• शुक्रबार, बैशाख ७, २०८१
  • | April 19, 2024


मेलम्ची नगरपालिकाको अपिल उच्च जोखिमका घरमा नबस्न 


नेपाली अपडेट
बुधबार, साउन २०, २०७८
 

२० साउन, काठमाडौं । मेलम्ची नगरपालिकाले जोखिमयुक्त घरमा नबस्न नगरवासीलाई आग्रह गरेको छ ।

पहिरो गएको मुहान क्षेत्रबाट अझै पनि पहिरो आउने सम्भावना रहेको र वर्षाततको समय भएकाले मेलम्चीको तल्लो बजारका घरहरु सफा गर्ने र त्यहीं बस्ने गरी थालिएको तयारी जोखिमका हिसाबले उपयुक्त नभएको नगरपालिकाको भनाइ छ ।

 

नगर प्रमुख डम्बर अर्यालले जारी गरेको एक अपिलमा वषर्ातको समयमा अति उच्च जोखिममा रहेका स्थानहरुमा घर सफा गर्ने, मर्मत गर्ने र पुनः सोही घरमा बस्ने गरी जोखिमयुक्त कार्य भइरहेकोतर्फ ध्यानाकर्षण भएको भन्दै त्यस्तो काममा नलाग्न भनिएको छ ।

भित्रका तालामाराङदेखि ढाडखोला किनारमा रहेका बस्तीहरूको संरक्षण गर्नेदेखि बाढी प्रभावितलाई आवास निर्माणका लागि आवश्यक पहल गरिरहेको भन्दै बाढी प्रभावित नागरिकको गाँस, बास र स्वास्थ्य उपचारको अभाव हुन नदिने नगरपालिकाले जनाएको छ ।

गत असार १ गते देखिनै नगरपालिकाको सबै संयन्त्र प्रयोग गरी नदी नियन्त्रणदेखि बस्ती जोगाउनसम्म अथक प्रयास गरेको नगरपालिकाद्वारा मंगलबार जारी अपिलमा भनिएको छ ।

बेलैमा सूचना आएकाले मानवीय क्षति हुन नपाएको भन्दै नगरपालिकाले खुशी व्यक्त गरेको छ । तत्कालका लागि सामूहिकरूपमा बासस्थानको व्यवस्था गरेको नगरपालिकाले १५ दिनसम्म इन्द्रेश्वरी माध्यमिक विद्यालयमा प्रभावितहरुलाई बासको व्यवस्था गरेको बताएको छ ।

ग्याँस, चुलो, ओछ्याउने, भाँडाकुँडा र रासनसमेतको व्यवस्था गरी इच्छाएको सुरक्षित ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले भूमिका निर्वाह गरेको नगर प्रमुख अर्यालले जानकारी दिए । साथै कुपनको व्यवस्था गरी एक महिनाका लागि खाद्यान्न वितरण गर्ने काम भएको उनले बताए ।

पहिरोको माथिल्लो भेगको अवस्थाको मूल्यांकन गर्दै सम्बन्धित विषय विज्ञहरुको निरन्तर सल्लाह र सुझावबमोजिम तल्लो तटीय क्षेत्रमा नदीको कटान रोकी क्षति न्यूनीकरण गर्ने काममा नगरपालिका निरन्तर लागिरहेको अपिलमा उल्लेख गरिएको छ ।

हालसम्म नगरपालिकामार्फत एक हजार २७८ थान ग्याविन बक्स, ४७८ टिप ढुंगा, सात वटा मेसिन लगातार एक महिनासम्म खोलामा आवश्यकताका आधारमा प्रयोग एवं परिचालन गरिएको नगरपालिकाले जनाएको छ ।

 

प्रकाशित भएको : August 4th, 2021

सम्वन्धित समाचारहरु