काठमाडौं । नेपाली कांग्रेस खोटाङले पक्कि पुल निर्माण तथा सडक स्तरोन्नती सम्बन्धमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मागपत्र पेस गरेको छ।
बुधबार कांग्रेस खोटाङका नेता तथा पूर्वराज्यमन्त्री सर्वधन राई, पूर्व पार्टी सचिव महेन्द्र कुमार कट्वाल, नेता रोजन राई, दिप्रुंग चुइचुम्म गाउँ पालिका उपाध्यक्ष सपना राई ने. वि. संघका नेता जय कुमार तामाङ्ग, भुवन श्रेष्ठलगायतका नेताहरुले प्रदेश (ख) का समस्याहरु तत्काल हल गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन ।
मागपत्रमा पूर्वी पहाडको विकट जिल्ला खोटाङ्गको दक्षीणी क्षेत्र तुलनात्मक रुपमा तराई – मधेस संग भौगोलिक निकटता भएको स्थान भएता पनि विकासको समूचित दृष्टिकोणबाट राज्यको उपेक्षा भित्रको यो भूगोल सड़क , शिक्षा , स्वास्थ्य , खानेपानी , विद्युत , सिंचाई जस्ता विकासका अत्यावश्यक पूर्वाधारबाट समेत बन्चित रहेको तथा यस क्षेत्रको उन्नयन र यसका माध्यमबाट समग्र जिल्लाको दिगो विकासमा कोशेढुङ्गा सावित हुने सडक पुल तथा सडक आयोजना स्वीकृत तथा बजेट व्यवस्था गरी पाँऊ भनी यो माग पत्र पेश गरेका छौं भनि उल्लेख गरिएको छ।
मागपत्रमा सुनकोशी नदि स्थित धाप्लाङ्गमा निर्माण भईरहेको पुल यसै आर्थिक वर्षमा सम्पन्न गर्न गराउन आवश्यक बजेट व्यवस्था मिलाउन साथै सुनकोशी नदि स्थित वंसिलाघाट पुल निर्माण, सावाखोला स्थित छुलिबेसीमा पक्किपुल निर्माणको माग गरिनुका साथै सडक स्तारुन्नोती तर्फ वसिलाघाट -बुवाजर -सिक्किमटार – फेदि – देविस्थान चिसापानी सडक ,वंसिला -मौवाबोटे -जतेढुङ्गा -चिसापानी थामखर्क सडक, रसुवाघाट -सिम्पानी -मुलडाँडाँ – ( भोजपूर ) -पान्धारे सडक, धाप्लाङ्ग – सुन्तले -सिन्ताङ –चिसापानी -भञ्ज्याङ्गखर्क सडक, रसुवाघाट -बारापोखरी – सिन्ताङ – वुवाजर सडक , वोपुङ्ग –सिक्किमटार -वुवाजर -वंसिला – सडक, वोपुङ्ग औचकाउले सडक र रेग्मीटार- पंचमी- छितापोखरी-धिप्लुङ्ग सडक, निर्माणका लागि आवश्यक बजेटमाग गर्दै प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष मागपत्र पेस गरिएको छ ।