समाचार

पोखरा र लुम्बिनी रेललाई ७ खर्ब, सुरू विन्दु काठमाडौंको टोखा हुने

१३ पुष २०७६ आइतबार,

काठमाडौँ — काठमाडौं–केरुङ रेलमार्गपछि यहाँबाट पोखरा र लुम्बिनी जोड्ने अन्य दुई रेलमार्गको पनि पूर्वसम्भाव्यता अध्ययन पूरा भएको छ । त्यसअनुसार काठमाडौंबाट कुरिनटार हुँदै पोखरा र कुरिनटारबाट लुम्बिनीसम्म पुर्‍याइने रेलमार्ग बनाउन करिब ७ खर्ब रुपैयाँ लाग्ने देखिएको छ । त्यसको निर्माण अवधि ६ वर्षको हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चीनका दुई सरकारी कम्पनीले नेपालको रेल विभागलाई गत मंसिरमा काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन बुझाएका थिए । अध्ययनपछिका कार्य कसरी अघि बढाउने भन्ने विषय भने हाल छलफलकै चरणमा रहेको विभागले बताएको छ ।

चीनको रेलवे इन्जिनियरिङ डिजाइन एन्ड कन्सल्टिङ ग्रुपले काठमाडौं–पोखरा र चाइना रेलवे फस्ट सर्भे एन्ड डिजाइन इन्स्टिच्युटले कुरिनटार–भरतपुर–लुम्बिनीको अध्ययन गरेका हुन् । रेल विभागका महानिर्देशक बलराम मिश्रले चीन सरकारको खर्चमा पूर्वसम्भाव्यता अध्ययन भएको बताए ।

पोखरा र लुम्बिनीतर्फ लैजाने रेलमार्ग केरुङ हुँदै काठमाडौं ल्याउने अर्को रेलमार्गसँग टोखामा जोड्नुपर्ने अध्ययनले देखाएको छ । यसकारण पोखरा र लुम्बिनीतर्फ जाने रेलमार्गको सुरु विन्दु टोखा हुनेछ । टोखादेखि–पोखराको लम्बाइ १६८ दशमलव ३३ किमि रहनेछ । ‘यो रेलमार्गबाट दुई घण्टामा पोखरा पुगिनेछ,’ मिश्रले भने । यो रेलमार्ग निर्माणमा ३ खर्ब ९० अर्ब रुपैयाँ लाग्ने अनुमान छ । ‘यो खण्डमा धेरै सुरुङमार्ग बनाउनुपर्ने अध्ययनले देखाएको छ,’ मिश्रले भने, ‘त्यसैले लागत बढ्ने भएको हो ।’

टोखा–पोखरा रेलमार्गमा १३ वटा स्टेसन रहनेछन् । १० वटा सुरुङमार्ग हुने र तिनको लम्बाइ ४९ किमि रहने अध्ययनले देखाएको छ । भौगोलिक अवस्थाअनुसार २ देखि ९ किमिसम्मका सुरुङमार्ग निर्माण गर्नुपर्ने भएको हो । यो रेलमार्गमा ५४ पुल बनाउनुपर्छ । सबै पुलको लम्बाइ २६ किमि रहनेछ ।

कुरिनटार–भरतपुर–लुम्बिनी रेलमार्गको दूरी १५५ दशमलव ६६ किमि रहने अध्ययनमा देखिएको छ । यसको लागत ३ खर्ब रुपैयाँ अनुमान गरिएको छ । यो मार्गमा १४ वटा स्टेसन रहनेछन् । ‘काठमाडौंबाट एउटै लाइन कुरिनटारसम्म जानेछ,’ महानिर्देशक मिश्रले भने, ‘त्यहाँबाट दुईतिर रेलमार्ग छुट्टिने गरी निर्माण गर्नुपर्नेछ ।’ यो खण्डमा सुरुङ र पुलको दूरी २३/२३ किमि रहनेछ । त्यसमा ४६ वटा पुल र चार सुरुङमार्ग रहनेछन् । ‘पहिलो चरणमा काठमाडौं–पोखरा रेलमार्ग जोड्न खोजिएको हो,’ उनले भने, ‘त्यसपछि लुम्बिनी जोड्ने योजना छ ।’ यो रेलमार्ग निर्माण भएपछि काठमाडौंबाट तीन घण्टामा लुम्बिनी पुगिनेछ ।

गत असोजमा भएको चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणपछि दुई देशको संयुक्त विज्ञप्तिमा काठमाडौं–पोखरा र लुम्बिनी रेलमार्गको प्रक्रिया अघि बढाउने प्रतिबद्धता गरिएको थियो । ‘काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग परियोजनामा सहकार्य बढाउन दुवै पक्षले आफ्नो प्रतिबद्धता दोहोर्‍याए,’ संयुक्त विज्ञप्तिमा भनिएको छ । यो रुटको रेलमार्ग नेपाली जनताले हेर्न चाहेको राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षीसमक्ष बताएकी थिइन् । ‘रेलवे क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीको चाहना छिट्टै पूरा हुनेछ भन्नेमा हाम्रो विश्वास छ,’ सीका लागि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै उनले भनेकी थिइन् । चिनियाँ राष्ट्रपति सीले नेपाललाई ‘भूपरिवेष्टित’ बाट ‘भूजडित’ मुलुक बनाउने मुख्य माध्यम हिमालय सीमापार रेल हुने उल्लेख गरेका थिए । उनले केरुङ–काठमाडौं रेलमार्ग आफ्नो उच्च प्राथमिकतामा रहेको बताएका थिए ।

लामो समयदेखि चर्चामा रहेको काठमाडौं–केरुङ रेलमार्गको सम्भाव्यता अध्ययन चाँडो गराउन पनि पहल भइरहेको रेल विभागले जनाएको छ । डीपीआरसरह मानिने तर चीनले भन्ने गरेको सम्भाव्यता अध्ययनको कार्य अघि बढाउन गत मंसिरमा दुई देशका अधिकारीबीच ‘मिटिङ अफ माइन्युट’ तयार भइसकेको छ । ‘अब काम सुरु हुन धेरै ढिला नहोला,’ महानिर्देशक मिश्रले भने ।

काठमाडौं–केरुङ रेलमार्ग निर्माणमा करिब ३ खर्ब लाग्ने अनुमान छ । ७२ किमि दूरीको यो रेलमार्गमा ९८ प्रतिशत सुरुङ निर्माण गर्नुपर्ने पूर्वसम्भाव्यता अध्ययनले देखाएको छ । ‘पहाड धेरै भएकाले सुरुङको विकल्प नभएको हो,’ मिश्रले भने । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका बेला ७२ किमि दूरीको यो रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
समझदारीअनुसार कार्यप्रारम्भको विस्तृत माइन्युट दुई देशका अधिकारीबीच तयार भइसकेपछि पनि काम सुरु भएको छैन । अध्ययनका लागि चिनियाँ कम्पनी फर्स्ट सर्भे एन्ड डिजाइन अफ इन्स्टिच्युटलाई परामर्शदाताका रूपमा छानिएको मिश्रले जानकारी दिए । नेपाल–चीनबीच २०१८ जुन २१ मा यो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन गर्ने सम्झौता भएको थियो ।

टोखा–छहरे सुरुङमार्ग अध्ययन सुरु
काठमाडौं–केरुङ सडकमार्गलाई सुविधाजनक बनाउन गरिएको समझदारी पनि कार्यान्वयन चरणमा प्रवेश गरेको छ । चीनबाट आएको अर्को एक प्राविधिक टोलीले काठमाडौंको टोखादेखि नुवाकोटको छहरे जोड्ने सुरुङमार्गको पूर्वसम्भाव्यता अध्ययन थालेको छ ।

सुरुङमार्गका लागि आएको नौ सदस्यीय चिनियाँ विज्ञ टोलीले स्थलगत अध्ययन थालेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए । ‘टोली मंगलबार आएको हो, अहिले फिल्डमा काम गरिरहेको छ,’ उनले भने, ‘उनीहरूलाई सघाउन हाम्रो इन्जिनियरको टोली पनि साथै छ ।’

विज्ञ टोली एक महिनासम्म बस्ने उनले बताए । चीन सरकारले आफ्नै खर्चमा यो प्राविधिक अध्ययन गरिरहेको हो । टोलीले सुरुङमार्गको स्थलगत अवलोकन तथा प्राविधिक अध्ययन, तथ्यांक संकलन गर्ने र गल्छी–बालाजु सडक हेर्नेछ । बस्ती र पहाड सर्वेक्षण गर्ने योजना छ । यो सुरुङमार्ग सात किमिको रहने अनुमान छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणकै क्रममा यो सुरुङमार्गको सर्वेक्षण र त्यसपछि निर्माण गर्ने सम्झौता भएको थियो । यो सुरुङमार्ग निर्माण भएपछि काठमाडौंदेखि केरुङसम्म ४० किमि दूरी छोटिने अनुमान छ । अहिले काठमाडौंबाट केरुङ जान १२० किमि दूरी पार गर्नुपर्छ  ।

पूर्व–पश्चिम रेलमार्गको पुनः डीपीआर
नेपाल सरकारले नै अघि बढाइरहेको ९४५ किमिको पूर्व–पश्चिम विद्युतीय रेलमार्गको डीपीआर पुनः बनाउनुपर्ने भएको छ । सुरुको डीपीआरअनुसार पर्सा र चितवन राष्ट्रिय निकुञ्जबाट रेलमार्ग पर्ने भएपछि त्यसको विकल्पमा उक्त खण्डको १३६ किमि डीपीआर फेरि गर्नुपर्ने भएको हो । ‘निकुञ्जले गर्दा पहिलाको ट्र्याक परिवर्तन गर्नुपर्ने भयो,’ महानिर्देशक मिश्रले भने, ‘विस्तृत सम्भाव्यता अध्ययनका लागि सरकारबाट निर्णय भइसकेको छ ।’

सुरुको अध्ययनअनुसार बाराको सिमरा–पर्सा–चितवन निकुञ्ज हुँदै रेलमार्ग नवलपरासीको तमसरिया निकालिएको थियो । अब बाराको निजगढबाट हेटौंडा–भरतपुर हुँदै तमसरिया निकालिनेछ । ‘केही ठाउँमा सुरुङ निर्माण गर्नुपर्ने भएकाले पहिलाभन्दा लम्बाइ घटेको छ,’ मिश्रले भने । उनले डीपीआरका लागि सम्झौता भइसकेको पनि जानकारी दिए । अन्य खण्डको भने डीपीआर सकिएको छ । यो मार्गको महोत्तरीको बर्दिबासदेखि बाराको निजगढ खण्डमा काम भइरहेको छ । ७० किमिमध्ये ३५ किमिको काम सकिएको छ । ‘ट्र्याकबेल्ट निर्माणको काम सकिएको छ,’ महानिर्देशक मिश्रले भने, ‘केही पुल निर्माण भइसकेका छन् । केही निर्माणका क्रममा छन् ।’ यसैगरी भारतले ५ वटा सीमा क्षेत्रमा रेलमार्ग निर्माण गरिरहेको छ ।

Related Articles

Back to top button
Close