• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


हाँडीकोटमा पूर्वाधार अभाव


रामबहादुर थापा
बिहिबार, मंसिर ११, २०७७
 

प्रकृतिको वरदान हाँडीकोट विकासमा भने ठगिएको छ । पूर्वाधार अभावले ओझेलमा छ हाँडीकोटको पर्यटन । निर्माण थालिएका संरचना पनि पर्यटनमैत्री छैनन् । हाँडीकोटको सौन्दर्यमा लिप्त हुने पर्यटक असुविधा देखेर भने खिन्न हुन्छन् ।

जैमिनी नगरपालिकास्थित हाँडीकोट भौतिक पूर्वाधारको पर्खाइमा छ । पर्यटकस्थलमा शौचालयसमेत नभएको स्थिति छ । खानेकुरा र पानी साथमै बोकेर जानुपर्छ । सडक अव्यवस्थित छ । पदमार्ग अपुरो छ । विश्रामस्थल छैन । उकालो चढेका पदयात्री चौरमै सुस्ताउनुपर्छ ।

पूर्वाधार अभावबाट गुज्रे पनि हाँडीकोट आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । दुई हजार १९५ मिटरको उचाइमा अवस्थित हाँडीकोट प्राकृतिक, जैविक एवं ऐतिहासिक हिसाबले समेत महत्वपूर्णस्थल हो ।

स्थानीय सरकार आएपछि पनि हाँडीकोटको मुहार फेरिन सकेको छैन । गुरुयोजना बनाएर काम थाल्ने नगरपालिकाको योजना कागजमै सीमित छ । विस्तृत परियोजना प्रतिवेदन बने पनि त्योअनुसार काम हुन सकेको छैन । हाँडीकोटको विकास र पर्यटन प्रवद्र्धनमा नगरपालिका नै उदासीन छ । लगानी भित्र्याउन सकेको छैन ।

तीन वर्षअघि शुरु भएको पदमार्ग निर्माणको काम अझै अपूर्ण छ । ‘भ्यूटावर’ निर्माणका लागि प्रदेश सरकारबाट आएको रु १० लाखबाट जगसम्म खनिएको छ । व्यक्तिगत लगानीमा बनाउन लागिएको मन्दिर अलपत्र छ । ऐतिहासिक शिव मन्दिर जीर्ण अवस्थामा छ । भुरे÷टाकुरे राज्यका पालामा बनेको दरबारको अवशेष नासिन थालेको छ ।

स्थानीयवासी यम पुनले पछिल्लो समय हाँडीकोटको चर्चा बढे पनि सोहीअनुसार पूर्वाधार विकासले गति लिन नसकेको बताउनुभयो । उहाँले हाँडीकोटमा स्थानीय सरकारको ध्यान नै नपुगेको गुनासो गर्नुभयो । “हाँडीकोट पर्यटकीय दृष्टिले आकर्षक गन्तव्य भए पनि पूर्वाधारमा धेरै नै पछि छ”, उहाँले भन्नुभयो ।

हाँडीकोट युवा क्लबका सदस्यसमेत रहनुभएका पुनले पर्यटकका लागि न्यूनतम सुविधासमेत नहुनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो । सरकारी तवरबाट कुनै पनि निकायको नजर हाँडीकोटमा नपरेको स्थानीयवासीको दुःखेसो छ । बरु गाउँले मिलेर पर्यटन प्रवद्र्धनका लागि गत वर्ष हाँडीकोट महोत्सव गरेका थिए ।

स्थानीय आरके अदिप्त गिरीले कलासापेक्ष ढङ्गले संरचना बनाउनुपर्ने धारणा राख्नुभयो । जथाभावीरूपमा पूर्वाधार खडा गर्दा हाँडीकोटको प्राकृतिक सौन्दर्य नासिने उहाँको भनाइ छ । “माथिसम्मै सडक किन ल्याउनुपर्र्यो ? मन्दिर, भ्यूटावरजस्ता संरचना बनाउँदा पनि मौलिकता झल्किनुपर्छ”, गिरीले भन्नुभयो ।

हाँडीकोटबाट सूर्योदय÷सूर्यास्तसँगै मनोरम हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । त्यहाँबाट पाल्पा, बुटवलसम्मका भूभाग देखिन्छन् । कुनै ताका भुरे÷टाकुरे राजाले त्यस क्षेत्रबाट राज्य चलाएको इतिहासमा उल्लेख छ । जडीबुटी र वन पैदावरका दृष्टिले पनि हाँडीकोट धनी छ । दुर्लभ चरा र वन्यजन्तुको बासस्थान छ ।

हाँडीकोट र नजिकै रहेको ऐतिहासिक थन्थाप माई मन्दिरलाई जोडेर पर्यटन विकासको एकीकृत गुरुयोजना बनाउनुपर्ने स्थानीयवासीको माग छ । विसं १८६५ मा बनेको उक्त मन्दिर जिल्लाकै प्रसिद्ध शक्तिपीठका रूपमा चिनिन्छ । हाँडीकोट ९० हेक्टर र थन्थाप माई मन्दिर १६ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

नगरपालिकाका प्रमुख इन्द्रराज पौडेलले बजेट अभाव र भौगोलिक जटिलताका कारण पूर्वाधार निर्माणमा ढिलाइ भइरहेको बताउनुभयो । “पर्यटनतर्फ नगरको पहिलो प्राथमिकतामा हाँडीकोट छ, प्रदेश र सङ्घ सरकारबाट समेत बजेट, कार्यक्रम ल्याउन पहल भइरहेको छ”, उहाँले भन्नुभयो ।

सडक सुधार र पदमार्ग निर्माणमा नगरपालिकाले शुरुदेखि नै लगानी गर्दै आएको उहाँको भनाइ छ । “पर्यटनका हिसाबले महत्वपूर्ण ठाउँ भए पनि हाम्रो मात्रै लगानी र स्रोतले त्यहाँ पूर्वाधार विकास गर्न सकिने अवस्था छैन”, प्रमुख पौडेलले भन्नुभयो, “त्यस क्षेत्रको विकासमा सबै पक्षको ध्यान जानु आवश्यक छ ।”

पदमार्ग, ‘भ्यूटावर’ मन्दिर, होटल, सङ्ग्रहालयलगायत संरचना बनाउने योजना रहेको नगरपालिकाले जनाएको छ । पूर्व र उत्तरपट्टिबाट गरी एक किमि जति पदमार्ग बने पनि अझै दुई किमि जतिमा पदमार्ग बनाउन बाँकी छ । हाँडीकोटको धुरी नजिकै कच्ची सडक पुगे पनि स्तरीय छ्रैन । नियमित मर्मत नहुँदा यात्रामा जोखिम छ ।

सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टाको मोटरयात्रापछि ब्याडथला पुगिन्छ । त्यहाँबाट एक घण्टाको पदयात्रापछि हाँडीकोट आउँछ । मोटरमै जाँदा भने यात्रा अझै छोटिन्छ । हाँडीकोट घुम्न जाने पर्यटकका लागि ब्याडथलामा सामान्य खाजाघर र होटलको सुविधा छ । कतिपय हाँडीकोटमै रात्रि ‘क्याम्प’ गरेर रमाउँछन् । यो याममा हाँडीकोटमा आन्तरिक पर्यटक बढेका छन् ।

प्रकाशित भएको : November 26th, 2020

सम्वन्धित समाचारहरु