• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


तिब्बती शरणार्थीले सी भ्रमणमा के गर्लान ?


नेपाली अपडेट
आइतवार, अशोज १२, २०७६
 

असोज १२ काठमाण्डौ

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा तिब्बती शरणार्थीले विरोध–प्रदर्शन गर्न सक्ने भन्दै सरकारले अहिलेदेखि नै निगरानी बढाएको छ।

भ्रमण तालिका औपचारिक रुपमा सार्वजनिक नभएपनि असोज अन्तिम साताका लागि दुई पक्षीय एजेण्डासँगै सुरक्षा तयारीमा अहिले सरकार केन्द्रित भएको छ।

तिब्बती शरणार्थी समुदायका अगुवाहरूले नेपालको विदेश नीतिअनुसार आफुहरूले चीनका राष्ट्रपति सी चिनफिङविरुद्ध कुनै विरोध–प्रदर्शन नगर्ने तर भारतबाट आएर तिब्बती शरणार्थी युवाहरूले प्रदर्शन गर्न सक्ने जनाएका छन्।

दलाई लामाको निर्वासित सरकार केन्द्रीय तिब्बती प्रशासन (सीटीए) का नेपाल प्रतिनिधि सुल्ठिम ग्यात्सो र निर्वासित तिब्बतीहरूको तर्फबाट चीनविरोधी प्रदर्शनको नेतृत्व गर्दै आएको टीवेट युथ कंग्रेस (टीवाइसी) नेपालका प्रतिनिधिले राष्ट्रपति सीको भ्रमणको बेला विरोध–प्रदर्शनको औपचारिक कार्यक्रम नरहेको तर स्वतन्त्र रुपमा कोही पनि विरोधमा उत्रन सक्ने जनाएका हुन्।

‘सी भ्रमणको बेला हामी औपचारिक रुपमा विरोध कार्यक्रम आयोजना गर्दैनौं तर सीटीएको निर्देशन र हाम्रो नीति सबै तिब्बतीहरुले नमान्न पनि सक्छन्’, ग्यात्सोले शुक्रबार बिहान बौद्धको एक होटलमा नेपालखबरसँग भने, ‘गहिरो समस्याले गर्दा तिब्बतीहरूको मन कुँड्किएकाले व्यक्तिगत रुपमा कोही विरोधमा उत्रिन पनि सक्छन्, त्यसबारे हामीलाई कुनै जानकारी हुँदैन।’

नेपालस्थित टीवाइसीका एक जना नेताले पनि नेपालमै बस्ने तिब्बतीहरूले सीको विरोधमा प्रदर्शन गर्ने औपचारिक कार्यक्रम नरहे पनि भारतबाट आएर त्यस्तो प्रदर्शन गर्नसक्ने संकेत गरे।

‘पछिल्ला ४ वर्षयता हामीले नेपालमा चीनविरोधी प्रदर्शन गरेका छैनौं, यसपाली पनि लिखित रुपमा टीवाइसीको केन्द्रलाई प्रदर्शन गर्ने भए तपाईंहरु नै नेपाल आएर गर्नुहोस् भनेका छौं’, नाम खुलाउन नचाहने टीवाइसी नेपालका ती नेता भन्छन्, ‘भारतबाट आएर साथीहरुले विरोध गर्न सक्छन्। हामी त नेपालमै व्यापार–व्यवसाय गरेर बाँच्नुपर्छ, प्रदर्शनमा सहभागी हुन सक्दैनौं।’

यसअघि प्रदर्शन नगर्ने नीति लिँदा पनि तिब्बती समुदायबीच सर्कुलर गर्ने चलन थियो तर यसपाली त्यो नहुँदा दोहोरो नीति लिएको जस्तो देखिएको छ। ग्यात्सोका अनुसार यसपाली नेपालमा रहेका तिब्बती समुदायका संघसंस्थाले विरोध–प्रदर्शन नगर्न कुनै निर्देशन जारी नगर्ने नीति लिएका छन्। जसलाई व्यक्तिगत तवरमा वा अनौपचारिक प्रदर्शनका लागि बाटो खुला राखिएको रुपमा सुरक्षा अधिकारीहरूले अथ्र्याएका छन्।

‘केही वर्षयता चीनबाट हुने उच्च भ्रमणका क्रममा काठमाडौंमा तिब्बती समुदायले प्रदर्शन गर्न छाडेका थिए’, अहिले तिब्बती समुदायको गतिविधि निगरानी गरिरहेका नेपाल प्रहरीका एक जना उच्च अधिकारीले भने, ‘तर २३ वर्षपछि हुन लागेको चीनका राष्ट्र प्रमुखको भ्रमणका क्रममा कुनै संकेतिक प्रदर्शन गरेर आफ्नो उपस्थितिको सन्देश दिन खोजेका हुन कि भन्ने देखिएको छ।’

सीटीएको नीति नमान्ने तिब्बती समुदायका केही गैर–सरकारी संस्था (एनजिओ) ले चिनियाँ प्रमुख नेताहरुको भ्रमणको अवसर पारेर प्रजातान्त्रिक मुलुकहरुमा स्वतन्त्रताको उपयोग गर्दै विरोध–प्रर्दशन गर्दै आएका छन्। नेपालमा पनि तिब्बती शरणार्थीहरुले यस्ता प्रदर्शन गर्दै आएका थिए।
***
करिब डेढ लाख तिब्बती विभिन्न देशमा निर्वासित जीवन बिताइरहेका छन्। तीमध्ये करिब एक लाख तिब्बती शरणार्थी भारतमा बस्छन्। दलाई लामा र सीटीएको मुख्य कार्यालय पनि भारतको हिमाञ्चल प्रदेशस्थित धर्मशालामा रहेको छ। भारतपछि तिब्बती शरणार्थीको दोस्रो आश्रयस्थल नेपाल हो। नेपालमा रहेका १२ वटा सेटलमेन्टमा करिब २० हजार तिब्बती शरणार्थी रहेका छन्।

तर ६० वर्षदेखि नेपालमा बस्दै आएका तिब्बती शरणार्थी बसाइ सराई गर्ने क्रम बढेकाले अहिले नेपालमा १२ हजार हाराहारी मात्रै रहेको ग्यात्सोले बताए।

नेपालमा २०३० को दशकमा मुस्ताङलाई आधार बनाएर तिब्बतीहरुले सशस्त्र खप्पा विद्रोह गरेका थिए। त्यसयता दोस्रो पटक नेपालमा तिब्बतीहरुले २०६४ देखि ०७१ सम्मको अवधिमा चीनविरुद्ध प्रर्दशनहरू गरे। यही अवधिमा बौद्ध क्षेत्रमा तीनजना तिब्बतीहरुले आत्मदाह समेत गरे।

चीनले भने तिब्बती शरणार्थीको विरोधलाई पृथकतावादी आन्दोलन भन्दै पश्चिमा शक्तिको उक्साहटमा गतिविधि हुने गरेको आरोप लगाउँदै आएको छ।

ग्यात्सोको भनाइअनुसार दलाई लामा र सीटीएले चीनको संविधान अन्तर्गत नै वार्तामार्फत मध्यमार्गी बाटोबाट समस्या समाधान गर्न चाहेका छन्।

विगत ४ वर्षयता नेपालका तिब्बती शरणार्थीहरुले चीनविरुद्ध प्रर्दशन गर्न छाडेका थिए। गत जुलाई ६ मा काठमाडौंमा तिब्बती शरणार्थीहरुलाई दलाई लामाको जन्मोत्सव मनाउन प्रतिबन्ध लगाउँदा पनि उनीहरूले प्रतिवाद गरेनन्। हालै चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणको क्रममा पनि तिब्बती शरणार्थीहरुबाट कुनै विरोध–प्रदर्शन भएन।

तर सुरक्षा अधिकारीहरूले भने यसलाई शक्ति संचय गर्ने नीतिका रुपमा पनि अथ्र्याएका छन्।

‘साना भ्रमणमा विरोध–प्रदर्शन नगरेर तिब्बती शरणार्थीहरुले उच्च स्तरीय भ्रमणका लागि शक्ति संचय गरेका पनि हुनसक्छन्’, नेपाल प्रहरीका उच्च अधिकारीले भने।

काठमाडौंको लाजिम्पाटमा ‘तिब्बत अफिस’ नै सञ्चालन गरेर बसेका सीटीएका नेपाल प्रतिनिधि ग्यात्सोले भने गत जुलाई ६ मा दलाई लामाको जन्मोत्सव शान्तिपूर्ण रुपमा गुम्बाभित्रै मनाउन पनि नेपाल सरकारले प्रतिबन्ध लगाउँदा धेरै तिब्बतीहरुको मन दुःखेको बताए।

शान्तिपूर्ण रुपमा रहँदा पनि शंका गर्ने, दबाब दिने र बिना कुनै आधार पक्राउ गर्ने नेपाल सरकारको नीति हो भने त्यो गलत सावित हुने ग्यात्सोले बताए।

‘हाम्रो धर्म गुरु दलाई लामा र सीटीएको तर्फबाट हामीलाई नेपालमा शान्तिपूर्ण रुपमा रहन निर्देशन भएको छ’, उनले भने।

तिब्बती शरणार्थीको कारण नेपाललाई चीनले महत्व दिएपनि नेपाल सरकारले आफ्ना समस्या पूरै बेवास्ता गरेको उनको गुनासो छ।

‘तिब्बती शरणार्थी यहाँ रहेकै कारण चीनले नेपाललाई बढी महत्व दिएको हो तर नेपाल सरकारले हाम्रो समस्यालाई पूरै बेवास्ता गरेको छ’, ग्यात्सो भन्छन्, ‘नेपाल सरकारले तिब्बती शरणार्थीका समस्यालाई बेवास्ता गर्दा युवा पुस्तामा निरासा बढेको छ, उनीहरु नेपालबाट पलाएन हुन थालेका छन्।’

प्रदर्शनको नेतृत्व कसले गर्न सक्छ?
निर्वासनमा बस्ने तिब्बतीहरूको तर्फबाट खासगरी टीवाइसीको नेतृत्वमा विरोध–प्रर्दशन हुँदै आएको छ। टीवाइसीका विश्वभर ४० हजार सदस्य र ८५ भन्दा बढी क्षेत्रीय संगठनहरु रहेका छन्। नेपालमा यसका चारवटा क्षेत्रीय शाखाहरु छन्।

टीवाइसीसँगै तिब्बती वुमन एसोसिएसन (टीडब्लुए), गुचसुम मुभमेन्ट, स्टुडेन्ट फर फ्रि टिवेट (एसएफटी), नेशनल डेमोक्रेटिक पार्टी अफ टीवेटजस्ता संस्थाहरुले चिनियाँ नेताहरु विदेश भ्रमणमा जाँदा संयुक्त रुपमा विरोध–प्रदर्शन आयोजना गर्ने गरेका छन्। नेपालमा टीवाइसी र टीडब्लुए बढी सक्रिय छन्।

त्यसो त नेपालमा ०६४ देखि ०७१ सम्म भएका ‘स्वतन्त्र तिब्बत’ गतिविधिको नेतृत्व टीवाइसीले गर्दै आएपनि प्रदर्शनको ब्यानरमा भने ‘न्यु एज नेटवर्क’ र ‘भोलेन्टियर्स ग्रुप’ को नाम देखिने गरेको थियो। अहिलेसम्म टीवाइसीका कार्यकर्ता भारतबाट आएर नेपालमा प्रदर्शन गर्ने प्रवृत्ति नै बढी देखिन्छ, जो पछि यूरोप–अमेरिका जाने गरेका छन्।

दलाई लामाले पछिल्लो समय चीनसँग वार्ताका लागि ‘मध्यमार्गी नीति’ लिएका छन्, जसमा यसरी प्रदर्शनमा उत्रँदै आएका पाँच वटा संस्थाहरू सहमत देखिँदैनन्। त्यसैले उनीहरूले प्रदर्शनका क्रममा ‘स्वतन्त्र तिब्बत’ जस्ता चर्का नारा लगाउने गरेका छन्।

‘विगतमा काठमाडौंमा भएका प्रदर्शनका कारण हामीलाई व्यापार व्यवसाय गर्न पनि कठिन भयो, प्रहरीले रातो कपडा लगाएका सबै लामामाथि लाठी प्रहार गर्दै पक्राउ गर्न थाल्यो’, टीवाइसीका ती नेताले भने, ‘प्रदर्शनले गर्दा स्थानीय बौद्ध धर्मालम्बीसँग हाम्रो अन्तरविरोध पनि बढ्यो। त्यसैले हामी नेपालमा रहेका तिब्बतीहरु विरोध कार्यक्रमको पक्षमा छैनौं।’

तीन जनाले गरे आत्मदाह
शान्तिपूर्ण प्रदर्शन मात्रै होइन, नेपालमा तीन जना तिब्बती लामाहरुले बौद्ध क्षेत्रमा आत्मदाह नै गरे।

भुटुक नाम गरेका लामाले ०६७ कात्तिक २४ गते पहिलो पटक आत्मदाहको प्रयास गरेका थिए। आधा शरीर जलेका उनको भारतको धर्मशाला पुर्याएर उपचार गरिएको थियो।

दोस्रो पटक, ०६९ फागुन २ गते तिब्बतबाट भागेर नेपाल आएका २५ वर्षीय डुप्चेन छिरिङले आत्मदाह गरे। ९५ प्रतिशत शरीर जलेको अवस्थामा उपचारको क्रममा उनको मृत्यु भएको थियो।
तेस्रो पटक, ३८ वर्षीय कर्मा नेग्दोन ग्यात्सोले ०६९ साउन २२ गते बौद्धमा नै आत्मदाह गरे। कर्मा अपाङ थिए।

आन्दोलनका क्रममा एक समय निर्वासित तिब्बतीबीच यसरी आत्मदाह गर्ने लहर नै चल्यो। ०६५ यता १४८ जना तिब्बतीहरुले आत्मदाह गरिसकेका छन। तर पछिल्लो समय आत्मदाह गर्नेक्रम रोकिएको छ।

शारीरिक रुपमा अशक्त, जीवनसँग हार खाएका र उपचार गर्दा निको नहुने रोग लागेका तिब्बतीहरुले राजीतिक सन्देश दिने गरी आत्मदाह गर्ने गरेको टीवाइसीका नेताहरू टिप्पणी गर्छन्।

नेपालका तिब्बती शरणार्थी अगुवालाजिम्पाटस्थित कार्यालयमा  (फाइल फोटो)

प्रकाशित भएको : September 29th, 2019

सम्वन्धित समाचारहरु