
काठमाडौं, २८ साउन । विश्वविद्यालयका विभिन्न संकाय र तहमा परीक्षा दिने विद्यार्थीले आजैदेखि खोप पाउने भएका छन् । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका खोप शाखा प्रमुख डाक्टर झलक गौतमका अनुसार झण्डै ६० हजार विद्यार्थीलाई खोप दिने गरी तयारी भएको छ ।
सबै स्वास्थ्य निर्देशनालय, प्रदेश तथा जिल्ला स्वास्थ्य कार्यालयहरुलाई खोपको व्यवस्था गर्न भनिएको र काठमाण्डौमा आजदेखि विद्यार्थीलाई खोप लगाउन सुरु गरिने उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय काठमाण्डौका प्रमुख बद्रीबहादुर खड्काअनुसार निजामती अस्पताल, प्रहरी अस्पताल, सैनिक अस्पताल, सशस्त्र प्रहरी अस्पताल र राधा स्वामी आइसोलेशन खोप केन्द्रमा गएर विद्यार्थीले खोप लगाउन पाउनेछन् ।
आज, भोलि र पर्सि बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खोप लगाउन पाइने र खोप लगाउने विद्यार्थीले अनिवार्य रुपमा प्रवेश पत्र साथमा लैजानु पर्ने उहाँले बताउनुभयो । काठमाण्डौ बाहिर पनि सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले परीक्षार्थीका लागि खोपको व्यवस्था गर्ने खोप शाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ भने अरु विश्वविद्यालयका पनि परीक्षा सञ्चालन भइरहेका छन् ।
परीक्षा केन्द्रमा भीड बढ्दै गएपछि विद्यार्थीहरुले खोपको माग गरेका थिए । विद्यार्थीको माग अनुसार सरकारले विश्वविद्यालयका परीक्षा दिने विद्यार्थीका लागि खोपको व्यवस्था गरेको हो ।