पौष ११ काठ्मान्डौ
जीवनमा कहिलेकाहीँ अनौठा प्रश्नहरुले घेर्न गर्छ। तिनै अनुत्तरित प्रश्नहरुको उल्झनमा उल्झिन बाध्य बन्छ मानिसहरु। अनि दीपक खरेलको स्वरमा गुञ्जिएको गीत झै लाग्छ जिन्दगी पनि – समयले मानिसलाई कहाँ कहाँ पुर्याउँछ…।
वास्तवमै समयले कहाँ पुर्याउँछ अनुमान कसरी होस् ? गीतकै शैलीमा भन्ने हो भने कहिले हसाउँछ त कहिले रुहाउँछ।
यो सन्दर्भ धेरैको जीवनमा लागू हुन्छ। केहीको जीवनमा अझ धेरै। रसिला तामाङ उनै केही पात्र मध्ये एक हुन्।
छ वर्षको कलिलो उमेरमा नै कामको खोजीमा दौडिन सुरु गरेकी रसिला त्यही दौड्ने आँटका कारण अहिले संघर्षको पर्यावाची बनेकी छिन्।
२० वर्षिय रसिलाको नाम यतिखेर चर्चामा छ। भर्खरै चीनमा सम्पन्न ट्रेल रेसमा उनले स्वर्ण पदक जितिन्। त्यो पनि ३ सय ५० भन्दा बढी धावकहरुलाई पछि पार्दै। दौड पनि सामान्य होइन, अल्ट्रा रेस। अर्थात् हाइ अल्टिट्युडमा हुने दौड।
तापक्रम माइनसमा छ। दुई हजार मिटरबाट शुरु भएको रेस ४ हजार २ सय मिटरमा पुगेपछि आधा हुन्छ र फेरि फर्केर उत्तिकै दुरी तय गर्नुपर्ने। नयाँ ठाउँ। कतै नाक ठोक्किने उकालो त कतै बाँदर लड्ने भिरालो बाटो। कतै पिच र कतै गोरेटोमात्रै। रसिलाले यस्तै साहसिक रेसमा स्वर्ण पदक जितिन्, त्यो पनि सजिलै। उक्त रेस रसिलाले ८ घन्टा २० मिनेट ४३ सेकेन्डमा पूरा गरिन्। उनको प्रतिद्वन्द्वी उनी भन्दा १ घन्टा १३ मिनेट पछाडि परिन्।
धादिङ धुनीबेसीकी रसिलाले एभरेस्ट म्याराथन त जितिसकेकी थिइन्। यसपाला चीनको प्रतियोगितामा पनि प्रथम नै भइन्। चीनमा रसिलासँगै गणेशबहादुर ठकुरी, सन्तोषविक्रम विष्ट, दुर्गराज बुढा, दामोदर बुढा, इन्द्रकला नेम्बाङ पनि सहभागी थिए। पुरुषतर्फ दुर्गराज बुढा दोस्रो भए भने दामोदर बुढा तेस्रो। नेपाली खेलाडीले चीनमा देशलाई गर्व गर्ने ठाउँ दिन कुनै कसर बाँकी राखेनन्।
दैनिक २१ किलोमिटरको दौड ..
रसिलाको जन्म भएको वर्ष दिन निबित्दै उनका बाबु बिते। आमा दमको रोगी। ठूलो परिवार, आर्थिक संकट त्यस्तै। ६ वर्षकै उमेरमा उनी कामका लागि निस्किनु पर्यो। बाल्यकालमा काम खोज्न हिँडेकी उनले काम पाइन ‘बच्चा हेर्ने’।
आफैँ बच्चा तर काँधमा अरुको बच्चा। बच्चाकै रेखदेखबाट गुजारा गरिरहनुपर्ने रसिला आफ्नै भविष्य प्रति अनजान थिइन्।
‘६ वर्षमै बच्चा हेर्ने काम गरेँ। आफूलाई त कसले हेरिदियोस् त्यतिबेला,’ मानसपटलमा रहेका धमिलो याद कोट्याइन् उनले, ‘एक दिन त बच्चालाई स्कुल लिन जाँदा आफैँ हराएछु। रुँदैरुँदै हिँड्दा एकजना दाइले पुलिस चौकीमा पुर्याइदिनु भएछ। सोधिखोजी गरेर मलाई आफ्नो घर पुर्याए। त्यसपछि बच्चा हेर्न सक्दिन भनेर घरै बसेँ।’
उनको संघर्ष त बल्ल शुरु भएको थियो। रोगी आमालाई सघाउनुपर्थ्यो। अनि मिल्दा पढाइ पनि। त्यो बाल मस्तिस्कले के के भ्याओस्?
कक्षा ८ मा पढ्दापढ्दै पढाइ छाडिन्। त्यसको कारण थियो उनले जीवनमा गरेको गम्भीर गल्ती। त्यो गल्ती उनका लागि महँगो सावित भयो।
उनी त्यतिबेला मामा पर्ने आफन्तकहाँ बसेर काम गर्दै पढ्दै थिइन्।
अरुको घरमा काम गर्नुपर्ने बाध्यता। न काममा केन्द्रित हुन सकिन् न पढाइमा नै। आफ्नो घरमा लथालिङ्ग थियो नै। उनी बसेको घरको आमा पनि बिरामी, भर्खरै अपरेशन सकेको। जता पनि तनाव। त्यसैले पढाइमा पनि फोकस गर्न सकिनन् उनले।
‘नेपाली माध्यममा पढेकी मलाई एक्कासी अंग्रेजी माध्यमको पढाइ हजम भइरहेको थिएन। फ्रस्ट्रेसन भयो।’ उनले भनिन्।
निरासाबिच उनले आत्महत्यको प्रयास गरिन्। तर, उनको फुपुले अस्पताल लगेर ज्यान जोगाइदिइन्। उनको पढाइ रोकियो, ठप्पै। गाउँबाट तरकारी काठमाडौं पठाउन थालिन् उनले।
‘१५ वर्षकी थिएँ। हाम्रो गाउँबाट हाइवे निस्किन ५ किलोमिटर माथि जानुपर्छ। त्यतिबेलामा ७० केजीसमम्मको भारी बोकेर ५ किलोमिटर माथि हाइवेमा लैजान्थेँ,’ उनले भनिन्।
सन् २०१५ को अन्तर्राष्ट्रिय महिला दिवसका दिन उनी जावलाखेल पुगेकी थिइन्, त्यहाँ दौड हुँदै थियो।
उनी त्यहाँ बिना कुनै पूर्व तयारी दौडिइन्, त्यतिकै। खासमा त्यहाँ म्याराथन भइरहेको छ भन्नेसमेत थाहा थिएन उनलाई।
‘त्यतिबेला महिलाहरुको दौड थियो, जावलाखेलमा। त्यसमा विदेशी नेपाली गरेर ४ सय जना दौडेका थिए। के हो भन्ने मलाई थाहा थिएन,’ उनले हाँस्दै भनिन्, ‘सुरुमा त त्यत्रो मान्छे देख्दा आन्दोलन पो हो कि जस्तो लागेको थियो। जुत्ता पनि थिएन। टिचरको जुत्ता लगाएर दौडिएँ।’
जे होस रसिला दौडिइन्, आफूले सक्ने जति।
दौड सकियो। दौडमा प्रथम भएकी थिइन्, मीरा राई, चर्चित अल्ट्रारेस धाविका।
‘के भइरहेको छ मैले खासै बुझिन। खासमा इङ्लिसमा एङ्करिङ भएकोले बुझ्न सकेको थिइन। पछि मेरो नाम लिँदा छक्क परेँ। म त दोस्रो भएकी रहेछु,’ उनले हौसिँदै सुनाइन्।
त्यहीबाट उनको जीवनले नयाँ मोड लियो। उनको सम्पर्क मीरा राई, रिचर्ड बाल, आशिष मिश्रलगायतसँग हुन थाल्यो। नयाँ यात्रा सुरु पनि।
मीरा राईले उनलाई दौडनु पर्छमात्र भनिन्, अंग्रेजी सिक्न पनि उक्साइन्। पढाइ किन चाहिन्छ भन्ने पनि सुझाइन्। रसिलाले उनले जसो भनिन् त्यसै गरिन्। दुई वर्षको ग्याप पछि पढाइ थालिन् फेरि, धादिङमै।
एसएलसी सकियो। त्यसलगत्तै हिमालयन आउटडोर फेस्टिबलमा भाग लिइन्। त्यहाँ उनी १२ किलोमिटरको दौडमा प्रथम भइन्। ‘इन्सपिरेसन’ राम्रै मिलिरहेको थियो उनलाई। खेलेरै भविष्य बन्छ भन्ने उनलाई लाग्न थालेको थियो। दौडिने अभ्यास उनले गरी नै रहेकी थिइन्।
एसएलसी सकिएपछि प्लस टु का लागि उनी भर्ना भइन् कलंकी स्थित गणेशमान सिंह बहुमुखी क्याम्पसमा। त्यतिबेलाको उनको सङ्घर्ष त झन आङ नै सिरिङ्ङ पार्ने खालको छ।
घर धादिङ। कलेज भने २१ किलोमिटरको दुरीमा काठमाडौंको कलंकी।
ब्यस्त सडक। धाढिङबाट बिहानै दौडिएरै उनी प्लस टू पढ्न कलंकी पुग्थिन्। बेलुकी भने गाडीमा फर्किन्थिन्। एक हिसाबले त उनको यो पागलपन नै थियो। तर, उनमा दौडिने जुनुन् सवार थियो, त्यसले उनलाई कुदाइरह्यो।
गाउँ समाजमा उनको यस्तो पारा हजम हुने विषय थिएन।
‘बुद्धेको बहिनी पागल भइछ।’
‘त्यो दौडिनुभन्दा काम गर्नु नि घरमा बसेर।’
‘केटी मान्छे किन कुदेको होला!’
उनीमाथि टिप्पणी गर्नेहरु यस्तैयस्तै भनिरहन्थे। तर कसैको कुरा नसुनी उनी दौडिरहिन्, आफ्नै रफ्तारमा।
‘सुरुमा दिदीहरुले कुदेर मात्र जीवन चल्दैन भन्नुहुन्थ्यो। तर, पछि उहाँहरुले पनि कुरा बुझ्नु भयो। दाइ आमाको सँधै साथ छ,’ उनले भनिन्।
घरमा समस्या नभए पनि समाजका ‘कुरौटे’ले भने उनलाई निराश बनाउन खोजेका थिए।
‘एकमन चाहिँ अरुले जिस्क्याउँदा नराम्रो लाग्थ्यो। पछि खेल जित्दै गएपछि केही हुने रहेछ भन्ने लाग्न थाल्यो,’ उनले भनिन्, ‘नदौडिएको भए म गाउँमै मेलापात गरिरहेको हुन्थेँ। अहिले देश विदेश घुमेकी छु। देशको नाम पनि राख्न पाएको छु,’ खुसी हुँदै भनिन्।
कलेज त दौडेरै गइरहिन्। कलेजले पनि उनको खेलप्रतिको लगाव बुझ्दै कलेज पोसाक लगाउनबाट सहजिकरण गरिदिएको थियो।
दौडेर जाँदाजाँदै रफ्तार त बढ्यो नै साथमा आए अफ्ठ्याराहरु पनि।
‘साथीहरुलाई म त्यसरी दौडिएर आउने थाहा त थियो तर म आँफैलाई चाहिँ अफ्ठारो लाग्थ्यो। कलेज पुग्दा साथीहरुलाई पसिना पो गन्हाउँछ कि भन्ने लाग्थो।,’ आफ्नो अनुभव सुनाउँदै उनले भनिन्।
पछि उनी काठमाडौ नै बसेर पढ्न थालिन्। अहिले उनी बिएसडब्लु दोस्रो वर्ष अध्ययनरत छिन्।
अहिले त गाउँमा उनको कुरा काट्नेहरु नै रसिला कहिले आउँछिन् र आफ्ना सन्तानलाई दौडको तालिम दिन्छिन् भनेर कुर्न थालेका छन्।
प्लस टु गर्दैगर्दा उनले खेलमा छलाङ मारिसकेकी थिइन्। उनी खेलकुदमै फुलटाइमर भइन्।
सन् २०१७ मा चीनमा उनले पहिलो पटक विदेशमा गएर अन्तर्राष्ट्रिय दौडमा सहभागिता जनाइन्। १५ औं स्थानमा चित्त बुझाइन्।
‘पहिलो पटक गएको थिएँ। त्यहाँको खान्की पनि मिलेन। गर्मी पनि धेरै थियो। कुद्नै सकिन। अनुभव पनि थिएन,’ त्यतिखेरको रेस सम्झिँदै उनले भनिन्।
त्यसपछि सन् २०१८ मा ग्रुप इभेन्टमा दौडिनका लागि उनी पुगिन हङकङ। १०० किलोमिटर अल्ट्रा रेसमा उनको समूह दोस्रो भयो।
‘रेस हाइ अल्टिट्युडमा थियो। त्यसले धेरै सजिलो भयो। त्यसपछि चाहिँ अलि प्रशिक्षण गरेर ठूलै रेस पनि हान्न सकिन्छ भन्ने आँट आयो,’ उनले आफूमा बढेको आत्मविश्वासलाई प्रकट गरिन्।
सन् २०१९ मै मुस्ताङ ट्रेल रेसमा १ सय ७० किलोमिटर दुरीमा पहिलो भइन्। उनले ट्रेल रेसमा एउटा उचाइ लिइसकेकी थिइन्।
१ महिना अघिमात्र पनि उनले एभरेस्ट म्याराथन जितेकी थिइन्।
एभरेस्ट म्यारथन विश्वकै सबैभन्दा अग्लो ठाउँमा हुने म्याराथन हो। महिला पुरुष दुवै सहभागी हुने यस रेसमा नेपाली २० र ४० विदेशी खेलाडीलाई पछि पार्दै उनी पहिलो भएकी थिइन्। जितको खुशी राम्ररी मनाइनसक्दै उनी हान्निइन् चीनतिर।
चीनको कुनिङमा भएको ५० किमी इन्डिभिजुअलमा रसिलाले ३ सय ५० जना प्रतिस्पर्धीलाई पछि पार्दै स्वर्ण जितिन्। एक महिना नबित्दै दुई ठूला प्रतियोगितामा स्वर्ण पदक हात पारेकी रसिला केही दिनअघिमात्रै नेपाल फर्किएकी छिन्।
चीनमा स्वर्ण जित्दाको अनुभव पनि उनको खास छ। ‘एक पटक त म दोस्रो मात्र हुने रहेछु भनेर स्वर्णको माया मारिसकेकी थिएँ,’ रसिलाले भनिन्। तर दौडमा पुनरागमन गर्दै तिनै प्रतिस्पर्धीलाई ५ किलोमिटरले पछि छाडिन्।
‘२५ किमीसम्म हामी सँगसँगै थियौं। २५ किमीमाथि पछि पहाडबाट ओर्लिँदै गर्दा हिउँ नै हिउँमा भएको ठाउँमा मैले उसलाई पछि छाडेको थिएँ,’ उनले सुनाइन्, ‘१० किमिसम्म पिच थियो। त्यसपछि उकालो। उ उकालोमा हिँड्ने। उ पहिलो भयो भने म दोस्रो हुन्छु भन्ने लाग्यो।’
हिउँ भएको ठाउँमा पुगेपछि उनलाई जितिरहनेको स्पिड घट्यो। रसिलाको भने बढ्यो। ‘टपमा चेक प्वाइन्टमा पनि उ अगाडि थियो। म ओरालोमा हिउँ भएको ठाउँमा दौडिएर उसलाई पछि पारेँ,’ उनले भनिन्, ‘तल पिच आयो फेरि। मलाई पिचमा गाह्रो लाग्थ्यो। त्यहाँ फेरि पछि पर्छु कि भन्ने डर लागेको थियो।’
केही समय दौडिएपछि फेरि पहाड आयो। सिधा उकालो चढ्नु पर्ने पहाड थियो त्यो। ‘म त्यसको बीचमा पुगेर हेर्दा उ लठ्ठी टेकेर आउँदै थियो। अब जित्छु भन्ने भयो,’ उनले चीनमा पाएको सफलताको कथा हालिरहिन्, ‘फिनिसलाइन पु्ग्नु अघि फेरि पिच आयो। त्यसमा मैले अलि धेरै मेहेनत गरेँ। फेरि एक किमी जति उकालो थियो। उकालो लाग्दा म्युजिकहरु सुनिन्थ्यो। त्यहाँबाट सहजै फिनिसलाइन पुगेँ।’
पछि गुरुहरुसँग भेटेपछि मात्र उनलाई थाहा भयो कि उनले सबैभन्दा निकटत प्रतिद्वन्द्वीलाई ५ किलोमिटर पछाडि पारिसकेकी रहिछिन्।
पहिला धेरै दु:ख गरेको हेर्दा अहिले खुशी छिन् उनी।
‘हिजो कुनै दिन नराम्रो निर्णय लिएको थिएँ। अहिले पनि पछुतो लाग्छ। तर, अहिले देशको झन्डा अर्काको देशमा गएर फहराउन पाउँदा केही गर्नसकेँ जस्तो लाग्छ।’
अबको उनको लक्ष राम्रो प्रशिक्षण गरेर वर्ल्ड च्याम्पियनसीपमा सहभागी हुने हो। र, जित्ने पनि।
‘यसका लागि धेरै तालिमहरु गर्नुपर्छ। म अब अझ मेहेनत गर्छु। १ वर्ष अगाडिसम्म मीरा दिदीले दौडको तरिकाहरु सिकाउनु भएको थियो। अहिले चाहिँ आफैँ गर्छु,’ उनले भनिन्।
कुराको बिट मार्दै गर्दा अन्तिममा उनले फेरि आफूलाई दोस्रो जीवन दिने फुपुलाई सम्झिइन् – ‘फुपुलाई फेरि पनि विशेष धन्यवाद। मलाई त्यत्रो खर्च गरेर बचाउनु भएकोमा। र, नयाँ जीवनका लागि पनि।’