• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


राम बहादुर बमजनलाई फेरी यस्तो आपती सिन्धुली आश्रमबाट गायब, चार गुरू नियन्त्रणमा


नेपाली अपडेट
शुक्रबार, माघ २४, २०७६
 

तपस्वीको भेषमा बस्दै आएका रामबहादुर बमजन सिन्धुली आश्रमबाट भागेको प्रहरीले बताएको छ

हत्या-हिंसा, बलात्कार तथा आनीहरूलाई बेपत्ता पारेको आरोप लागेका बमजनलाई पक्रन प्रहरीले जिल्ला अदालत सर्लाहीबाट बिहीबार अनुमति लिएको थियो।

पक्राउ अनुमति लिएर प्रहरी शुक्रबार बिहान बमजनको सिन्धुली आश्रममा पुगेको थियो।

बिहीबार रातिसम्म बमजन आश्रममै रहेको सूचनाका आधारमा प्रहरी उनलाई पक्रन शुक्रबार बिहानै आश्रम पुगे पनि उनी त्यहाँ नभेटिएको सर्लाहीका एसपी विश्वमणि पोखरेलले जानकारी दिए।

बमजनलाई बिहान छ बजेदेखि प्रहरीले आश्रम र वरिपरिको जंगलमा खोजिरहेको छ।

बिहीबार सर्लाही जिल्ला अदालतको अनुमति लिएर शुक्रबार बिहान बमजन आश्रम पुग्दा उनको मूलघरमा ताला लागेको प्रहरीले बताएको छ।

‘बमजन हिजो रातिसम्म यहीँ थिए भन्ने सूचनाका आधारमा हामी उनको आश्रम पुगेका थियौं, त्यहाँ पुग्दा उनी थिएनन्। उनी कतै भागेको वा आफैं गायब भएको हाम्रो अनुमान छ,’ एसपी पोखरेलले भने,’खोजीकार्य जारी छ, आवश्यक परे हामीले कुकुरसमेत परिचालन गरेर उनलाई खोज्छौं।’

आश्रममा रहेका ४ जना ‘गुरू’हरूलाई नियन्त्रणमा लिएको पनि प्रहरीले बतायो।

बमजन एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तिमा एक आनीलाई बलात्कार गरेको आरोप छ।

बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता वोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्। बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।

बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दाकुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्। आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ।

बमजनले आश्रममा बस्ने नाबालक आनी गंगामाया तामाङलाई बलात्कार गरेको आरोप छ। गंगामायाले डेढ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छन्।
तीन महिना लामो अनुसन्धानपछि गत वर्ष पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

ती स्टोरी प्रकाशित भएपछि बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए।

त्यसपछि नेपाल प्रहरीले अनुसन्धान सुरू गरेको थियो। केही महिनासम्म प्रहरीले अनुसन्धान जारी राखे पनि पछि त्यो काम सुस्ताएको थियो।

अनुसन्धानले गति नलिएपछि दुई महिनाअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफ्नै मातहतमा विशेष टोली परिचालन गरेर अनुसन्धानलाई तीव्रता दिएका थिए।

सोही अनुसन्धानको निचोडका आधारमा प्रहरीले बमजनलाई पक्राउ गर्न जिल्ला अदालत सर्लाहीबाट अनुमति मागेको हो।

पक्राउपछि प्रहरीले बमजनमाथि थप अनुसन्धान गर्नेछ। त्यसपछि मात्र कुन-कुन आरोपमा उनीविरूद्ध अदालतमा मुद्दा लैजाने भन्ने तय हुनेछ।

प्रकाशित भएको : February 7th, 2020

सम्वन्धित समाचारहरु