• आइतवार, जेष्ठ ६, २०८१
  • | May 19, 2024


खोटाङमा गठबन्धन र एमाले बीच प्रतिस्पर्धा


नेपाली अपडेट
मङ्लबार, कार्तिक २९, २०७९
 

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले ) का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले) बाट विशाल भट्टराई उम्मेदवार छन् । वि.सं. २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२) बाट राई निर्वाचित भएका थिए ।

वि.सं. २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई वि.सं.२०७० र २०७४ मा विजयी भएका थिए । प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभा (१) मा स्वतन्त्रसहित ८–८ तथा प्रदेशसभा (२) मा छ नेता चुनावी मैदानमा उत्रीएका छन् । १ लाख ४२ हजार ७ सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा ८ स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार ५ सय १३ मत छ ।

एमालेको २८ हजार ७ सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१)मा कांग्रेस १६ हजार ९ सय ३४, माओवादी केन्द्रको ८ हजार ४ सय २४ र एकीकृत समाजवादीको १ हजार १ सय २६ गरी गठबन्धनको २६ हजार ४ सय ८४ मत छ । एमालेको १३ हजार २ सय ५९ मात्र छ ।

स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ । माओवादीको १० हजार ३ सय १२, कांग्रेसको ९ हजार छ सय ९९ र एकीकृत समाजवादीको १ हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार ५ सय ३७ मत छ ।

प्रकाशित भएको : November 15th, 2022

सम्वन्धित समाचारहरु