेपछि थाहा हुन्छ । कतिपय अवस्थामा आयोजनाको प्रगतिबारे गलत रिर्पोटिङ गर्ने, तर आयोजना तोकिएको समय भन्दा धेरै पर धकेलिने पनि भएका छन्, त्यसैले आफै गयो भने यथार्थ थाहा हुन्छ ।

आउँदो चैतमा जसरी पनि बिजुली उत्पादन गर्ने लक्ष्यका साथ तपाईँले हरेक महिना तामाकोशीमा बैठक गर्नुहुन्छ । अरु आयोजनामा पनि पुग्नुहुन्छ । तपाईँ आफै फिल्डमा गए काम हुने, नत्र नहुने हो र ?:म नजाँदा काम नहुने र म जाँदा आजको भोलि नै काम सकिने भन्ने होइन । तर कुनै पनि निकायको प्रमुख आयोजनास्थलमा पुगेर त्यहाँ निर्देशन दिँदा कामले गति लिन्छ नै । यस्तै म त्यहाँ पुगेर कामको मात्रै नभई कर्मचारीका पनि समस्या सुन्छु, समाधान गरिदिन्छु । त्यसो गर्दा कर्मचारीलाई पनि हौसला हुन्छ ।

काठमाण्डौमा बसेर नदेखिने सानातिना समस्या म आफैले अनुभव गर्नको लागि पनि फिल्डमै जानुपर्छ । र तामाकोशीको हकमा म हरेक महिना जाने गरेको छु । त्यहाँ धेरै समस्या थिए । मैले हरेकपटक जाँदा नयाँ नयाँ समस्या आएको देख्छु । तर फिल्डबाटै समाधान हुने समस्या भएमा म त्यहीँ भएको बेला नै समाधान हुन्छ ।नीतिगत तहबाट समाधान गर्नुपर्ने भएमा त्यसको लागि पहल गर्छु । हरेक महिना फिल्डमै जाने, हरेक दिन फोन गरेर प्रगती बुझ्ने लगायतका काम नगरेको भए एकदमै समस्याग्रस्त बनेको आयोजना अहिले ठिक ठाउँमा आउने थिएन होला सायद ।

धेरै सक्रियताका कारण देश लोडसेडिङमुक्त भएको छ, अहिले हाम्रो बिजुली उत्पादनको अवस्था के छ र आउँदो वर्ष कति बिजुली उत्पादन हुनेछ ?:अहिले वर्षाको समयमा हामीलाई पुग्ने बिजुली उत्पादन भैरहेको छ । कुनै कुनै बेला हामीले दुई सय मेगावाटसम्म भारतमा पठाएका पनि छौं । हामीले भारतसँग इनर्जी बैंकिङको सम्झौता गरेका छौं ।त्यसैले बर्खामा पठाउने र हिउँदमा उताबाट ल्याउने गर्दै आएका छौं । त्यसैले हामीलाई यही बर्खामा समस्या त समस्या परेको छैन भने आउँदो बर्खामा त झन बिजुली धेरै नै उत्पादन हुनेछ ।

अब आउँदो सुख्खा समयमा भने भारतबाट केही मात्रामा बिजुली आयात गर्नैपर्छ । यो आर्थिक वर्षमा हामीले झण्डै १ हजार मेगावाटका आयोजना सकिनेछन् र १ हजार मेगावाट राष्ट्रिय प्रणालीमा जोडिनेछन् । माथिल्लो तामाकोशी पनि यसै वर्ष आउनेछ । त्यसैले आउँदो हिउँदमा केही समस्या भए पनि त्यसपछि हामी बिजुली उत्पादनमा फड्को मारेको अवस्थामा हुनेछौं ।

भनेपछि आउँदो वर्षादेखि नेपाल आफ्नै बिजुलीले आत्मनिर्भर हुन्छ ?:अब त लोडसेडिङ हुन्छ भन्ने पिर भन्दा पनि हामीले बिजुली कसरी देशभित्रै खपत गर्ने भन्ने बहस र योजना बनाउनुपर्छ । देशभित्रै बिजुली कसरी खपत गर्नुपर्छ र खपतका क्षेत्रहरु के के हुन सक्छन भनेर अब नीति र योजना बनाउन ढिला भैसकेको छ । अब हामी सबैको नजर बिजुली उत्पादनसँगै खपतका क्षेत्रहरुतर्फ जानुपर्छ ।

त्यसाेभए बिजुली सकभर देशमै खपत गर्नुपर्छ, बेचेर फाइदा छैन ?हो, बिजुली बेचेर धेरै फाइदा छैन । उदाहरणको लागि हामीले १ युनिट बिजुली बेच्दा १०/११ रुपैयाँ आउला । तर त्यही १ युनिट बिजुली नेपालमै खपत गरेमा त्यसले १ हजार रुपैयाँ बराबरको उत्पादन हुन सक्छ ।त्यसैले हामीकहाँ धेरै भएको बिजुली त बेच्ने नै हो । बिजुली बेच्दै नबेच्ने हामीले भनेका होइनांै । तर सकभर देशमै बिजुली खपत गर्नुपर्छ भन्ने हामी सबैको बुझाइ हुनुपर्छ ।

उसोभए बिजुली खपतका लागि के-के उपाय हुन सक्छन् त ?:हामीकहाँ अहिले पनि धेरै उद्योग कल कारखानाले मागेजति बिजुली पाएका छैनन् । हामीले उद्योगहरुलाई पूर्ण क्षमतामा बिजुली दिन सक्छौं । त्यस्तै नयाँ नयाँ उद्योगहरु खोल्न सक्छौं । घरमा पनि अहिले पनि डिजेल, पेट्रोल र ग्यासमार्फत चलाउने उपकरण बिजुलीले चलाउन सकिन्छ ।

बिजुली खपतको अर्को महत्वपूर्ण क्षेत्र भनेको विद्युतीय गाडी हो । तर विद्युतीय गाडीको लागि चार्जिङ स्टेशन राख्नको लागि नीतिगत व्यवस्था छैन नि ?:राम्रो कुरा उठाउनुभयो । बिजुली खपतको अर्को महत्वपूर्ण क्षेत्र विद्युतीय गाडी पनि हो । हामीले अव प्रोत्साहन गर्ने पनि यही क्षेत्रलाई हो । सरकारले पनि विद्युतीय बस ल्याउने भन्दैछ, निजी क्षेत्रले पनि विद्युतीय सवारीलाई जोड दिइरहेको छ । त्यसैले मन्त्रालयले नीतिगत व्यवस्था पनि गर्दैछ । तत्कालको लागि हामी आफैले देशभरी विभिन्न ठाउँमा स्मार्ट चार्जिङ स्टेशन बनाउने भनेर ठेक्काको डकुमेन्ट बनाइरहेका छौं ।

यो स्मार्ट हुनेछ, रिमोर्टले बिल निकाल्ने र रिमोर्टले नै कन्ट्रोल गर्ने चार्जिङ स्टेशन हुनेछन् । विशेषगरी पेट्रोल पम्प जस्तै चार्जिङ स्टेशन राखेर व्यवसाय गर्न चाहनेहरुलाई ध्यान दिएर मन्त्रालयले कार्यविधि बनाइरहेको छ । कार्यविधिमा कति रुपैयाँमा चार्जिङ स्टेशनले बिजुली पाउने र कति रुपैयाँमा उपभोक्तालाई दिने भन्ने उल्लेख हुनेछ ।

नागरिक अहिले पनि लोडसेडिङको डरमा छन्, त्यसैले ग्यास विस्थापन गरेर विद्युतीय चुल्हो किन्न डराएका छन् । अब हिउँदमा पनि लोडसेडिङ हुँदैन । चौबीसै घन्टा बिजुली आउँछ भनेर ग्यारेण्टी दिन सक्नुहुन्छ ?:नागरिकले विद्युतीय चुल्हो किनेर प्रयोग गरे हुन्छ । १८ घन्टासम्म लोडसेडिङ हुँदाका बखत बनाएका केही कमजोर संरचनाका कारण अहिले बेला बेलामा एकैछिनको लागि बत्ती जानु स्वभाविक हो ।प्राविधिक कारणले लाइन काटिएको हुन सक्छ । तर बिजुली नै पुर्‍याउन नसकेर अब लोडसेडिङ हुँदैन, ग्याँसको ठाउँमा विद्युतीय चुल्हो जोड्न थाले हुन्छ ।

प्रकाशित भएको : August 10th, 2019

सम्वन्धित समाचारहरु