• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


ठमेल क्षेत्रमा इन्टरनेट तार काट्न थाले


नेपाली अपडेट
मङ्लबार, पुस ८, २०७६
 

पुस ५ ८ काठ्मान्डौ

आइतबारदेखि ठमेल क्षेत्रमा इन्टरनेट जडान गरेका कर्पोरेट ग्राहकदेखि होटेल, रेस्टुराँ, व्यावसायिक प्रतिष्ठान र स्थानीय उपभोक्ताको घरमा सेवा पूर्ण रूपमा ठप्प छ । ठमेल पर्यटन विकास परिषद्ले सहरलाई कुरूप बनाएको भन्दै पोलमा झुन्डिएका तथा सडकमा लत्रिएका तार काट्न थालेको हो । परिषद्ले विद्युतका तारबाहेक अन्य सबै तार काटिएको जनाएको छ । ‘ठमेललाई सुन्दर र सफा राख्न तार व्यवस्थापन गरेका हौं,’ परिषद्का उपाध्यक्ष राजुमान डंगोलले भने, ‘विभिन्न किसिमका तारले गर्दा असुरक्षा बढाएको थियो ।’ उनका अनुसार ठमेलको करिब दुई किलोमिटर क्षेत्रमा तार व्यवस्थापन भइसकेको छ ।

चारवटा वडा कार्यालय, नेपाल प्रहरी, विद्युत प्राधिकरण, नेपाल टेलिकमलगायत संस्थासँग छलफल गरेरै तार काट्न थालेको डंगोलले दाबी गरे । ‘काम लाग्ने तथा नलाग्ने तार छुट्याउन नसकेपछि सामूहिक छलफल गरेर काटिएको हो,’ उनले भने । मंसिर १७ गते सातदिने सार्वजनिक सूचना जारी गरे पनि सरोकारवाला निकाय अग्रसर नभएपछि आफूहरू नै अघि सरेको उनको भनाइ छ ।

अहिले काटिएका क्षेत्रमा नेपाल टेलिकमले पुन: तार राख्न सुरु गरिसकेको उनले जानकारी दिए । ‘अस्थायी रूपमा विद्युतका तारजसरी नै तन्काउन सुरु गरिए पनि टेलिकमले दुई महिनाभित्र भूमिगत गर्ने भएको छ,’ उनले भने । केशर पुस्तकालयदेखि ठमेलस्थित सञ्चयकोष भवन, नरसिङ चोक, सातघुम्ती चोक, ठमेल–ज्याठा मार्गसम्म तार व्यवस्थापन गरिसकेको परिषद्ले जनाएको छ ।

ठमेल क्षेत्र काठमाडौं महानगरपालिकाको १६, १७, २६ र २७ वडामा पर्छ । वडा नम्बर २७ का सदस्य नरेशमान महर्जन पनि सम्बन्धित निकायसँग छलफल गरेर नै तार व्यवस्थापन गरिरहेको बताउँछन् । ‘तारले सहरलाई नराम्रो बनायो । आगलागीको सम्भावना पनि बढेको छ,’ उनले भने ।

आइस्पानको आपत्ति
परिषद्ले तार व्यवस्थापनको काम सुरु गरेपछि इन्टरनेट सेवा प्रदायकहरूको संस्था नेपाल (आइस्पान) ले उक्त कार्यलाई गैरकानुनी भनेको छ । नेपाल दुरसञ्चार प्राधिकरण र आफूहरूसँग छलफल नै नगरी तार काटिएको उक्त संस्थाका अध्यक्ष भोजराज भट्टले बताए । ‘अहिलेसम्म पाँच करोडको क्षति भइसक्यो । प्राधिकरणबाट मान्छे पठाएर तार नकाट्न आग्रह गरिए पनि रोकिएन,’ उनले भने, ‘परिषद्ले खबरै नगरी मनोमानी गरिरहेको छ, हामीसँग छलफल नगरे पनि प्राधिकरणसँग गर्नुपर्थ्यो ।’

सरकारले इन्टरनेटको तार भूमिगत गर्न निर्देशन दिएअनुसार एक वर्षभित्र सबै ठाउँमा भूमिगत गर्ने तयारी गरिरहेको उनको भनाइ छ । ‘कानुनी रूपमा अघि बढ्छौं, अहिले तार काट्नेविरुद्ध प्रहरीसँग कारबाही माग गरेका छौं,’ उनले भने, ‘दोषीलाई कारबाही नभएसम्म उक्त क्षेत्रमा हामी सेवा दिँदैनौं ।’

प्राधिकरणको ध्यानाकर्षण
नेपाल दुरसञ्चार प्राधिकरणले तार काटिएपछि ध्यानाकर्षण भएको जनाएको छ । अव्यवस्थित तारलाई व्यवस्थित गर्ने प्रक्रिया अगाडि बढाइरहेको र सेवा प्रदायक संस्था तार व्यवस्थापन गर्न तत्पर हुँदाहुँदै छलफलबिनै उक्त कार्य गरिएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले बताए । यस्तो कार्य दुरसञ्चार ऐन ०५३ को मर्मविपरीत हुनुका

साथै दण्डनीयसमेत भएको प्राधिकरणले जनाएको छ । यस्तो कार्यले सेवाग्राही तथा आम नागरिक दुरसञ्चार सेवाबाट वञ्चित हुनुका साथै आर्थिक व्ययभारसमेत भएको प्राधिकरणको भनाइ छ ।

प्रकाशित भएको : December 24th, 2019

सम्वन्धित समाचारहरु