• बिहिबार, चैत्र १५, २०८०
  • | March 28, 2024


बयान लिन विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाइयो पक्राउ परेका चिनियाँसँग


नेपाली अपडेट
मङ्लबार, पुस ८, २०७६
 

पुस ८ काठमाडौँ — सोमबार काठमाडौंका विभिन्न स्थानमा नेपाल प्रहरीको टोलीले गरेको सर्च अपरेशनमा पक्राउ परेका १२२ जना चिनियाँ नागरिकमाथि अनुसन्धान गर्न प्रहरीले विश्वभाषा क्याम्पसबाट अनुवादक बोलाएको छ ।

प्रहरीले अनुसन्धानमा आधिकारिक बयान लिनका लागि सरकारकी क्याम्पसबाट चिनियाँ भाषा अनुवादकसँग सहयोग मागेको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार आधिकारिक अनुवादक आवश्यक परेपछि विश्वभाषामा कार्यरत विज्ञबाट सहयोग लिन लागिएको हो।

यस्तै, ब्यूरोले भाषा सम्बन्धी अफ्ठ्यारोलाई हल गर्न नेपालस्थित चिनियाँ राजदूतावासबाट समेत सहयोग मागेको छ। ब्यूरोका डीआईजी निरज शाहीले आधिकारिक अनुवादकसहित विभिन्न माध्यमबाट चिनियाँ भाषा विज्ञबाट अनुसन्धानमा सहयोग लिइने बताए।

फिलिपिन्स, कम्बोडिया, मलेसिया र श्रीलंकालगायत एसियाली मुलुकहरूमा साइबर अपराध गरेर भागेका १ सय २२ जना चिनियाँ नागरिक नेपालबाट पक्राउ परेका छन् । ती मुलुकमा धमाधम कारबाही हुन थालेपछि केही समयअघि भागेर यता आएको गिरोहलाई प्रहरीको विशेष अपरेसन टोलीले सोमबार काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो, महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले मनमैंजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा छापा मार्दा गिरोहका सदस्यहरू पक्राउ परेका हुन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार मनमैंजुमा आठतले एउटासहित १० वटा घरमा एकैपटक छापा मारिएको हो । त्यस्तै बूढानीलकण्ठमा दुई र बाँसबारीमा तीनवटा घरमा छापा मारिएको थियो ।

बाँसबारीमा उनीहरूले भाडामा लिएको एउटा घर वरिष्ठ चिकित्सक डा. भोला रिजालको भएको पाइएको एसएसपी सुवेदीले बताए । पक्राउ परेका अधिकांश ४५ वर्षमुनिका छन् । पक्राउ परेकाहरूलाई काठमाडौं परिसर तथा महाराजगन्ज र बूढानीलकण्ठ प्रहरी वृत्तको हिरासतमा राखिएको छ । अपराध धन्दा सञ्चालन गर्न उनीहरूले चलनचल्तीभन्दा तेब्बर तिरेर घरभाडामा लिएको पनि खुलेको छ । चिनियाँलाई सघाउने नेपाली गिरोहको पनि खोजी भइरहेको छ । चिनियाँ नागरिक पक्राउ गरिएको विषयमा नेपालस्थित चिनियाँ दूतावासलाई जानकारी गराइएको र मंगलबार यस विषयमा दूतावासका कर्मचारीसँग अनुसन्धानका लागि थप परामर्श गरिने प्रहरीले जनाएको छ ।

उच्च स्रोतका अनुसार केही महिनाअघि नै साइबर अपराधविरुद्धको अपरेसनका शंकास्पद व्यक्तिको पहिचान गर्न चीनबाट अनुसन्धानका लागि विशेष संयन्त्र काठमाडौं आएको थियो । उक्त संयन्त्रले गिरोहको सक्रियता पत्ता लगाएपछि नेपाल सरकारलाई जानकारी गराएको थियो ।

गिरोहले चीनको अर्थतन्त्रमा असर पुग्ने गरी बैंकिङ कसुर, गैरकानुनी अनलाइन व्यापार, हुन्डी र ग्याम्बलिङलगायत अपराधको धन्दा चलाइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । आपराधिक गतिविधिमा संलग्नता अभियोगमा एकैपटक यति धेरै विदेशी पक्राउ परेको नेपालमा यो पहिलो घटना भएको ब्युरोका निर्देशक डीआईजी नीरज शाहीले बताए । तर उनले दूतावासबाट आएको सूचनाबारे भने बोल्न चाहेनन् । पक्राउ परेकाहरूबाट नियन्त्रणमा लिइएका करिब ५ सय थान ल्यापटप र डेढ सय वटाभन्दा बढी मोबाइलको अनुसन्धान भइरहेको उनले बताए । ‘अनुसन्धान भइरहेका कारण कुन कुन अपराधमा गिरोहको संलग्नता छ भन्नेबारे स्पष्ट भइसकेको छैन,’ उनले भने ।

उच्च स्रोतका अनुसार एसियाली मुलुकहरू फिलिपिन्स, कम्बोडिया, मलेसिया, इन्डोनेसिया, भियतनाम, श्रीलंका र लाओस लगायतबाट भागेर पर्यटक भिसामा नेपाल आएको गिरोहले साइबर अपराधको नेटवर्क सञ्चालन गरेको भेटिएको हो । केही साताअघि चिनियाँ दूतावासले कूटनीतिक पत्रमार्फत ‘चिनियाँ आपराधिक गिरोह नेपालमा बसेर चीनविरुद्ध साइबर अपराधको धन्दा चलाइरहेको’ भन्दै नेपाल सरकारको ध्यानाकर्षण गराएको थियो । दूतावासको पत्र परराष्ट्र मन्त्रालयले गृह हुँदै प्रहरी मुख्यालय र अध्यागमन विभागलाई पठाइदियो ।

नेपालमा चिनियाँ गिरोहको अपराध धन्दाविरुद्ध ब्युरो र महाशाखाले पनि सूक्ष्म अनुसन्धान गरिरहेका थिए । डलर, सुन र दुर्लभ वन्यजन्तु तस्करी र लागूऔषध ओसारपसारलगायत अपराधमा संलग्न चिनियाँ गिरोहमाथि निगरानी भइरहेकोमा दूतावासको ध्यानाकर्षणले अनुसन्धानलाई थप टेवा पुग्यो । त्यसपछि ब्युरो, महाशाखा र काठमाडौं प्रहरी उक्त गिरोहको खोजीमा सक्रिय भयो । ब्युरो र महाशाखाले सादा पोसाकको टोलीलाई फिल्डमा खटाए । काठमाडौं प्रहरी परिसर र मातहतका युनिटबाट करिब एक हजार सुरक्षाकर्मीलाई ‘फिल्ड अपरेसन’ का लागि तैनाथी हालतमा राखियो ।

शंकास्पद गतिविधि र संलग्न पत्ता लागेपछि आइतबार प्रहरीले छापा मारेर नियन्त्रणमा लिने योजना बनाएको हो । निगरानी गरिएका घर सोमबार घेरा हाल्दा एकैपटक १ सय २२ चिनियाँ पक्राउ परेका हुन् । पक्राउ परेकाहरू कुन भिसामा आएका हुन् भन्नेबारे मंगलबारसम्म अनुसन्धान पूरा हुने ब्युरोले जनाएको छ । यसका लागि अध्यागमन विभागसँग समन्वय भइरहेको अनुसन्धान अधिकृतले बताए ।

ओभरस्टे भएको पाइए उनीहरूलाई जरिवाना असुलेर देश निकाला गर्न सकिने अध्यागमन स्रोतले बताएको छ ।
चिनियाँ गिरोहले मनमैंजुमा लिएको आठतले घरको मासिक ३० लाख रुपैयाँ भाडा तिर्ने गरेको खुलेको छ । तर घरधनीले बाहिर १५ लाखमा भाडामा लगाएको भन्ने गरेको सूचना पनि प्रहरीले पाएको छ । यस्तै बूढानीलकण्ठमा तीनतले घरलाई मासिक ३ लाख रुपैयाँ भाडा तिर्ने गरेको खुलेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले बताए ।

विगतको कनेक्सन पनि खोजिँदै
पक्राउ गरिएकाहरूको यसअघि नेपालमा भएका अपराधमा कनेक्सनबारे पनि अनुसन्धान थालिएको छ । विगतमा सुन तस्करी, विदेशी मुद्राको अवैध ओसारपसार, दुर्लभ वन्यजन्तु तस्करी र हुन्डी कारोबारलगायत अपराधमा पक्राउ परेकाहरूसँगको सन्बन्ध खोज्न प्रहरी लागिपरेको हो । ‘ल्यापटप र मोबाइलमा भएका तथ्य र प्रमाणहरू संकलनकै क्रममा छौं,’ ब्युरोका डीआईजी शाहीले भने, ‘सबै विवरण उतारिसकेपछि गिरोहको संलग्नता र त्यसको नेटवर्कबारे सबै विषय बाहिर ल्याउँछौं ।’ प्रमुख सहरमा बसेर विभिन्न कसुरमा दुई हजार जनाभन्दा बढी चिनियाँ सक्रिय रहेको शंका प्रहरीको छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी सुवेदीले पहिलो चरणमा छापा मारिएकाबाहेक अन्य स्थानमा पनि यस्तै किसिमको अपराध हुन सक्ने आशंकामा निगरानी बढाइएको बताए । ‘संदिग्धको कार्यालय एकातिर, बासस्थान अर्कैतिर गरेर सक्रिय हुने गरेको देखियो,’ उनले भने ।

विदेशमा पनि समातिए
सन् २०१८ देखि कम्बोडियाको पुलिस हेडक्वार्टरमा बसेर चिनियाँ प्रहरीको टोली शंकास्पदको निगरानीमा छ । त्यहाँ सन् २०१९ मा पक्राउ परेका १ सय ७२ महिलासहित ९ सय ६ जनालाई चीन सरकारको जिम्मा लगाइएको छ । पक्राउ परेकामध्ये केही चिनियाँ कम्बोडियामा बसेर आफ्नो मुलुकमा साइबर अपराध गर्ने कार्यमा संलग्न भएको कम्बोडियाका प्रहरी प्रवक्ताले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

गत पुस २ मा चीनविरुद्ध संगठित र आर्थिक अपराधमा संलग्न ३ सय ४२ चिनियाँ फिलिपिन्सको सुवुरवन क्युजन सहरबाट पक्राउ परे । नोभेम्बरमा मात्रै फिलिपिन्सको अध्यागमन विभागले ३ सय १२ र सेप्टेम्बरमा २ सय ७७ चिनियाँलाई देश निकाला गरिदिएको थियो । ०७५ वैशाखमा पनि कम्बोडियाले १ सय १९ जनालाई चीन फिर्ता गरिदिएको थियो । वैशाखमा ७८ र असारमा ११ चिनियाँ नागरिक श्रीलंकाबाट पनि पक्राउ परेका थिए ।

प्रकाशित भएको : December 24th, 2019

सम्वन्धित समाचारहरु