• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


यस वर्षको एसईई पनि अन्याेलमै


नेपाली अपडेट
मङ्लबार, मंसिर ३०, २०७७
 

काठमाण्डाै – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थी, शिक्षक र अभिभावकबीच अन्याेल सिर्जना भएको छ ।


राष्ट्रिय परीक्षा बोर्डले एसईई कहिले र कसरी गर्ने भन्ने विषयमा सरकारले टुंगो लगाउन नसक्दा अन्याेलकाे अवस्था सिर्जना भएकाे जनाएकाे हाे ।

कोरोना महामारीका कारण सरकारले २०७६ सालको एसईई परीक्षा विद्यालयहरुलाई नै आन्तरिक मूल्याङ्कनका आधारमा गर्न जिम्मा दिएको थियो ।

शिक्षा मन्त्रालयले यस वर्षदेखि परीक्षाबारे शिक्षा ऐनले टुंगो लगाउने भने पनि कानुन नबन्दा परीक्षा बोर्ड, प्रदेश शिक्षा निर्देशनालय वा विद्यालय कसले गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको बोर्डले जनाएको छ ।

परीक्षा सञ्चालनका विषयमा टुंगो लगाउन मन्त्रालयसँग आग्रह गरेको र मन्त्रालयको निर्णय कुरेर बसेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताउनुभयो ।

मन्त्रालयको निर्णयकाे प्रतीक्षा गरिरहेकाले अरु तयारी गर्न बाँकी रहेको पनि उहाँले बताउनुभयो । एसईई परीक्षाबारे छिटो निर्णय गर्न मन्त्रालयलाई पत्र पठाइएको उहाँले जानकारी दिनुभयो ।

एसईईका लागि हरेक वर्षको असोज पहिलो हप्तासम्ममा कक्षा १० का विद्यार्थीले आवेदन फारम भरिसक्नु पर्ने हो । तर, यो वर्ष कोभिड-१९ का कारण मङ्सिर अन्तिमसम्म पनि आवेदन फाराम खुला गरिएको छैन।

शिक्षा मन्त्रालयले अघिल्लो वर्ष नै संघीय शिक्षा ऐनको विधेयकमा एसईई प्रादेशिक स्तरमा सञ्चालन गर्ने प्रस्ताव गरेको थियो । तर, शिक्षा ऐन नबन्दा यस वर्षको परीक्षा सञ्चालन कसले गर्ने भन्ने विषयमा थप अन्योल र जटिलता देखिएको छ ।

प्रकाशित भएको : December 15th, 2020

सम्वन्धित समाचारहरु