• शनिबार, अशोज १३, २०८०
  • | September 30, 2023


१ अर्ब २० करोड रुपैयाँमा ६ रोपनी जग्गा किनिन् । को हुन् यिनी ?


नेपाली अपडेट
शनिबार, पुस ५, २०७६
 

काठमाडौं : राजधानीको व्यापारिक थलो बागबजारमा ६ रोपनी जग्गा एकजना महिलाले किनेकी छिन्। उनले एक अर्ब २० करोड रुपैयाँमा शाह परिवारको स्वामित्वमा रहेको महँगो जग्गा किनेकी हुन्। जग्गा किन्ने ती महिला सिंगापुरको पिआर होल्डरसमेत रहेकी भावना सिंह श्रेष्ठ हुन्। यति धेरै लगानीमा जग्गा लिने उनी को हुन् त?

टेलिकम कम्पनी एनसेलको स्थानीय साझेदार हुन् भावना सिंह। उनले किनेको जग्गामा अहिले आराधना कम्प्लेक्स सञ्चालनमा छ। यही कम्प्लेक्स र यसैसँग जोडिएको जग्गा उनले खरीद गरेकी हुन्।

श्रेष्ठ एनसेलको स्थानीय साझेदार कम्पनी सुनिभेरा क्यापिटल भेञ्चरस् प्रालिका एकमात्र लगानीकर्ता समेत हुन् । एनसेलमा सुनिभेराको २० प्रतिशत सेयर स्वामित्व छ भने बाँकी ८० प्रतिशत सेयर मलेसियाको टेलिकम कम्पनी एक्जियटासँग छ।

श्रेष्ठका श्रीमान् सतीशलाल आचार्य नेपालको टेलिकम क्षेत्रका एक ठूला खेलाडी हुन्। आचार्यले नेपालको आफ्नो अधिकांश व्यापार श्रीमती भावनाको नामबाट सञ्चालन गर्दै आएका छन्।

चार वर्षअघि एनसेलको स्वामित्व लिएपछि आचार्यले थापाथलीमा शिखर कम्प्लेक्स नपुग्दै एउटा कम्प्लेक्ससमेत निर्माण गरेर सञ्चालनको अन्तिम तयारी गरिरहेका छन्।

ताहाचलमा माइती भएकी श्रेष्ठ सिंगापुरको पीआर होल्डरसमेत हुन्। एस ७३८५२८८ आइ नम्बरको पीआर लिएकी श्रेष्ठ २००८ सेप्टेम्बरदेखि सिंगापुरमा बस्दै आएकी छिन्।

श्रेष्ठले काठमाडौं मनपा-३ का सोनिला मल्ल शाह, धनेन्द्रबहादुर शाह र नभेन्द्रबहादुर शाह समेतबाट छुट्टाछुट्टै ८ कित्ता जग्गा खरीद गरेकी हुन्।

सोनिला, धनेन्द्र र नभेन्द्रका जेठा दाजु राघवबहादुर शाहकी श्रीमती हुन्। राजदरवार सेवामा रहेका उनको युवा उमेरमै निधन भएको थियो। धनेन्द्रबहादुर शाह अहिले पनि नेपाली सेनाका पाइलट हुन्। नभेन्द्र पनि पाइलट हुन्।

सोनिला मल्ल शाहबाट श्रेष्ठले एक रोपनी ९ आना २ पैसा एक दामको एउटा कित्ता र ३ आना एक पैसा ३ दामको अर्को कित्ता गरी एक रोपनी १० आना २ पैसा जग्गा किनेकी छन्। जसको मूल्य २९ करोड ५३ लाख ४७ हजार ५६३ रूपैयाँ छ।

त्यसैगरी धनेन्द्र बहादुर शाहबाट श्रेष्ठले ८ आना १ पैसा ३ दामको एउटा कित्ता, ११ आना ३ पैसाको एउटा कित्ता र ३ आना २ दामको एउटा कित्ता गरी एक रोपनी ७ आना एक पैसा एक दाम जग्गा किनेकी छन्। जसको मूल्य ३५ करोड १५ लाख २२ हजार ५ सय ६६ रूपैयाँ छ।

त्यसैगरी नभेन्द्रबहादुर शाहबाट श्रेष्ठले एक रोपनी २ आनाको एउटा कित्ता र ३ आना २ पैसा २ दामको अर्को कित्ता गरी एक रोपनी ५ आना २ पैसा २ दाम जग्गा किनेकी छिन्। जसको मूल्य ३१ करोड ८८ लाख ७७ हजार १ सय ८९ रूपैयाँ छ।

त्यसैगरी नभेन्द्रबहादुर शाहसमेत गरि ३ जनाको नाममा रहेको एक रोपनी ४ आना ३ पैसा जग्गा श्रेष्ठले २३ करोड ४२ लाख ५२ हजार ३ सय ८२ रूपैयाँमा किनेकी छिन्। यी सबै कित्ताको कूल जग्गा ५ रोपनी १४ आना २ पैसा ३ दाम हुन्छ।

उक्त ठाउँमा जग्गाको न्युनतम मूल्यांकन प्रतिआना ४४ लाख रूपैयाँ छ। श्रेष्ठले भने प्रतिआना एक करोड २७ लाख रूपैयाँका दरले जग्गा किनेकी हुन्। करिब ९५ आना जग्गाको सरकारी मूल्यांकन करिब ४१ करोड रूपैयाँमात्रै हुने भए पनि श्रेष्ठले चलनचल्तीको मूल्यमै किनेकी हुन्।

५२ करोड रूपैयाँ मात्र ऋण
श्रेष्ठले एक अर्ब २० करोडको जग्गा किन्दा पनि नेपाल इन्भेष्टमेन्ट बैंकबाट ५२ करोड रूपैयाँमात्रै ऋण लिएकी छन्। बाँकी ६८ करोड रूपैयाँ भने उनले आफ्नै आयआर्जनलाई सम्पत्तीको स्रोत देखाएकी छन्।

स्रोतका अनुसार ५२ करोड रूपैयाँ ऋण पनि जग्गा आफ्नो नाममा आइसकेपछि धितो राख्ने सहमतिमा बैंक ग्यारेन्टी लिइएको हो।

टेलियाबाट एक्जियटाले एनसेलको स्वामित्व लिएपछि श्रेष्ठले एनसेलबाट तीन आर्थिक वर्षका लागि नौ अर्ब रूपैयाँभन्दा बढी नगद लाभांश पाएकी छिन्।

एनसेलले आर्थिक वर्ष २०७२/७३ देखि २०७४/७५ सम्म ४७ अर्ब ५० करोड रूपैयाँ लाभांश घोषणा गरेर वितरण गरेको थियो। लाभांश कर घटाएपछि २० प्रतिशत स्वामित्वका लागि एनसेलले सुनिभेरालाई नौ अर्ब दुई करोड ५० लाख रूपैयाँ वितरण गरेको छ।

स्थानीय साझेदारबीच सेयर खरीद-बिक्री गर्दा भएको लाभमा खरिदकर्ता सुनिभेराले दुई अर्ब ८३ करोड रूपैयाँ लाभकर भुक्तानी गरेको थियो। बैंकबाट ऋण लिएर कर कार्यालयलाई भुक्तानी गरिएको लाभकरको बैंक दायित्व लाभांश वितरणपछि सेटल गरिएको थियो। एनसेलको स्थानीय साझेदारसँग यो लाभांशको भुक्तानीबाहेक पनि ६ अर्ब रूपैयाँभन्दा बढी नगद रिजर्भ छ।

साढे ६ करोड रूपैयाँ राजस्व
श्रेष्ठले किनेको जग्गाको राजीनामा दस्तुरमात्रै थैली अंकको ५ प्रतिशतका दरले ६ करोड रूपैयाँ हुन्छ। त्यसैगरि वाग्मती सभ्यता कोषमा ०.५ प्रतिशत अतिरिक्त कर तिर्नुपर्ने भएकाले उनले थप ६० लाख रूपैयाँ कर तिरेकी छन्। दुवै करगरी ६ करोड ६० लाख रूपैयाँ राज्यलाई मात्रै लाभ भएको छ।

बिक्रेताले सरकारलाई पुँजीगत लाभकर एक करोड ६८ लाख रुपैयाँ बुझाएका छन्।

प्रकाशित भएको : December 21st, 2019

सम्वन्धित समाचारहरु