• बिहिबार, बैशाख १३, २०८१
  • | April 25, 2024


चर्चित युवा नेतृ राज्यलक्ष्मी शाही कांग्रेस प्रवेश, देउवाद्वारा स्वागत


नेपाली अपडेट
आइतवार, पुस १३, २०७६
 

काठमाडौं । कालिकोट जिल्लाकी चर्चित युवा नेतृ एवम् तत्कालीन नयाँ शक्ति पार्टीकी उम्मेदवार राज्यलक्ष्मी शाही नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।

कालिकोट जिल्लाको मान्म खाडाचक्र नगरपालिकामा गत स्थानीय तहको निर्वाचनमा शाही नयाँ शक्ति पार्टीबाट उपमेयरको उमेदवार बनेकी थिइन् । स्थानीय तहको निर्वाचनमा शाही पराजित भएकी थिइन् ।

नेतृ शाहीको नेतृत्वमा एक दर्जन युवाहरू शुक्रबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । काठमाडौंको बुढानिलकण्ठमा शुक्रबार आयोजित विशेष कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृ शाहीसहितका युवाहरूलाई पार्टीमा भित्र्याएका हुन् ।

सभापति देउवाले शाहीसहितका युवाहरूलाई टीका तथा खादा लगाइदिएर सदस्यतासहित नेपाली कांग्रेसमा प्रवेश गराएको नेविसंघका पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले जानकारी दिए ।

सभापति देउवाले जनताले ल्याएको लोकतन्त्रमाथि कम्युनिस्टहरूका कारण खतरामा पर्दै गएको भन्दै देशभरिका युवाहरू नेपाली कांग्रेसमा समाहित भएर कम्यनिस्ट अधिनायकवादविरुद्ध लाग्न अपील पनि गरेका छन् । उनले नेपाली कांग्रेसले मात्रै राष्ट्रियता र लोकतन्त्रको रक्षा गर्ने बताए ।

नेपाली कांग्रेसका सभापति देउवाले कम्युनिस्टहरूको मीठा कुरामा नभुल्न सबैलाई आग्रह गरेका छन् । उनले संविधानलाई उल्लंघन गरेर जनताका अधिकार कटौती गरिए नेपाली कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

कालिकोट जिल्लामा नेपाली कांग्रेसप्रति स्थानीय युवाहरूको आकर्षण बढ्दै गएको छ ।

कम्युनिस्ट र अन्य साना दलहरूले जनताको कामभन्दा पनि आफ्नो व्यक्तिगत स्वार्थतिर लागेपछि कालिकोटमा युवाहरूले नेपाली कांग्रेसप्रति झुकाब राखेको कांग्रेसका स्थानीय नेताहरूको भनाइ छ ।

प्रकाशित भएको : December 29th, 2019

सम्वन्धित समाचारहरु