• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


बूढानीलकण्ठबाट यसरि समातिएका थिए चिनियाँ नगारिक ।


नेपाली अपडेट
शनिबार, पुस १२, २०७६
 

काठमाडौँ — दसैंपछि राजधानीको चपली सल्लाघारीमा एकाएक चिनियाँ युवायुवती देखिन थालेपछि अम्बिका पौडेललाई लागेको थियो, ‘चीनमा पढेका विद्यार्थी नेपालमा प्राक्टिस गर्न आएका होलान् ।’ चिनियाँको बाक्लो ओहोरदोहोर हुन थालेपछि अम्बिकाकी छिमेकी तारा थापालाई चाहिँ काठमाडौंको चक्रपथ निर्माणका लागि आएका हुन् कि भन्ने लागेको रहेछ ।मासिक ३० लाख रुपैयाँ भाडा तिरेर चिनियाँ नागरिक बसेको काठमाडौं, मनमैजुस्थित आठतले घर । तस्बिर : महानगरीय प्रहरी

वरिष्ठ चिकित्सक भोला रिजालको घरमा बसेका चिनियाँको चहलपहल र ओहोरदोहोर दिउँसो फाट्टफुट्ट देखिए पनि राति बाक्लै हुन्थ्यो । सामान किन्नदेखि बाहिर घुमघाममा उनीहरूको आवतजावत बढी नै हुन्थ्यो । राति टोलै थर्काएर चिनियाँ भाषामा कुरा गर्दै हिँड्थे । चिनियाँले बोलेको टोलवासी बुझ्दैनथे, टोलवासीले बोलेको चिनियाँले । चिनियाँहरू नजिकैको नारायण गुरुङको पसलमा कहिलेकाहीं सामान किन्न आउँथे । क्यालकुलेटर थिचेर पैसा बार्गेनिङ गर्थे । टोलवासीले उनीहरूबारे थप बुझ्न पनि चाहेनन् ।

जब गएको सोमबार प्रहरी टोलीले चिकित्सक रिजालको घर घेरा हालेर उनीहरूलाई नियन्त्रणमा लियो अनि तारा र अम्बिका अवाक बने । रातमा चहलपहल हुने चिनियाँ अखडामा प्रहरी प्रवेश गरेर नियन्त्रणमा लिएपछि मात्रै त्यहाँ गलत काम भइरहेको उनीहरूले अनुमान लगाए । ‘उनीहरू मध्यरातमा हल्ला गर्दै हिँड्दा निद्रा खलबल्याउँथे तर राम्रै काम गर्ने होलान् भनेर कतै उजुरी गरेनौं,’ अम्बिकाले भनिन्, ‘चीनमा पढेर नेपालमा प्राक्टिस गर्न आएको होला भन्ठानें । आफ्नै छोराछोरीको उमेरका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि पो झसंग भयौं ।’ चिनियाँ बस्नुअघि रिजालको घरमा प्याक्ट नामक संस्थाको कार्यालय थियो ।

चिनियाँ नागरिक बसेको बूढानीलकण्ठको घर । उनीहरूलाई नियन्त्रणमा लिएपछि त्यहाँ सुरक्षाकर्मी तैनाथ छन् ।

प्रहरीले चिनियाँ बसेको बूढानीलकण्ठ रुद्रेश्वर चपलीस्थित सुरेन्द्र लामाको घरबाट पनि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो । यो घरको सुरक्षार्थ अहिले प्रहरी तैनाथ गरिएको छ । चिनियाँ बसेको अघिल्लो घरका धनी रामसुन्दर जोशीले भने, ‘३५ जनाभन्दा बढी चिनियाँ बस्थे । हल्ला गर्थे । अरूलाई भित्र छिर्न नदिन गेटमा चौबिसै घण्टा निजी कम्पनीबाट ल्याइएका गार्ड राखेका थिए ।’

चिनियाँले गर्ने गतिविधिबाट आजित बनेका कृष्णबहादुर श्रेष्ठले राति सात वटासम्म ट्याक्सीमा लाइन लागेर ओहोरदोहोर गरेको देखेका थिए । ‘दिउँसो त मान्छे नभएजस्तो हुन्थ्यो, हामी सुतेपछि चहलपहल हुन्थ्यो,’ उनले भने । बिहान ६ बजेपछि सुनसान हुने गरेको उनले बताए । खाना पकाउन र सफाइ गर्न दुई जना नेपाली महिला राखेका थिए । घरको छतबाट चिनियाँले गर्ने बाहिरी गतिविधि नियाल्थे । ‘भित्र के गर्थे, थाहा भएन तर मैले ४० जनासम्म बसेको देखें,’ उनले भने ।

चिनियाँ नागरिक बसेका बाँसबारीस्थित घर ।

टोलवासीले यसअघि यही घरमा रामबहादुर बम्जन बसेको देखेका थिए । बम्जनले यो घरलाई एक वर्षअघिसम्म आश्रयस्थल बनाएका थिए । उनले छाडेपछि घरधनी आफैं बसे । तर चिनियाँले तीन महिनाको भाडा अग्रिम दिएपछि उनी अन्यत्र सरे । प्रहरीका अनुसार चिनियाँहरू दुई महिना मात्रै बसे । यो घर भाडामा मिलाउने दलालले मात्रै दुई लाख कमिसन लिएको पाइएको प्रहरी स्रोतले जनाएको छ । चिनियाँहरू बिहानै लाइन लागेर बाहिरिएकै साँझ प्रहरीले छापा मारेको कृष्णबहादुरले बताए ।

यो घरमा प्रहरीले छापा मारेको जानकारी नभएपछि मंगलबार बेलुका तीन जना चिनियाँ पुगेका थिए । ‘घरभित्र प्रहरी देखेपछि भागे,’ उनले भने, ‘चिनियाँ समातिएपछि हाम्रो टोलकै बेइज्जत भयो ।’

समूहमा चिनियाँ बसेको घर खोज्ने क्रममा हामी बाँसबारीस्थित साम्बला होटल पुग्यौं । त्यही बाटो हुँदै भोला रिजालको घर पुगिन्छ । रिजालको घर नपुग्दै डाँडामा एउटै कम्पाउन्डमा दुईवटा घर चिनियाँ नागरिकले भाडामा लिएका थिए । गेटमा भित्रबाट ताल्चा लगाइएको थियो । भित्र निजी सेक्युरिटी गार्ड थिए । प्रहरी र घरधनीले कसैलाई पनि भित्र छिर्न नदिन आदेश दिएका रहेछन्, त्यसैले उनले हामीलाई पस्न दिएनन् । बाहिरबाटै फोटो खिच्यौं । घरको गेटमा चाहिँ ‘सफ्कत नवाज’ लेखिएको थियो ।

स्थानीय बासिन्दा नवराज गौतमका अनुसार चिनियाँ नागरिक बस्नुअघि यो घरमा नेपालस्थित पाकिस्तानी दूतावासका कर्मचारी बस्थे । पाकिस्तानका कर्मचारी बस्नुअघि बंगलादेश दूतावासका कर्मचारी थिए । ‘दूतावासका कर्मचारीले छाडेपछि चिनियाँहरू बस्न थालेका हुन्,’ उनले भने । यो टोलमा बसेका चिनियाँले पसलैपिच्छे बार्गेनिङ गरेर सामान किन्ने गरेको उनले सुनाए । ‘क्यालकुलेटर थिच्दै सामानको मूल्य सोधेर हिँड्थे,’ उनले भने ।

चिनियाँ नागरिक बसेका बाँसबारीस्थित घर ।

बूढानीलकण्ठ आसपास चिनियाँ नागरिक बस्दै आएका जति पनि घरमा पुग्दा सबै आधुनिक शैलीका बंगला थिए । वरिपरि पर्खाल लगाइएको, भित्र हुने गतिविधि बाहिरबाट सहजै थाहा नपाइने, घरको परिसरमा पर्याप्त खुला क्षेत्र भएको र मूल सडकबाट भित्र भएको घरमा उनीहरू बस्ने गरेका रहेछन् । अहिले उनीहरू बस्ने घरभित्रको सामान सुरक्षा गर्न कतै प्रहरी नै तैनाथ गरिएको छ । कतै ताला लगाइएको छ ।

बूढानीलकण्ठ मन्दिरनजिकै रुद्रेश्वरस्थित एउटा घरमा प्रहरीको पहरा देखियो । त्यहाँ चौबिसै घण्टा प्रहरी तैनाथ गरिएको रहेछ । ‘अन्यत्र सादा पोसाकमा प्रहरी परिचालन गरिएको छ,’ एक प्रहरीले भने । चिनियाँ पक्राउ परेको घरको छतमा सुकाइएका लुगा त्यत्तिकै छन् । खाना खाएको भाँडा बरन्डामै छरपस्ट देखिन्छन् । प्रहरीले नियन्त्रणमा लिन थालेपछि अन्य घरमा बसेका चिनियाँ पनि भागेको एक स्थानीय बासिन्दाले जानकारी दिए । ‘प्रहरीले एउटा घरमा छापा मारेर नियन्त्रणमा लिएपछि अरू ठाउँमा बसेका चिनियाँ धमाधम भागिरहेका छन्, हातमा लगेज बोकेर बाहिर निस्किएको त हामीले पनि पटकपटक देखेका हौं,’ प्रहरीले छापा मारेको घरका छिमेकी कृष्णबहादुर श्रेष्ठले भने ।

चिनियाँ नागरिक बसेका बाँसबारीस्थित घर ।

उता मनमैजुका पाँचवटा घरमा प्रहरीले एकैपटक छापा मारेर ८४ जनालाई नियन्त्रणमा लियो । छापा मारिएकामध्येको एउटा आठ तले घर थियो, जसमा मासिक ३० लाख रुपैयाँ भाडा तिरेर चिनियाँ बसेका थिए । उक्त घर अहिले प्रहरीको पहरामा छ ।

पूर्वएआईजीकै घरबाट भागे चिनियाँ
काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले १ सय २२ चिनियाँ नागरिकलाई पक्राउ गरेपछि सशस्त्र प्रहरीका पूर्वएआईजी नारायणराज पाण्डेको बूढानीलकण्ठस्थित घरमा बसेका एक हूल चिनियाँ नागरिक भागेका छन् ।

मनमैजु, बाँसबारी र बूढानीलकण्ठका १० वटा घरमा एकैपटक छापा मारेर प्रहरीले सोमबार चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । पक्राउ परेपछि बूढानीलकण्ठस्थित पाण्डेको घरमा भाडामा बसेका चिनियाँको एक समूह फरार भएको हो । भागेका उनीहरू कहाँ गए भन्नेबारे खोजबिन भइरहेको प्रहरीले बताएको छ ।

पूर्वएआईजी पाण्डेले पनि चिनियाँहरू
आफ्नो घरमा केही महिनाअघि मात्रै बसेको बताए । तर अहिले उनीहरू हिँडिसकेको उनले जानकारी दिए । ‘पक्राउ परेपछि वा नपरी भन्ने विषय मलाई नसोध्नुहोला तर मेरो घरमा चिनियाँहरू बसेका थिए, अहिले उनीहरू हिँडिसकेका छन्,’ उनले भने । घरबाट हिँडिसकेपछि उनीहरूसँग सम्पर्क नभएको उनले बताए । पाण्डेको घरबाट चिनियाँ भागेको सूचना आएको र उनीहरूको खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले बताए ।

मोबाइल फ्याँकेर भागे
घर भाडामा लिएर समूहमा बसेका चिनियाँविरुद्ध प्रहरीले ‘सर्च अपरेसन’ चलाएपछि बाँसबारीको ‘नमस्ते काठमाडौं एकोमोडेसन’ अपार्टमेन्टमा बसेका चिनियाँ आफूले प्रयोग गर्ने १८ थान मोबाइल फोन फ्याँकेर भागेका छन् । अपार्टमेन्ट राधाकृष्ण न्यौपानेको हो । बरामद मोबाइल फोनका आधारमा भागेका चिनियाँको अनुसन्धान र खोजबिन भइरहेको महानगरीय प्रहरी वृत्त महाराजगन्जले जनाएको छ ।

‘राधाकृष्ण न्यौपानेले सञ्चालन गरेको नमस्ते काठमाडौं एकोमोडेसनमा बस्दै आएका ४ जना चिनियाँ नागरिक आफूले प्रयोग गर्ने १८ थान मोबाइल सेट फ्याँकेर मंगलबार भागेका छन्,’ वृत्तका डीएसपी उमेश लम्सालले कान्तिपुरसँग भने, ‘फरार भएकाको खोजबिन भइरहेको छ, बरामद मोबाइल सेटबाट पनि केही तथ्य र प्रमाण संकलनका क्रममा छौं ।’ लम्सालका अनुसार बरामद भएका मोबाइल फोनको क्यामेरामा स्टिकर टाँसेको अवस्थामा फेला परेको छ ।

चिनियाँले मलाई पनि झन्डै फसाए : पूर्वजर्नेल
नेपाली सेनाका एक पूर्वउपरथीले चिनियाँ नागरिकको एक समूह आफ्नो घर भाडामा लिन आएको बताएका छन् । तर भाडामा बस्नेलाई के प्रयोजनका लागि भनेर सोधेपछि उनीहरू फिर्ता भएको ती उपरथीले बताए । ती उपरथीले यसबारे आफ्नो नाम उल्लेख नगरिदिन आग्रह पनि गरे । ‘केही महिनाअघि चलनचल्तीभन्दा बढी नै भाडा रकम दिने प्रस्तावसहित चिनियाँ नागरिकको एक हूल आएको थियो, उनीहरूसँगै एक नेपाली पनि थिए,’ उनले कान्तिपुरसँग भने, ‘कहिले, किन, के प्रयोजनका लागि बस्न लागेको भनेर केरकार गरेपछि उनीहरू फर्किए ।’

प्रकाशित भएको : December 28th, 2019

सम्वन्धित समाचारहरु