• बिहिबार, बैशाख ६, २०८१
  • | April 18, 2024


नेपालमै पहिलो पटक यस्तो बाईक बन्यो ।


नेपाली अपडेट
शुक्रबार, पुस ४, २०७६
 

नेपालीहरुको आफ्नै इञ्जिनियरिङ, डिजाइनमा सवारी साधन निर्माण संभव छ ? धेरैको प्रतिप्रश्न हुनसक्छ–तत्काल संभव होला र ? तर, विदेशबाट पढेर र सीप सिकेर आएका युवाहरुले तत्काल संभव नदेखिने यस्तै काम गरेर देखाइदिएका छन् ।

नेपाली इञ्जिनियरहरुको टिम नेपालमै इलेक्ट्रिक मोटरसाइकल निर्माण गर्न सफल भएको छ । त्यो पनि विदेशी उत्पादनहरुसँग प्रतिस्पर्धा गर्नसक्ने क्षमता र विशेषताले भरिपूर्ण मोटरसाइकल निर्माण गरी त्यसको भव्य लञ्च समेत गरिएको छ ।

नेपालमै निर्माण गरिएको त्यस्तो मोटरसाइकल यात्रीको बिहीबार एक भव्य समारोहका बीच लञ्च भएको छ ।
नेपालमै पहिलोपटक नेपालीहरुले डिजाइन तथा निर्माण गरेको मोटरसाइकल लञ्च भएको हो ।

कम्पनीले यात्री मोटरसाइकलको पहिलो परियोजना ‘प्रोजेक्ट जीरो’लाई घरेलु बजारमा सार्वजनिक गरिएको प्रष्ट पारेको छ ।

दुई वर्षसम्म निरन्तर काम गरी कम्पनीले यो मोटरसाइकललाई बजारमा उतार्ने सफलता पाएको हो ।

‘प्रोजेक्ट जीरो’ एक प्रिमियम इलेक्ट्रिक मोटरसाइकल हो । जुन सहरी वातावरणमा इलेक्ट्रिक पावरट्रेनका फाइदाहरु प्रदर्शन गर्न डिजाइन गरिएको कम्पनीले दाबी गरेको छ ।

‘प्रोजेक्ट जीरो’ साठीको दशकको ‘क्याफे रेसर’ डिजाइनबाट प्रभावित रहेको छ । शहरी क्षेत्र र आधुनिक कनेक्टिभिटीका लागि डिजाइन गरेर निर्माण गरिएको ‘यात्री’ पावरफूल र बोल्ड रहेको कम्पनीको दाबी छ ।

यो मोटरसाइकलले एकपटकको फूलचार्जमा २३० किलोमिटरसम्मको यात्रा गर्न सक्छ । यसमा ३० किलोवाट ब्याट्री क्षमता रहेको र यसले ४० हर्सपावर बराबरको काम गर्ने बताइएको छ ।

कम्पनीले नेपालको विभिन्न क्षेत्रमा पुगेर सवारी साधन र सडकको अवस्थाको विषयमा अनुसन्धान गरी नेपाली सडक सुहाउँदो डिजाइन बजारमा उतारिएको दाबी गरेको छ ।

कम्पनीले सन् २०१७ देखि नै विद्युतीय मोटरसाइकल स्वदेशमै डिजाइन र निर्माण गर्ने कामको थालनी गरेको थियो ।

यात्री मोटरसाइकलका संस्थापक असिम पाण्डेले नेपाली प्रयोगकर्ताका लागि आकर्षक डिजाइनमा शक्तिशाली मोटरसाइकल बजारमा उतारिएको दाबी गरे । ‘हामी नेपाली ब्राण्ड हौं, त्यसैले हामीलाई सस्तो, न्यून गुणस्तरको परम्परागत दृष्टिले हेपिन्छ, हामी त्यो परम्परागत सोंचलाई तोड्न आएका हौ ।’–उनले भने ।

निर्माण टिमका सदस्यले सरकारी पक्षबाट राम्रो सहयोग भए आफूहरुले विश्व बजार प्रभावित गर्नसक्ने डिजाइन तयार गर्नसक्ने दाबी समेत गरे ।

यात्री मोटरसाइकलको चेसिस डिजाइन, इञ्जिनियरिङ, सफ्टवेयर र निर्माणको काम नेपालमा गरेर पहिलोपटक मुलुककै पहिलो दुईपाङ्ग्रे विद्युतीय मोटरसाइकल निर्माण गरिएको कम्पनीको प्रष्टोक्ति छ ।

‘केहीलाई पार्टसहरु बाहिरबाट ल्याएर नेपालमा एसेम्बल गर्ने मात्र होला भन्ने भ्रम पनि हुनसक्छ, तर हामीले नेपालमै इनहाउस आफैंले हरेक कुराको डिजाइन गरेर त्यसलाई अन्तिम रुप दिने हो । मोटरसाइकलको हरेक पार्टस हाम्रो इञ्जिनियरिङ र डिजाइनमा हुन्छ ।’ पाण्डेले भने ।

मोटरसाइकलको स्पेयर्स पार्टसको डिजाइन समेत नेपालमै तयार गरिएको पाण्डे दाबी गर्छन् । डिजाइन गरिएका स्पेयर्स पार्टस निर्माणका लागि अमेरिका, चाइना, भारत र अन्य यूरोपेली मुलुकका कम्पनीसँग सहकार्य गर्ने कम्पनीले जनाएको छ ।

स्टार्टअप कम्पनी भए पनि यात्री मोटरसाइकलसँग आफ्नै अनुसन्धान र विकासको काम गर्ने टिम रहेको पाण्डे बताउँछन् ।

यात्री मोटरसाइकलमा अन्य मोटरसाइकलमा प्रयोग गरिने खालको मेटल प्रयोग गरिएको छैन, बरु यसमा कार्बन फाइबर प्रयोग गरिएको छ । यो आकर्षक र हलुका रहेको छ ।

नेपालमै बनेको इलेक्ट्रिक मोटरसाइकलले वातावरण संरक्षणमा पनि सहयोग गर्ने निर्माण टिमका सदस्य बताउँछन् ।

यो प्रयास वृहत हुँदै जाँदा पेट्रोलियम पदार्थको आयात र सवारीको आयात समेत घटी व्यापार घाटा घटाउन सहयोग पुग्ने उनीहरु बताउँछन् ।

‘नेपाली समूहले नेपालमै इलेक्ट्रिक मोटरसाइकलको उत्पादन थालेपछि विदेशी मुद्रा बाहिर जानबाट रोकिन्छ ।’ संस्थापक पाण्डेले भने–‘हामी आफैं विदेशबाट फर्किएर नेपालमा केही गर्न आएका हौ । यो परियोजनाले उच्च सीप भएका युवाहरुलाई विदेश जानबाट समेत रोक्छ ।’

सरकारले यस्तो परियोजनालार्य सहयोग हुने नीतिहरु ल्याएर करमा छुट दियो भने नेपालमै उत्पादन गरी विदेश समेत निर्यात गर्न सकिने कम्पनीले प्रष्ट पारेको छ ।

यात्री मोटरसाइकलमा ७ जनाको कोर टिम रहेको छ । जसमा ४ जना इञ्जिनियर रहेका छन् । विभिन्न मुलुकमा इञ्जिनियरिङमा स्नातक गरेका र ठूला कम्पनीमा काम गरेर आएकाहरुको टिममा सहभागिता रहेको पाण्डेले दाबी गरे ।

यो समूहका अधिकांश युवा विदेशबाट पढेर र सीप सिकेर स्वदेश फर्किएकाहरु छन् ।

अन्तिम पटक अपडेट गरिएको : November 26th, 2020,

सम्वन्धित समाचारहरु