• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


प्रहरी हिरासतभित्र किन जान्छ दलित प्रदेश २

#प्रदेश २ का प्रहरी हिरासतभित्र किन जान्छ दलित समुदायका थुनुवाको ज्यान?
pic
नेपाली अपडेट
बुधबार, साउन २०, २०७८
 

प्रहरी हिरासतभित्रै पल्टु रविदासको मृत्यु भएपछि अहिले धनुषा प्रहरीविरूद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। घटनाको छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै दलित अगुवा तथा विभिन्न संगठन आन्दोलनमा उत्रिएका छन्।

साउन १५ गते बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टुको शव परिवारले अझै बुझ्न मानेका छैनन्। आर्थिक अभाव र जेल बस्नुपर्ने डरले तनावमा आएर पल्टुले आत्महत्या गरेको प्रहरीले दाबी गरे पनि उनको परिवार तथा दलित अगुवा तथा संगठनले हत्या गरिएको आरोप लगाउँदै आन्दोलन गरिरहेका छन्।

आफूहरूको माग सम्बोधन नभए प्रदेशभर अझै सशक्त आन्दोलन चर्काउने उनीहरूको चेतावनी छ।

प्रहरीले भने पल्टुले आत्महत्या नै गरेको दाबी गरिरहेको छ। छानबिन गर्न समिति बनाएको छ।

पीडितलाई भने प्रहरीको दाबी पत्याउन मुस्किल छ किनभने प्रदेश २ का प्रहरी हिरासतमा ज्यान गुमाउने पल्टु पहिलो व्यक्ति होइनन्।

उनको समुदायका तीन जना युवकले एक वर्षमा प्रदेश २ का विभिन्न प्रहरी हिरासतमा ज्यान गुमाएका छन्। उनीहरू सबैका परिवारलाई हिरासतभित्रै भएको मृत्यु कसरी भयो भन्ने आशंका छ।

२८ जेठ २०७७ मा धनुषाको सबैला नगरपालिका-१२ का २४ वर्षीय शम्भु सदा मुसहर इलाका प्रहरी कार्यालय सबैलाको हिरासतको शौचालयमा झुन्डिएको अवस्थामा फेला परेका थिए।

राति २ बजे आफूले लगाएको गञ्जी सहितका लुगाले पासो लगाएर उनले आत्महत्या गरेको प्रहरीले दाबी गरे पनि पीडित परिवार, दलित अगुवा तथा विभिन्न संघसंगठनले षड्यन्त्रपूर्वक उनलाई मारिएको बताउँदै आएका छन्।

जेठ १२ गते साँझ शम्भुले चलाएको ट्रयाक्टरले ठक्कर दिँदा धनुषाधामकी ४२ वर्षीया सुमिन्द्रीदेवी साहको मृत्यु भएको घटनामा उनी प्रहरी हिरासतमा थिए। घटनाको निष्पक्ष छानबिन तथा उनको हत्यामा संलग्न भनी दाबी गरिएका व्यक्तिविरूद्ध जाहेरी दर्ता भएपछि करिब एक सातापछि परिवारले उनको शव बुझेका थिए।

त्यतिखेरसमेत आरोपी प्रहरीसहित स्थानीयविरूद्ध कारबाही र क्षतिपूर्ति नदिँदा एक सातासम्म धनुषासहित प्रदेशका विभिन्न ठाउँमा प्रहरी तथा सरकारविरूद्ध प्रदर्शन भएको थियो।

पोष्टमार्टममा ढिलाई भएर उनको शव गलिसकेका कारण उनको मृत्युको कारण रिपोर्टमा आउन नसकेको मानव अधिकार आयोग प्रदेश २ का प्रमुख वीरबहादुर बुढामगरले जानकारी दिए। शम्भुकी आमा सियालीदेवीले इलाका प्रहरी कार्यालय सबैलाका तत्कालीन प्रमुख प्रहरी निरीक्षक चन्द्रभूषण यादव, पूर्वउद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवका भाइ कारी यादव, २ नम्बरका वडाध्यक्ष पारस साह, ३ नम्बरका वडाध्यक्ष सन्तोष साह, वडा नम्बर ४ बस्ने राजकुमार यादव र सञ्जय साह तथा वडा नम्बर ३ बस्ने कालीप्रसाद साहविरूद्ध सरकारी वकिल कार्यालय धनुषामार्फत् ज्यान मुद्दामा उजुरी दर्ता गराएकी थिइन्।

प्रहरीको निगरानीमा रहेको व्यक्तिले आत्महत्या गर्न नसक्ने भन्दै हत्या गरेर आत्महत्या जस्तो देखाइएको जाहेरीमा जिकिर गरिएको छ। सो मुद्दा अहिले धनुषा जिल्ला अदालतमा विचारधीन छ।

१० भदौ २०७७ मा रौतहटस्थित इलाका प्रहरी कार्यालय गरूडाको हिरासतमा रहेका गरूडा नगरपालिका-८ का १९ वर्षीय विजय रामको उपचारको क्रममा मृत्यु भएको थियो। साउन ३१ गते राति स्थानीय १७ वर्षीय निरञ्जन रामको घाँटी रेटी हत्या भएको घटना अनुसन्धानको क्रममा पक्राउ परेका रामको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो। उनलाई कसुर स्वीकार गर्न हिरासतमा चरम यातना दिइएको भन्दै रौतहटसहित देशका विभिन्न ठाउँमा केही दिन प्रदर्शन भएको थियो।

उच्चस्तरीय छानबिन समितिले हिरासतमा रामलाई यातना दिइएको पाएपछि तत्लीन इलाका प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोलाई त्यहाँबाट प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको थियो भने प्रहरी निरीक्षक नवीन सिंह र हवल्दारद्वय हिरोज मियाँ धुनिया र मत्रुकुमार सिंहलाई निलम्बन गरिएको थियो।

रामको मृत्यु भएको एक वर्ष नबित्दै पल्टुको हिरासतभित्रै मृत्यु भएको घटनाले दलित अगुवा तथा मानवअधिकारकर्मीले सशंकित छन्।

‘थुनामा सबै जातजातिका मान्छे हुन्छन् तर दुई वर्षको डाटामा दलितको मात्रै किन मृत्यु भएको छ? के यो शंकाको विषय होइन,’ मुसहर संघका अध्यक्ष चन्ददेश्वर सदा भन्छन्।

संविधानत: पूर्ण सुरक्षाको जिम्मा लिएर प्रहरीले आफ्नो दायित्व पूरा नगर्दा हिरासतभित्रै थुनुवाको मृत्यु हुने घटना बढेको उनको बुझाइ छ।

‘दलितको न प्रहरी-प्रशासनमा पहुँच हुन्छ न न्यायलयमै। अरू मुद्दामा सबै राजनीतिक दल पनि बोल्छन् तर दलितको घटनामा कहिल्यै बोल्दैन्। यिनीहरू कोही दलितको हक अधिकारको पक्षमा छैनन्,’ सदाले थपे।

अन्य समुदायका भन्दा थुनामा रहेका दलितलाई प्रहरीले फरक र निच व्यवहार गर्ने गरेको उनको आरोप छ।

प्रहरी हिरासतभित्र थुनुवाको मृत्युका घटनालाई आफूहरूले गम्भीरतापूर्वक लिएको प्रदेश २ दलित विकास समितिका उपाध्यक्ष रामप्रवेश बैठाले बताए।

‘एक वर्षको प्रदेशको डाटा हेर्दा तीन जनाको हिरासतमै मृत्यु भएको छ। ती घटनाहरूले प्रहरीमाथि प्रश्न उठेको छ। शम्भु सदाको घटना र गरूडाको घटनामा हत्या नै भएको छ। दोषीलाई कारबाही पनि भएको छ/हुने क्रममा पनि छ,’ बैठाले भने।

सुरक्षा दिने निकायमै थुनुवाको मृत्यु हुनु वा आत्महत्या गर्नु गम्भीर विषय रहेकाले यसलाई आफूहरूले गम्भीरतापूर्वक लिएको मानवअधिकार आयोग प्रदेश २ का प्रमुख बुढामगरले बताउँछन्।

‘हरेक घटनामा फरक-फरक कुरा आउँछ। कतिपय घटनामा यातना दिएर पनि मरेको छ भने आत्महत्या गरेको घटना पनि छ। जतिसुकै सावधानी अपनाउँदा पनि कुनै घटना भइहाल्छ तर यो गम्भीर विषय हो,’ उनले भने।

पछिल्लो समय प्रहरी हिरासतभित्र तीन जना दलित युवककै मृत्यु हुनु संयोग नै हुन सक्ने उनको बुझाइ छ। समाजिक र आर्थिक कारणले थुनुवाले हिरासतभित्र आत्महत्या गर्ने परिस्थिति निर्माण भएको हुनसक्ने उनले बताए।

‘दलित समुदायमा अधिकांश मानिस आर्थिक रूपमा कमजोर हुन्छन्। त्यसबाट विभिन्न समस्या आउँछ। अभावले तनाव आउँछ। उपाय नभएपछि गलत निर्णयमा पुगिन्छ,’ बुढामगरले थपे, ‘कतिपय अवस्थामा कानुन जटिल विषय भएर पनि गाह्रो हुन्छ। कानुन नजानेर पनि कतिपय मानिस त्यतिकै आत्तिन्छ। गल्ती नगरे पनि पक्राउ पर्ने विषय आयो भने आत्तिएर गलत निर्णय लिन्छ।’

प्रदेश २ मा प्रहरी हिरासतमा तीन जना दलित युवकको मृत्यु हुनु संयोग रहेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी उमेश रन्जितकार बताउँछन्। पल्टु विपन्न परिवारका रहेकाले अदालतबाट २ लाख धरौटी मागेपछि तनावमा आएर आत्महत्या गरेको हुनसक्ने उनको भनाइ छ। यो घटना अनुसन्धान क्रममा रहेको र पहिलाका घटनामा दोषीलाई कारबाही भएको डिआइजी रन्जितकारले उल्लेख गरे।

‘गरूडामा भएको घटनामा दोषीलाई कारबाही भएको छ। सबैलाका घटनामा फौजदारी मुद्दा नै चलेको छ। पल्टुको केसमा हामी छानबिन गरी सत्यतथ्य के छ बाहिर ल्याउँछौं। छानबिन समितिको प्रतिवेदन आएपछि कोही दोषी देखियो भने कारबाही हुन्छ,’ उनले भने।

Seto pati

प्रकाशित भएको : August 4th, 2021

सम्वन्धित समाचारहरु