• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


सस्तो मूल्यमा टेलिकमले ल्यायो ‘ह्याप्पी लर्निङ प्याक’


नेपाली अपडेट
बिहिबार, भदौ ४, २०७७
 

नेपाल टेलिकमले सस्तो मूल्यमा ह्याप्पी लर्निङ प्याक ल्याएको छ । टेलिकमले बुवाको मुख हेर्ने दिन (कुसे औंसी) को अवसरमा कार्यान्वयन हुने गरी पठनपाठनमा उपयुक्त हुने उक्त प्याक ल्याएको हो ।

निकै सस्तो मूल्यमा उपलब्ध हुने सो प्याकेजबाट विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनको माध्यमबाट प्रभावकारी रुपले सञ्चालन गर्न सकिने टेलिकमले जनाएको छ ।

सो प्याकेज अन्तर्गत ३१५ रुपैयाँमा २४ जीबी र ५०० रुपैयाँमा ३५ जीबी डाटा उपलब्ध हुनेछ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ ।

यसैगरी, ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई-लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने छ । यी दुवै प्याकेजको समयावधि २८ दिनको हुनेछ ।

प्याकेज प्रयोग गर्न चाहने सम्बन्धित शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बरसहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगानामा पठाउनु पर्नेछ ।

सिफारिश प्राप्त भएका नम्बरलाई कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने छ ।

ह्याप्पी लर्निङ प्याक नेपाल टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने छ । यो प्याकेज आफूलाई उपयुक्त हुने कुनैपनि समयमा प्रयोग गर्न सकिने छ ।

विद्यार्थी अफर अन्तर्गत *1600# मा डायल गरी सिम रजिष्ट्रेसन गरेका एसईईका विद्यार्थीहरुले पनि नेपाल टेलिकमको आफ्नो सिमकार्ड भएको मोबाइलबाट *1441# डायल गरी ह्याप्पी लर्निङ प्याक खरिद गर्न सक्नेछन् ।

 

प्रकाशित भएको : August 20th, 2020

सम्वन्धित समाचारहरु