• बुधबार, मंसिर २६, २०८१
  • | December 11, 2024


एमसिसी कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बन्योस : अमेरिका


नेपाली अपडेट
सोमवार, फाल्गुन १६, २०७८
 

प्रतिनिधिसभाको आइतबारको बैठकबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुमोदन भएसँगै यो सम्झौता कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको अमेरिकाले बताएको छ । काठमाडौंस्थित अमेरिकी दुतावासले आइतबार बेलुकी जारी गरेको विज्ञप्तिमा एमसिसी अनुमोदन गर्ने संसदको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुने र विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनुका साथै ढुवानी खर्च घट्ने उल्लेख गरिएको छ ।

एमसिसीले २० वर्षको अवधिमा विभिन्न देशमा गरिबी निवारणमा मद्दत गरेकोसमेत उक्त विज्ञप्तिमा जनाइएको छ । ‘२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो ।

अब ५ वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ, दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सत्तारूढ गठबन्धनले एमसिसीबारे व्याख्यात्मक टिप्पणीसहित संसदबाट यो सम्झौता अनुमोदन गरेका थिए ।

एमसीसी नेपाल कम्प्याक्ट संसद्‌को अनुमोदनका सम्बन्धमा विज्ञप्ति:

५० करोड अमेरिकी डलरको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को नेपाल कम्प्याक्टलाई अनुमोदन गर्ने या नगर्ने भन्ने निर्णय सार्वभौम लोकतान्त्रिक राष्ट्रका रूपमा सधैं नेपाल सरकारको हातमा थियो। हस्ताक्षरित प्रतिबद्धतालाई पूरा गर्दै कम्प्याक्टलाई अनुमोदन गर्ने संसद्‌को आजको निर्णयका कारण नेपाली जनताका लागि थप रोजगारीको सिर्जना हुनेछ, विद्युत् सेवाको आपूर्तिमा वृद्धि हुनेछ र ढुवानीको खर्च घट्नेछ ।

झन्डै २० वर्षअघि एमसीसीको स्थापना भएयता पनि एमसीसी कम्प्याक्टहरूले विश्वभर नै गरिबी निवारणमा मद्दत गरेका छन् । आर्थिक स्वतन्त्रता, आफ्ना नागरिकमाथिको लगानी र लोकतान्त्रिक सिद्धान्तको प्रवर्द्धन तथा भ्रष्टाचार विरुद्धको लडाइँसहितको सुशासनप्रति कतिबद्ध विकासोन्मुख राष्ट्रहरूसँग साझेदारी गर्दै एमसीसीले कम्प्याक्ट सम्झौता गर्दछ ।

२ करोड ३० लाखभन्दा बढी नेपाली जनतालाई सहयोग गर्ने आशासहित नेपालका ऊर्जा र यातायातका क्षेत्रमा आधुनिकीकरण गर्ने लक्ष्य निर्धारण गरेपछि नेपाल सरकारले सन् २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हो । अब यस ५ वर्षीय कार्यक्रमको कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था बनेको छ ।

यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५औं वर्ष हो । यी ७५ वर्षमा नेपालमा विशाल र अपत्यारिला परिवर्तनहरू भएका छन् । यी परिवर्तनमा हामी नेपालको साथमा उभिएका छौं र हामीले नेपाललाई विकास सहायता, विपद् प्रतिकार्य तथा पूर्वतयारी सहयोग, शिक्षा र स्वास्थ्य कार्यक्रमहरूका साथै थप माध्यमबाट मद्दत गरेका छौं ।

अमेरिका र नेपालबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलो छ। हामी नेपाल र नेपालको लोकतान्त्रिक मूल्यमान्यता तथा दीर्घकालीन आर्थिक समृद्धिलाई निरन्तर रूपमा समर्थन गर्नेछौं ।

प्रकाशित भएको : February 28th, 2022

सम्वन्धित समाचारहरु