• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


‘कल्चरल डान्स’ गरेर विश्व कीर्तिमान राख्ने क्रममा छेतेन शेर्पा बेपत्ता


नेपाली अपडेट
आइतवार, कार्तिक ७, २०७८
 

काठमाडौं, ७ कात्तिक । असोज अन्तिम साता सोलुखुम्बुको महाकुलुङ गाउँपालिकास्थित मेरापिक हाई क्याम्पमा विश्व रेकर्ड कायम गर्ने उद्देश्यका साथ सांकृतिक नृत्य कार्यक्रम आयोजना गर्ने सिलसिलामा हिमाली क्षेत्रमा एक नेपाली नागरिक बेपत्ता भएका छन् ।

 

‘शेर्पा इभेन्ट अर्गनाइजेसन’ द्वारा आयोजित सांस्कृतिक नृत्यको छायाङ्कन लागि काठमाडौंबाट १६ जनाको टोली असोज २२ मा त्यता प्रस्थान गरेको थियो ।

सो टोलीमा भोलिपल्ट महाकुलङका दुई स्थानीय थपिए । सो टोलीको अगुवाई र व्यवस्थापन गर्न हाई क्याम्पभन्दा अलिक तलको खारे भन्ने स्थानमै होटल व्यवसाय गर्ने कामी शेर्पा कोठे भन्ने स्थानमा आइपुगे र टोलीलाई लिएर अघि बढे ।दसैंको टीकाको भोलिपल्ट अर्थात् असोज २९ मा ५८०० मिटर उचाईमा अवस्थित मेरापिक हाई क्याम्पमा सांस्कृतिक नृत्य सम्पन्न भयो ।

विश्वकै सबैभन्दा अग्लो ठाउँमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विश्व रेकर्ड कायम गर्ने टोलीको उद्देश्य थियो । कार्यक्रम समापन भएपछि  उक्त टोलीका सदस्यहरुले आ–आफ्नै रुचि र खर्चमा मेरापिक आरोहणको लागी अनुमति लिएका मेरापिक हिमाल आरोहण गर्ने योजना बन्यो ।

टोलीमा रहेकामध्ये चार जनाजति आरोहणमा नगई हाई क्याम्पमै आराम गरे । १३ जनाको टोली भने बिहान ३ बजे नै आरोहणमा हिँड्यो । बिहान उनीहरु हिँड्दा मौसम राम्रै थियो । दिउँसो एकाएक मौसम बिग्रेकाले सबैजना हराए । साँझपख उनीहरु दुईवटा टोलीमा बाँडिएर हाई क्याम्पमा फर्किए ।

फर्किएको पहिलो टोली र आरोहणमा नगई हाई क्याम्पमै रहेकाहरु त्यहाँबाट खारेतिर झरे । केही बेरपछि आरोहणबाट फर्केको पछिल्लो टोली पनि पछि–पछि खारेतिरै ओर्लियो । दुवै टोली फर्कंदा आरोहणमा गएकामध्ये दुई जना भने आइपुगेनन् । दुई जना छुटे पनि उनीहरुसँग गाइड छँदैछन् भनेर टोली ढुक्क नै रह्यो ।

राति अबेरसम्म उनीहरुबारे केही खबर आएन । भोलिपल्ट चाहिँ टिमका दुई जना हराएको र गाइड तथा हाई क्याम्पको सम्पर्कमा नआएको खबर फैलियो । मौसम निकै खराब भएकाले तत्काल हेलिकप्टर बोलाएर खोजी गर्न सम्भव भएन । भोलिपल्ट भने सो टिमका सबै मिलेर स्थानीयवासी र शेर्पाहरुको सहयोगमा उनीहरुको खोजी तीव्र पारियो ।

फेरि अर्को दिन सबैजना सम्पर्कमा आएको र कोही पनि नहराएको खबर फैलियो । तर, केही बेरपछि छेतेन शेर्पा चाहिँ हराएको र पासाङ शेर्पा भने भेटिएको पुष्टि भयो । सो टोलीका सबैलाई काठमाडौं पुग्ने व्यवस्था मिलाएर उक्त समूहका अगुवा नुरु शेर्पा भने यतिबेला पनि मेरापिक हिमाल क्षेत्रमै रहेर हराएका छेतेन शेर्पाको खोजी गरिरहेका छन् ।

कामी शेर्पाको नेतृत्वमा स्थानीय होटल व्यवसायसहितको सहयोगमा उनको खोजीकार्य जारी छ । मौसम केही सफा भएकाले असोज ४ गते काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर बोलाएर समेत खोजी गरियो । तैपनि छेतेन शेर्पाको अवस्था असोज ७ गतेसम्म अज्ञात नै रहेको मेरापिक हिमालमै रहेका नुरु शेर्पाले जानकारी दिए ।

प्रकाशित भएको : October 24th, 2021

सम्वन्धित समाचारहरु