• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


कर्णाली प्रदेश कि दाङ राजधानी ?


नेपाली अपडेट
बिहिबार, पुस १०, २०७६
 

आजका अखबारका पानाहरु र हिजोका अनलाइनका हेडलाईनहरु एउटै प्रकृतिका थिए । पुस महिनाको चिसोमा बाँके संगै धेरथोर मात्रामा बर्दिया पनि गर्मीमय बन्यो ।

‘बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने’ – यहि आसयको हेडलाईनले बाँके बर्दियाबासिका फेसबुकका भित्ताहरु समेत रङ्गिए ।

म पुनः एक पटक खुसी भएर दुखी हुने समयमा प्रवेश गरेको महसुस गर्दै छु । यहीँ उद्घोष बारम्बार नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख धवल शमशेरले गर्दै आएका छन् र छणिक नै सहि वा वाही पाउदै आएका छन् । यसको मतलब बाँके तथा बर्दियाबासी सान्चिकै कर्णाली प्रदेशमा समायोजन हुन चाहन्छन् भन्ने हो ।
बाँके र बर्दियाले जति अपनत्व प्रदेश पाँचमा गर्न सकेको छैन त्यो भन्दा धेरैगुणा कर्णाली प्रदेशमा समायोजन हुन आतुर छ । यसैको उदाहरण हो, यो विषय ,यो शिर्षकले बाँके तथा बर्दियाबासिमा तरंग पैदा गर्छ । अनि मेयर राणाको बारम्बार वा वाही गर्छन् ।

हिजो दिन भरी सुन्नमा आयो बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा समायोजन गर्नका लागी आन्दोलन हुने भएको छ । यसका लागी नेपालगन्जका प्रमुख धवल शम्शेर राणा सहित नेकपा,नेपाली कांग्रेस, राप्रपा लगायतका दल र अरु सरोकारवालाको छलफल भएको हो ।छलफलबाट १७ सदस्यीय समिती गठन समेत भएको छ ।

यो प्रगतिले मनमा खुसी त दियो तर बारम्बार कर्णाली प्रदेशमा समायोजन हुने र त्यसको नेतृत्व आफुले लिने भनेर उद्घोष गर्दै आएका मेयर राणा र अन्य राजनैतिक दलका नेताले नै हरेक जसो कार्यक्रममा दाङ राजधानी हुने हो भने हामी राजी खुसी छौ भन्ने गरेको र सुन्ने गरेको कुरा हो ।

अब मेरो यहि नीर एउटा प्रश्न मनमा खेल्छ ? बाँके र बर्दियाबासीको लागी महत्त्वपूर्ण के छ ? कर्णाली प्रदेशमा समायोजन वा दाङ राजधानी ?

यदि, हाम्रो चाहना दाङ राजधानी हो भने हामिले कर्णालीको नाम देखाएर कहिले सम्म दाङ राजधानीको लागि बार्गेनिङ गर्ने ? र दाङ राजधानी भएर हामिले के पाउछौ ? एक घन्टाको छोटो दुरि ? वा त्यो भन्दा अधिक केही ?

यदि, हाम्रो चाहना नितान्त कर्णाली प्रदेशमा समायोजन हुनु हो भने , कर्णालीमा समायोजन हुने र त्यसको लागी आन्दोलन सम्म गर्न तयार छौ भनिसके पछि पनि दाङ पाए ठिक छ भन्ने अभिव्यक्ति सार्वजनिक कार्यक्रममा दिनुको अर्थ के हो ?

सायद हामिले कर्णाली प्रदेशमा समायोजन हुनुपर्छ भनेर भन्दा खुसी हुनुको कारण कर्णाली प्रदेश संगको व्यापार , आत्मियता , रहनसहन , बोलिचाली , संस्कार , बिहेबारी जस्ता कुराहरुकै कारण होला । हामिले दाङकै लागी कर्णालीको नाम लिने हो भने बाँके र बर्दियाबासीको लागि यो भन्दा ठूलो धोका अर्को कुनै हुदैन पनि होला ।

घटना एक

बर्ष दिन पहिले नेपालगन्ज उपमहानगरका प्रमुख धवल समशेर राणाले बाँके र बर्दियालाई कर्णाली मिलाउन एउटा आन्दोलनको आवस्यकता रहेको र त्यो आन्दोलनको नेतृत्व आफुले गर्ने उद्घोष गरेका थिए । प्रमुख राणाको उक्त उद्घोष पछि बाँके र बर्दियाबासिमा ‘कर्णाली फिभर’ एकाएक सुरुभयो । किनकी यी दुई जिल्लाबासीले प्रदेश पाँचमा अपनत्व महसुस गर्न सक्ने कुनै आधार नै छैन । त्यसैमा प्रदेश पाँचको राजधानी स्थायी रुपमै बुटवल हुने लगभग पक्का जस्तै बन्दा विकल्पको रुपमा कर्णाली प्रदेश रोजाइमा पर्नु आश्चर्यको विषय नै थिएन । तर त्यसपछि मेयर राणाले न कुनै ठोस कदम चाले , बरु बारम्बार सार्वजनिक कार्यक्रममा दाङको लागी लबिङ गरेको देखियो ।

घटना दुई

नेकपा बाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य आइपी खरेल प्रदेश भन्दा पनि राजधानीको विषयलाई लिएर असन्तुष्ट रहेको बुझ्न सकिन्छ । बर्ष दिन अगाडी नै उनले ‘बाँके र बर्दिया प्रदेश ५ को आवश्यकता भित्र पर्दैन भनेर सम्मानित सदनले निर्णय गर्नुस् हामी सलाम ठोकेर जान्छौं ।’ भनेर भनेका थिए । यहाँ पनि के देख्न सकिन्छ भने बाँके र बर्दियाको सिङ्गल एजेन्डा कर्णाली प्रदेश हो भनेर भन्न सकेका छैनन् अर्थात उनी पनि दाङकै लागि लबिङ गर्दै छन् भन्ने भान हुन्छ ।

साँचो अर्थमा , कर्णाली र बाँके – बर्दियाको रहनसहन , बसाइँसराइ , बोली तथा ब्यवहार , ब्यापारिक आधार , अनि क्षेत्रीय आधार र तत्कालीन समयमा भौगोलिक तथा राजनैतिक आधारमा अञ्चल तथा बिकाश क्षेत्रगत हिसाबले पनि बाँके बर्दिया र कर्णाली सधै एकैसाथ नै थियो । त्यसै कारण पनि भावनात्मक सम्बन्ध कर्णाली संग निकट रहेको छ । यहि भावनात्मक सम्बन्ध र आर्थिक बिकासको आधारलाई हरेक बाँके र बर्दियाबासिले बुझेका छन् । प्रदेश पाँच र कर्णाली प्रदेशका बिचमा बाँके र बर्दियालाई हुने नाफा नोक्सानको हिसाबकिताबले पनि यी जिल्लाबासिको पहिलो रोजाइमा कर्णाली प्रदेश नै बनेको छ ।

प्रदेश राजधानी दाङ होस या बुटवल बाँके र बर्दियाका लागि त्यो सरोकारको विषय नै होइन । आर्थिक समृद्धि , सामाजिक रहनसहन , बसाइँसराइ र क्षेत्रगत रुपमा हाम्रा लागि प्रदेश पाँच उपयुक्त छैन । तर हाल प्रमुख राणा कर्णालीको नाम लिदै दाङको लागि बार्गेनिङ गर्ने दाउमा रहेको देख्न सकिन्छ । उनले हाम्रो सिङ्गल एजेन्डा बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्नु हो भनेर भन्न सकेका छैनन् । यदि उनले हाम्रो सिङ्गल एजेन्डा कर्णाली प्रदेश नै हो भन्छन् भने मात्र बाके र बर्दियाले आन्दोलन गर्नुको औचित्य साबित हुन्छ ।

नेकपाका नेता रत्न खत्रीले भने जस्तै – राजधानी दाङ नै आए पनि नेपालगन्ज तेस्रो शहरको रुपमा पछाडी पर्छ , त्यसैले सबै एकजुट भएर कर्णाली प्रदेशमा समायोजन हुने मुद्दा लाई अगाडी बढाउनुपर्छ । नेता खत्रीको कुरामा मेयर राणा र अन्य नेतहारु सहमत हुनुको अब कुनै विकल्प नै छैन ।

दाङ र बुटवलमा बाँके र बर्दियाका लागि के फरक छ ? सायद एक घन्टाको यात्राको समयमा फरक होला । त्यही एक घन्टा यात्रा कै विषयले जनप्रतिनिधि तथा संसदहरु बार्गेनिङका लागि दाङ देउ हैन भने हामी कर्णाली प्रदेशमा जान्छौ भनेर घुर्की लाउदै छन त ? हैन भने हाम्रो सिङ्गल एजेन्डा कर्णाली प्रदेश हो भनेर भन्न सक्नु पर्यो ।

यदि बाँके र बर्दियाको नाम लिएर दाङको लागि बार्गेनिङ गर्ने हो भने उनिहरुबाट जनताको अपेक्षा कदापी पूरा हुनेछैन । उनिहरु आफ्नै राजनैतिक दाउपेचकै लागि वक्तव्यबाजि तिर लागेको प्रष्ट देखिन सुरु भएको छ ।

बर्ष दिन अघिको बक्तब्यबाजीलाई आधार मान्ने हो भने कर्णाली को नाममा हाम्रा जनप्रतिनिधिले दाङको लागि बार्गेनिङ गर्दै छन् भन्ने कुरा प्रस्टै भान हुन्छ ।

यदि कर्णाली प्रदेशमा समायोजन हुने हाम्रो एकमात्र एजेन्डा हो र प्रदेश पाँचको राजधानी हाम्रो सरोकारको विषय होइन भने यो गठित समितीले अवश्य नै बाँके र बर्दियाको गुमेको भबिस्य पुनःकोर्नेछ । यसमा सायदै दुई मत नहोला ।

प्रकाशित भएको : December 26th, 2019

सम्वन्धित समाचारहरु