• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


राष्ट्रिय सभामा प्रदेश २ का रिक्त चारमध्ये दुई–दुई सिट लिने सहमति:नेकपा र राजपाबीच चुनावी तालमेल


नेपाली अपडेट
बिहिबार, पुस ३, २०७६
 

२०७६ पौष ३ बिहीबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी (राजपा)बीच आगामी ९ माघमा हुने राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको बैठकमा दुई दलले प्रदेश २ का चारमध्ये दुई/दुई सिट लिने सहमति गरेका हुन् । प्रदेश २ का आठमध्ये रिक्त हुन लागेका चार सिटमा निर्वाचन हुँदै छ ।

सहमतिअनुसार अन्य पुरुष समूह र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहबाट राजपाका दुई उम्मेदवारलाई नेकपाले सघाउनेछ भने महिला र दलित पुरुष समूहबाट नेकपाका दुई उम्मेदवारलाई राजपाले सघाउनेछ ।

राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रियालाई अघि बढाउने सहमतिसमेत भएको छ । तर, राजपाका संयोजक राजेन्द्र महत्तोले राष्ट्रिय सभा निर्वाचनका लागि मात्रै सहकार्य भएको दाबी गरे ।

‘हामीले समस्या उठाइराखेका छौँ, त्यो कति पूरा गर्नुहुन्छ हेरौँ,’ महतोले भने, ‘यदि उहाँहरू सकारात्मक हुँदै जानुभयो भने लामै सहकार्य हुन सक्छ । तर, अहिलेको सहमति राष्ट्रिय सभा निर्वाचनका लागि मात्रै हो ।’

सहमतिपत्रमा नेकपाका अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा राजपाका संयोजक महत्तोले हस्ताक्षर गरेका छन् । बैठकमा नेकपाको तर्फबाट ओली र प्रचण्डसहित ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ तथा राजपाको तर्फबाट महतोसहित महन्थ ठाकुर, महेन्द्र यादव, शरदसिंह भण्डारी र राजकिशोर यादव सहभागी थिए ।

समाजवादी–राजपा एकतामा असर नगर्ने दाबी

राष्ट्रिय सभा निर्वाचनमा नेकपासँग भएको सहमतिबाट समाजवादी पार्टीसँगको एकतामा कुनै फरक नपर्ने राजपा संयोजक राजेन्द्र महतोले दाबी गरे । ‘समाजवादीसँग लामो समयदेखि एकताको विषयमा छलफल गर्दै आएका छौँ,’ महतोले भने, ‘नेकपा र राजपाबीचको चुनावी तालमेलले समाजवादीसँगको एकतामा फरक पर्दैन ।’

समाजवादी सरकारमा हुँदा नै राजपाले एकताको कुरा गर्दै आएकाले पछिल्लो घटनाक्रमले कुनै असर नपर्ने महतोको जिकिर छ । राष्ट्रिय सभा निर्वाचन तालमेल र समाजवादीसँगको एकता फरक–फरक विषय भएको उनले स्पष्ट पारे ।

समाजवादी पार्टीका उपाध्यक्ष नवराज सुवेदीले पनि नेकपा र राजपाबीच भएको चुनावी तालमेलले एकतामा कुनै असर नपर्ने बताए । ‘हामीले राजपासँग एकताको विषयमा छलफल गरिराखेका छौँ । पार्टी एकता भइसकेको छैन,’ सुवेदीले भने, ‘आफ्नो निर्णय गर्न पार्टी सार्वभौम हुन्छन् । नेकपा–राजपा चुनावी तालमेलले एकतामा कुनै असर पार्दैन ।’

१८ सिटका लागि  ९ माघमा निर्वाचन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २० पुसमा उम्मेदवारी दर्ता गर्ने भएको छ । १८ सदस्यका लागि हुने निर्वाचनको कार्यतालिका आयोगले बुधबार सार्वजनिक गरेको हो । २० पुस बिहान दश बजेदेखि दिउँसो तीन बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ ।

राष्ट्रिय सभाका १९ सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदै छ । पदावधि सकिने १९ मध्ये १८ जनाका लागि सबै प्रदेशमा निर्वाचन हुनेछ भने एकजना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्नेछिन् । संविधानले राष्ट्रियसभामा सदस्य रिक्त हुनुभन्दा ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ । सोहीबमोजिम ९ माघको बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म निर्वाचन हुन लागेको हो । आयोगले १७ पुसमा मतदाता नामावली प्रकाशन गर्ने र सोही दिन मतदातामाथि दाबी विरोधको समय तोकेको छ । आयोगले उजुरीउपर छानबिन गरी १९ पुसको अपराह्न चार बजे मतदाताको अन्तिम नामावली सार्वजनिक गर्नेछ ।

१८ पदका लागि सातै प्रदेशस्थित निर्वाचन अधिकृतको कार्यालयबाट २० पुसमा उम्मेदवारी दर्ता भएपछि २५ पुससम्म दाबी विरोधको प्रक्रिया चल्नेछ । आयोगले २५ पुसमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका सार्वजनिक गरेको छ । मतदान सकिएलगत्तै मतगणना सुरु गरिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

निर्वाचनमा सात सय ५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा सात प्रदेशका पाँच सय ५० प्रदेश सभा सदस्यले मतदान गर्न पाउनेछन् । उनीहरूको पदभार भने फरक हुन्छ । प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ । आयोगका अनुसार प्रदेशबाट प्रत्यक्ष रूपमा निर्वाचित १८ जनाका लागि प्रदेशमै निर्वाचन हुनेछ । हरेक प्रदेशबाट एक–एक गरी सातजना महिला र अन्यतर्फ सातजना, दुईजना दलित वा अल्पसंख्यक समुदायबाट र दुईजना अपांगता भएमध्येबाट निर्वाचित हुनेछन् ।

राष्ट्रिय सभाका ५९ सदस्यमध्ये पहिलो दुई वर्षमा १९ जना, चार वर्षमा बाँकी २० जना र अन्य २० जनाको कार्यकाल ६ वर्षको हुनेछ । पहिलो दुई वर्षमा निर्वाचित १८ र राष्ट्रपतिबाट मनोनित अर्थमन्त्रीसमेत रहेका डा.युवराज खतिवडाको पदावधि सकिँदै छ । दुईवर्षे कार्यकाल पूरा गर्नेमध्ये नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नौ, कांग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टी एक/एकजना छन् ।

राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, मुख्य सचेतक सरिता प्रसाईंको पनि कार्यकाल सकिँदै छ । कांग्रेसका विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदै छ । नेकपाबाट खतिवडासहित हरिचरण शिवाकोटी, बलराम बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदै छ । राजपाका वृशेषचन्द्रलाल र रमेशप्रसाद यादवको म्याद सकिँदै छ भने समाजवादीका रामप्रित पासवानले पनि दुईवर्षे कार्यकाल सकिँदै छ ।

प्रकाशित भएको : December 19th, 2019

सम्वन्धित समाचारहरु