• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


भ्रमण वर्ष २०२० को भव्य उद्घाटन सातै प्रदेशमा यसरी हुँदैछ


नेपाली अपडेट
बुधबार, पुस ९, २०७६
 

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उपलक्ष्यमा सातै प्रदेशमा विभिन्न कार्यक्रम सहित भव्य रुपमा उद्घाटन गर्ने भएको छ । प्रदेश अनुसारको सांस्कृतिक झाँकि, र्याली, प्रदेश अनुसारको आन्तरिक विमानस्थल, पर्यटकीय गन्तव्यको प्रवद्र्धन र पर्यटकको लागि आकर्षक छुट सहित जनवरी १ (पुस १६) मा भव्य रुपमा भ्रमण वर्षको उद्घाटन गर्ने भएको हो ।

सातै प्रदेशले आफ्नो भूगोल, सांस्कृतिक पृष्ठभूमि र धार्मिक तथा पर्यटकीय गन्तव्यलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने गरी भ्रमण वर्षलाई मनाउने तय गरेको छ । भ्रमण वर्षको पहिलो दिन सातै प्रदेशमा उद्घाटनको तयारी कस्तो छः

प्रदेश १: विराटनगरमा भव्य तयारी

नेपाल भ्रमण वर्ष सन् २०२० लाई प्रदेश १ मा प्रभावकारी बनाउन प्रदेश स्तरीय कार्यसमिति तथा सचिवालय समिति निर्माण गरेर भव्य तयारी गरेको छ ।

समितिले प्रदेशमा रहेका पर्यटकीय स्थलहरुको अध्ययन तथा अनुगमन गर्ने र प्रत्येक नगरपालिका तथा गाउँपालिका स्तरमा भ्रमण वर्षलाई सफल बनाउन कार्यसमिति बनाई पर्यटकीय स्थलहरुको पहिचान गरी प्रचार प्रसार गरिरहेको छ ।

भ्रमण वर्षको पहिलो दिन पुस १६ गते विराटनगरस्थित शहीद रङ्गशालामा भव्य उद्घाटन समारोह गर्ने तयारी गरेको छ । रङ्गशालामा हुने उद्घाटन कार्यक्रममा १० हजार दर्शकको सहभागिता हुने प्रदेश सरकारले जनाएको छ । प्रदेशमा बसोबास गर्ने विभिन्न जातजातिका झाँकी प्रदर्शन, १४ जिल्लामा उत्पादन हुने स्थानीय उत्पादन र परिकारका प्रदर्शनी कक्षसमेत राखिने मूल समारोह व्यवस्थापन उपसमितिका संयोजक फणिन्द्र अधिकारीले जानकारी दिए।

एयर बेलुनबाट नेपाल भ्रमण वर्ष २०२० को झण्डा फहराइनुका साथै हेलिकोप्टरबाट पुष्पवृष्टि गरिने पनि कार्यक्रम छ । उद्घाटनपूर्व साइकलरमोटरसाइकल र्याली, विभिन्न नाका र विमानस्थलमा आउने पर्यटकलाई स्वागत गर्ने समेत तयारी पूर्ण भएको भ्रमण वर्ष प्रदेश १ का सह संयोजक राजन श्रेष्ठले जानकारी दिए ।

यस्तै प्रदेशको उक्त कार्यक्रममा सिक्किम, बंगाल र विहारको मुख्य मन्त्रीलाई समेत निमन्त्रणा गरेको सह संयोजक श्रेष्ठको भनाइ छ । उदटन समारोहको प्रमुख अतिथि मुख्यमन्त्री शेरधन राई हुने छ ।

प्रदेश २: विमानस्थलबाट शुरु गर्ने

नेपाल भ्रमण वर्ष २०२० लाई प्रदेश २ ले तीन वटा विमानस्थलबाट भ्रमण वर्षको भव्य स्वागतको तयारी गरेको छ । प्रदेश सरकारले जनकपुर, सिमरा र राजविराज विमानस्थलबाट भ्रमण वर्षको भव्य उद्घाटन गर्ने भ्रमण वर्ष सह संयोजक मनिष झाले जानकारी दिए ।

भारतीय पर्यटकहरुका निम्ति जल पर्यटन गर्ने, राष्ट्रिय निकुञ्जमा सफारी, जनकपुर धाममा विशेष कार्यक्रमको तयारी गरेको उनको भनाइ छ । जानकी मन्दिर, गढीमाई, रामनवमी, छिन्नमस्ता देवी लगाएत क्षेत्रमा भ्रमण वर्षको उद्घाटनको दिन कार्यक्रम तय गरिएको झाले बताए ।

उनका अनुसार प्रदेश २ मा भ्रमण वर्षभर १० लाखले भ्रमण गर्ने अपेक्षा गरिएको छ । भ्रमण वर्षमा प्रदेश प्रदेश बीचको सम्वन्ध जोड्न सात वटै प्रदेशका पर्यटन मन्त्री, पर्यटन सचिव, केन्द्र सरकारका पर्यटन मन्त्री तथा सचिव, नेपाल भ्रमण वर्षका संयोजकलाई प्रदेशमा भ्रमण गराउने कार्यक्रम समेत तय भएको प्रदेश सरकारले जनाएको छ ।

प्रदेश ३: ईन्द्रसरोवरमा भ्रमण वर्ष

प्रदेश ३ को भ्रमण वर्षको उद्घाटन मकवानपुरको कुलेखानी ईन्द्रसरोवर तालमा हुने भएको छ । पर्यटकीय उत्कृष्ट गन्तव्यको रुपमा रहेको इन्द्रसरोबर चलचित्र छायाङ्कन तथा पिकनिक क्षेत्रको रुपमा समेत प्रख्यात छ । हेटौंडाबाट डेढ घण्टाको यात्रामा इन्द्रसरोवर पुग्न सकिन्छ ।

यस उद्घाटन कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्रीहरु, राजनीतिक दल, स्थानीय सरकारको उपस्थितिमा भव्य उद्घाटन हुने सह संयोजक अनिल कुमार लामाले जानकारी दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य, नगरपालिका र गाउँपालिका प्रमुख एवं प्रतिनिधि, पर्यटन क्षेत्रमा आबद्ध व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिको समेत सहभागी हुने प्रदेश सरकारले जनाएको छ ।

भ्रमण वर्षभर प्रदेश सरकारको १४ घरेलु उत्पादनका कोसेली घर, १० पर्यटकीय गन्तव्य र १० ‘हिल स्टेसन’ निर्माण गरिने समेत लामाको भनाइ छ । भ्रमण वर्षका लागि एक अर्ब ६२ करोड बजेट विनियोजन गरिएको छ ।

गण्डकी: पोखरामा भव्य तयारी ४ 

भ्रमण वर्षको पहिलो दिन फेवा किनारमा रहेको ‘रत्न मन्दिर’ खुला हुने भएको छ । आम सर्वसाधरणका लागि मन्दिर खुला गर्ने र यहीबाट भ्रमण वर्षको र्याली शुरु हुने गण्डकी प्रदेश सरकारले जनाएको छ ।

पोखरा महानगरपालिकाको ३३ वटा बाटै एकै समय भ्रमण वर्षको र्याली सुरु गरिने छ । पोखरा विमानस्थलमा आइ पुगेका स्वदेशी तथा विदेशी पर्यटकलाई भव्य रुपमा स्वागत गरिने छ । गण्डकी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री विकास लम्सालको संयोजकत्वमा प्रदेश कमिटी गठन गरिएको सह संयोजक अग्नि कडेंलले जानकारी दिए ।

भ्रमण वर्षलाई उत्सवको रुपमा मनाउन प्रादेशिक समितिलाई व्यवस्थित गदै पर्यटनसँग सम्वन्धित संस्थाहरु टान, हान नाटा सहितको संस्थाले र्याली निकालेर फूटबल ग्राउण्डमा औपचारिक रुपमा भव्य कार्यक्रम हुने कडेंलले बताए ।

गण्डकी प्रदेशको पर्यटकको राजधानी पोखरा भएकाले यस प्रदेशमा आउने पर्यटकको स्वास्थ्यका लागि पर्यटकीय स्थल, बाटोहरुको सरसफाई गर्दै पर्यटकहरुलाई प्रदेशमा भएका पर्यटकीय क्षेत्रहरुको साईड सिन देखाउने समेत पहिलो दिनको कार्यतालिका बनेको कडेंलले नागरिक खबरलाई जानकारी दिए ।

प्रदेश ५ को तयारी

भ्रमण वर्षको पहिलो दिन प्रदेश ५ मा भव्य कार्यक्रमको आयोजना हुने छ । प्रदेश पाँचको मुख्य मन्त्री शंकर पोखरेलको प्रमुख आतिथ्यतामा बर्दियाको ठाकुरद्धारमा विशेष कार्यक्रम हुने भएको छ ।

प्रदेश ५ को भ्रमण वर्षका सह संयोजक माधव नेपालले भने,‘भ्रमण वर्षको पहिलो दिन २ हजार २० जना भारतीय पर्यटकलाई भव्य स्वागत गर्नेदेखि २०२० आइसीमा तारे होटलमा बसाउनेदेखि जंगल सफारी गराउने कार्यतालिका छ ।’

उनका अनुसार पुस १५ गते रातीदेखिनै भ्रमण वर्षको गतिविधि सुरु गर्नेछन् । बाँके र नेपालगञ्जमा विशेष कार्यक्रमको तयारी गरेको उनको भनाइ छ । यसका लागि प्रदेश सरकार, सभाषद, राजनीतिक दल, स्थानीय सरकारको प्रत्यक्ष सहभागिता हुने छ । पहिलो दिनको कार्यक्रममा पञ्चेबाजा, मगर झाँकी र थारु सांस्कृतिक नृत्य समेत प्रस्तुत गरिने छ ।

बुलबुल तालमा कर्णाली प्रदेशको तयारी

कर्णाली प्रदेशमा भ्रमण वर्षको पहिलो दिन उत्सवको रुपमा मनाउने तयारी छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित बुलबुले तालमा भ्रमण वर्षको उद्घाट हुने प्रादेशिक सह संयोजक राजु कार्कीले जानकारी दिए । सोही समारोहमा कर्णालीको पर्यटन विषयमा विज्ञ टोलीले तयार गरेको मास्टर प्लान सरकारलाई हस्तान्तरण गर्ने कार्कीको भनाइ छ ।

भ्रमण वर्षको उद्घाटन समारोहमा आर्मीको हेलिकप्टरबाट पुष्प गुच्छा बर्षा गराउने समेत कार्यतालिका छ । कर्णालीको १० वटा जिल्लाको प्रतिनिधित्व हुने गरी झाँकी प्रदर्शन गरीने उनको भनाइ छ ।

उद्घाटन कार्यक्रममा कर्णालीको फोटो प्रदर्शन, स्टिकर लोगो प्रदर्शन समेत गरिनेछ । कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही प्रमुख आतिथ्यतामा हुने सह संयोजक कार्कीले जानकारी दिए । साथै, ‘कर्णालीको साथी’ भनेर पाँचजनालाई गुड विल एम्बेस्डरको रुपमा घोषणा गरिने छ ।

सुदूरपश्चिम प्रदेशको आफ्नै तयारी

सुदूरपश्चिम प्रदेशले पनि भ्रमण वर्षको पहिलो दिन सांस्कृतिक मौलिक र प्राकृतिक रुपमा मनाउने तयारी गरेको छ । सुदूरप्रदेशमा आन्तरिक तथा विदेशी पर्यटक बढी भन्दा बढी भित्र्याउने उदेश्य अनरुप पहिलो दिन व्यापक प्रचार प्रसार हुने गरी मनाइने प्रदेश संह संयोजक परमानन्द भण्डारीले जानकारी दिए । सबै जिसस प्रमुख, नगरपालिका, गाउँपालिका प्रमुखहरुको सहभागितामा कञ्चनपुरमा भ्रमण वर्षको भव्य उद्घाटन हुने उनको भनाइ छ ।

प्रकाशित भएको : December 25th, 2019

सम्वन्धित समाचारहरु