काठमाडौं : सरकारले टेकनारायण पाण्डेलाई गृह सचिव बनाएको छ। मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव पाण्डेलाई गृह सचिवमा सरुवा गरेको हो। गृहसचिव महेश्वर न्यौपानेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तानिएको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालयमा सरुवा गरेको छ ।त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा पठाइएको छ।
जल तथा ऊर्जा आयोगका सचिव सागरकुमार राईको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा सरुवा भएको छ। प्रदेश २ का प्रमुख सचिव गोकर्णमणि दुवाडीको प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ। प्रदेश १ को प्रमुख सचिवमा पदस्थापन भएका सचिव सुमनराज अर्यालको महालेखा नियन्त्रणको कार्यालयमा सरुवा भएको छ। कर्णाली प्रदेशका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय ल्याइएको छ।
त्यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्तमा रहेका सचिव किरणराज शर्माको प्रदेश ३ को प्रदेश प्रमुख सचिवमा र कृष्णहरी पुस्करलाई प्रदेश ५ को प्रदेश प्रमुख सचिवमा सरुवा गरिएको छ। सरकारले गोविन्दप्रसाद शर्मालाई सचिवमा बढुवा गरेको छ। उनलाई बढुवासँगै कृषि तथा पशुपन्छी विकास मन्त्रालय (कृषि) पदमा पदस्थापनसमेत गरेको छ। लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा बसेको बढुवा सिफारिस समितिको बैठकले सहसचिवत्रय शर्मा, डा.निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको थियो।