• मङ्लबार, चैत्र ६, २०८०
  • | March 19, 2024


नेपालमा बुबाको पथ पछ्याउँदै टोनी हेगनकी छोरी


नेपाली अपडेट
सोमवार, मंसिर १९, २०७९
 

मङ्सिर ४ को चुनावको पाँच दिनअघि काठमाडौँको एक होटलमा भेट्दा डा क्याट्रिन रोल्पा जाने तयारीमा हुनुहुन्थ्यो । यसपालि पनि उहाँको उही काम थियो निःशुल्क स्वास्थ्य शिविर । हाडजोर्नीसम्बन्धी विशेषज्ञ ७४ वर्षीया उहाँ बर्सेनि नेपाल आउनुुहुन्छ, यहाँका कुनाकन्दरामा पुग्नुहुन्छ, स्वास्थ्य शिविर राख्नुहुन्छ र विशेषगरी उहाँको विशेषज्ञताको हाडजोर्नीसम्बन्धी निःशुल्क उपचार दिनुहुन्छ । नेपाल कति पटक आउनुभयो ? हाम्रो प्रश्नमा उहाँको जवाफ थियो, “गन्ती गरेको छैन, खोइ थाहा छैन । त्यस्तै ४० पटकभन्दा बढी त भयो होला । यस वर्ष उहाँ नेपाल आएको यो तेस्रो पटक हो ।

पछिल्लो समय बुबाको नेपाल चिनाउने काम, नेपालका दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क उपचार अनि समय भएमा पदयात्राका लागि नेपाल आइरहेकी छु । चार वर्षकी हुँदा सन् १९५२ मा उहाँ नेपाल आउनुभएको रहेछ, बुबासँग “तर धेरै सम्झना छैन, चार वर्षकि थिएँ । यति सम्झिन्छु कि त्यतिबेला नेपालमा विमानस्थल थिएन । कताकति मात्र शौचालय थिए, । बडो कठिन थियो यहाँको यातायात र नेपालीको जीवनशैली पनि ।” उहाँका बुबाअर्थात् टोनी हेगन । नेपाललाई संसारमा चिनाएको यो नामलाई सायद नेपालमा चिनाइरहनु पर्दैन होला ।

टोनी हेगेन सम्भवतः नेपालकै पहिलो पर्यटकका रुपमा सन् १९५० मा यहाँ आउनुभएको थियो । नेपालमा विमानस्थल नभएकाले उहाँ कलकत्तासम्म जहाजमा आएर यहाँ आउनुभएको रहेछ । त्यसपछि आफूलाई नेपालको सौन्दर्यले तानेको कुरा उहाँले नेपाललाई भन्दा बाहिरको संसारलाई बढी सुनाउनुभएको छ । प्रायः यहाँकै हिमाल, पहाड र खोल्सातिर भेटिनुहुने टोनीले औषत नेपालीले भन्दा धेरै नेपाल घुम्नुभएको छ । उहाँलाई नेपालको पहिलो र सर्वाधिक पदयात्रा गरेको विदेशीभन्दा गल्ती हुँदैन ।  सन् १९५० मा स्वीस् सहयोग परियोजनाका क्रममा नेपाल आएका उहाँ नेपालको भूगोल र सौन्दर्यसँग नेपालीभन्दा नजिक रहनुभयो ।

नेपालको करिब १४ हजार किलोमिटर पैदलैयात्रा गर्नुभएका उहाँले नेपाल सम्भवत सबै पर्यटकभन्दा बढी पैदलै हिँड्नुभएको छ । नेपालको भौगोलिक अवस्था एवं हिमालयन क्षेत्रको जैविक विविधताका साथै नेपाली जीवनशैली, परम्परा एवं यहाँको जातीय विविधतालाई उहाँले नेपाल बाहिरसम्म पुर्‍याइदिनुभएको छ । नेपाली पर्यटन क्षेत्रले सम्मान गर्ने उहाँले तयार गरेको ‘नेपाल’ नामक पुस्तकले नेपालको भौगोलिक, पर्यटकीय र अनेक जीवनशैलीका बहुआयामिक पक्षलाई समेट्छ । उहाँले हाम्रो हिमाल र हिमाली पर्यटकीय विशेषताका साथै अनेक सांस्कृतिक पक्षलाई समेटेर तयार गरेका वृत्तचित्रले नेपाल बाहिर नेपाल चिनाउन निकै सघाएको छ ।

उहाँका यिनै योगदानका कारण नेपालले उहाँलाई नेपालको मानार्थ नागरिकता प्रदान गरेको थियो । आधा जति बुबाको नेपाल प्रेमलाई उजागर गर्न र आधा आफँैले स्वास्थ्योपचार उपलब्ध गराउन आफू नेपाल आउने गरेको क्याट्रिन हेगन बताउनुहुन्छ । हाडजोर्नीकी सर्जन उहाँले स्वीट्जरल्याण्डमा खोलेको टोनी हेगेन फाउन्डेसनले नेपालमा मात्र काम गर्छ । “बुबाले माया गरेको र बुबालाई सम्मान गरेको देश नेपाल । मलाई वर्षमा एक पटक मात्र यहाँ आएर पुग्दैन, आइरहन मन लाग्छ”, क्याटरिनले भन्नुभयो ।

उहाँ नेपालका कैयौँ जिल्लामा स्वास्थ्य शिविर राख्ने, असहाय तथा स्वास्थ्योपचारको पहुँचसम्म पुग्न नसक्ने दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क स्वस्थ्य सेवा उपलब्ध गराउने गर्नुहुन्छ । नेपालका लागि बुबाले गरेका कामलाई पूर्णता दिने आफ्नो काम ठान्नुहुन्छ डा क्याट्रिन । “नेपालका बारेमा बुबाका धेरै अनुसन्धान छन् तिनलाई अझै धेरै विस्तार गर्ने मेरो सोच छ । फाउन्डेसनबाट तिनलाई पूर्णता दिन्छु । टोनीले नेपालमा खिचेका तस्बीरको प्रदर्शनी फाउन्डेसनले गत वर्ष नेपालमा गरेको थियो । नेपालमा उहाँका कामकारबाहीलाई उजागर गर्न यतिले मात्र पुग्दैन भन्ने लाग्छ ।

उहाँका सङ्ग्रह अध्ययन गर्दा नेपालको पर्यटकीय विकासका लागि भावी दिनमा धेरै सहयोग पुग्ने मलाई लाग्छ”, उहाँ भन्नुहुन्छ । नेपाल चिनाउन अहिले कतैकतै प्रयोगमा आउने पुराना तस्बीर एवं दृश्यहरु प्रायः टोनीकै नेपाल पुस्तक एवं डकुमेन्ट्रीबाट लिइएको पाइन्छ । क्याट्रिन भन्नुहुन्छ, “महत्वपूर्ण तस्बरीहरु छन् नेपालको हिमाली तथा अन्य क्षेत्रका । ग्ल्यासिएरहरु पग्लिँदै गरेका कैयौँ महत्वपूर्ण तस्बीरहरु उहाँको एल्बममा छन्, तिनको अध्ययन मात्र पनि नेपालमा जलवायु परिवर्तनको विषयका अनुसन्धानदातालाई सहयोग पुग्छ भन्ने मलाई लाग्दछ । उबेलाका कतिपय हिमाली टाकुरा, हिमनदी तथा हिमताल अहिले पग्लिएर अर्कै स्वरुपमा परिवर्तन आएको पनि हुनसक्छ ।

यसबाट हिमालयन जैविक विविधताको अध्ययनमा सहयोग पुग्न सक्छ । यस्तै पक्षहरुलाई उजागर गर्ने काम हामीले गरिरहेका छौँ । उहाँले लिएका नेपालका विविध क्षेत्र र शैलीका तस्बीरहरुको प्रदर्शनी पनि नेपालमा गरेका थियौँ । यसबाट पनि नेपालका अनुसन्धानदातालाई उहिलेको नेपाल अध्ययनमा सहयोग पुग्नसक्छ ।” बुबाजस्तै उहाँले पनि नेपालका अधिकांश पदमात्रामा यात्रा गर्नुभएको छ । नेपालको हिमाल, पहाड र तराईकै ज्ञान छ उहाँलाई । “पदयात्रा भनेको हिँडाइ मात्र नभएर त्यस क्षेत्रको समग्र अध्ययन हो । कुनै पनि पदमार्गबाट हामी हिँड्याँै भने हामीले त्यस क्षेत्रको खेतीबाली, मानिसको जीवनशैली तथा त्यहाँको बस्ती र उनीहरुका परम्पराको पनि अध्ययन गर्नसक्छौँ ।

साथै मानिसको खानपान र उनीहरुका दैनिकीको बारेमा अनुुसन्धान निकै चाखलाग्दो विषय हो । नेपालका विविध क्षेत्रको भ्रमणका क्रममा मलाई त यस्ता विषयको अनुसन्धान गर्न मनपर्छ”, उहाँ भन्नुहुन्छ । टोनीलाई नेपाल बहुजाति, बहुधर्म र संस्कृति भएर पनि कसरी मिलेर बसेको भन्ने बारेमा आश्चर्य लाग्थ्यो रे । बुबासँग आफूले नेपालका बारेमा धेरै सुनेको र जानेको बताउँदै उहाँले नेपालको जातीय तथा भौगोलिक विविधताका बीचमा पनि नेपाली नागरिक एकापसमा सहयोगी भावनाका साथ मिलेर बसेको पक्षको सधैँ प्रशंसा गर्ने गर्नुहुन्थ्यो भन्नुहुन्छ ।

क्याट्रिन भन्नुहुन्छ, त्यसैले मलाई पनि नेपालको यो पक्षको अध्ययन खुब मन पर्छ । म पदयात्रामा जाँदा होस् या स्वास्थ्य शिविरका क्रममा नेपालाका विभिन्न जिल्लामा जाँदा यस विषयमा जान्न मनपर्छ । उहाँ चिकित्सक भएर होला उहाँलाई अर्गानिक कृषि उत्पादन मनपर्छ । स्वीट्जरल्याण्ड आफ्नो घरमा पनि आफू अर्गानिक तरकारी खेती गर्ने बताउनुहुन्छ । अर्गानिक आलु उत्पादन फार्म रहेको उहाँ बताउनुहुन्छ । समय मिल्यो कि आफूलाई खेतीको काम मनपर्ने बताउने उहाँले धेरै उत्पादनका लागि विश्वमै पछिल्लो समयमा प्रयोग गरिने विषादीका कारण विविध खालका रोगको प्रकोप बढेकाले मौलिक र अर्गानिक उत्पादनमा सबैले ध्यान दिनुपर्ने सुझाव दिनुहुन्छ ।

नेपालका विभिन्न क्षेत्रमा पदयात्रामा जाँदा पनि उहाँले त्यस क्षेत्रका अर्गानिक उत्पादन किन्ने गर्नुहुन्छ । “पदयात्रा शारीरिक तन्दुरुस्ती, नयाँ ठाउँको परिचय र मनोञ्जन हो तर त्यतिमात्र होइन पदयात्रा । पदयात्राभित्र लुकेको मेरो एउटा उद्देश्य त्यहाँका अर्गानिक कृषिउपज खाने र आफूले किनेर पनि ल्याउने हो । ती उत्पादन मैले किनीदिन्छु र किसानलाई अर्गानिक खानाको महत्वका बारेमा पनि भनिदिन्छु । त्यसपछि म अर्को पटक त्यही ठाउँमा पुग्दा त्यहाँ धेरै उत्पादन गरेको पाउँछु, त्यो देखेर निकै खुसी लाग्छ”, क्याट्रिन भन्नुहुन्छ ।

नेपालका हिमाल पहाडका स्वच्छ ठाउँमा समेत प्लास्टिक फालेको देख्दा उहाँलाई साह्रै नराम्रो लाग्छ । पदयात्राका क्रममा पनि कतै प्लास्टिकका बोटल, झोला आदि फालिएको देखिने बताउँदै उहाँले अर्गानिक उत्पादन गर्न सकिने माटोलाई प्लास्टिकले धेरै बिगार्नेहुँदा देशलाई प्लास्टिकमुक्त गराउनुपर्ने सुझाव दिनुहुन्छ । कुनै पदयात्रा होस् या पर्यटकीय क्षेत्र, त्यहाँका स्थानीयको संलग्नता होस र उनीहरुलाई प्रत्यक्ष लाभ पुगोस् भन्ने उहाँ चाहनुहुन्छ । “हुम्ला, मानसरोवरमा मैले एकपटक देखँे कि विदेशी पर्यटक हेलिकप्टरमा आए र गए । स्थानीयले के पाए त रु यस्ता पर्यटक पुग्ने स्थानमा पूर्वाधार निर्माण होउन्, त्यहीँका स्थानीयको संलग्नता होस् र उनीहरुका स्थानीय उपज खपत हुन् ।

पर्यटनको दिगो विकास भनेको यही हो । स्थानीयको सहभागिता र उनीहरुले पाउन सक्ने लाभ बिना पर्यटनमात्र होइन कुनै पनि क्षेत्रको दिगो विकास सम्भव छैन । विकास त होला कुनै निश्चित समयावधिमा, तर त्यसको दिगोपना हुदैन”, उहाँको भनाइ छ । नेपाल धेरै परिवर्तन भएको देख्दा आफूलाई निकै खुसी लाग्ने उहाँ बताउनुहुन्छ । पहिले बुबासँग नेपाल आउँदा देखेको नेपाल अहिले देख्दा अचम्म मान्नुहुन्छ उहाँ । “कति धेरै फरक भइसक्यो । उ बेला नेपालमा चर्पी थिएन, मलाई लाग्छ बनाउने चलन पनि थिएन होला । बालिका, महिला अहिले कति शिक्षित भइसके । राज्यका विभिन्न तथा महत्वपूर्ण निकायमा महिला पुगेका छन् ।

स्कूल कलेज गाउँगाउँमा छन् । सरसफाइ छ । बाटोघाटो पुगेको छ”, पचास वर्षअघिको नेपाल सम्झिँदै उहाँ भन्नुहुन्छ तर पनि कतिपय ग्रामीण क्षेत्रमा भने अझै पनि चेतनाको स्तरलाई बढाउनुपर्ने उहाँ महसुस गर्नुहुन्छ । तीन वर्षअघि दार्चुलाको घटना सम्झिँदै भन्नुयभो “एकजना चार वर्षीय बालकको खुट्टा पोलेको थियो र ठूलो घाउ थियो । मैले काठमाडौँ लैजान्छौँ, निःशुल्क उपचार पनि गर्छौंभन्दा पनि बुबाआमा र आफन्तले मानेनन् । घरायसी उपचारले नै ठीक हुन्छ भने । बालकको खुट्टा बिग्रिन्छभन्दा पनि मानेनन् ।

काठमाडौँ आउन जान टाढा हुने तथा घरमा गाईबस्तु हेर्ने मान्छे पनि कोही नहुने भनेर उनीहरु मानेनन् । यो घटनाले मलाई छोइरहन्छ । मानिसले आफ्नो स्वास्थ्यलाई महत्व दिउन् भन्ने लाग्छ ।”आफ्नो जन्मघर स्वीट्जरल्याण्ड भए पनि बुबाजस्तै आफूले नेपाललाई कर्मघर बनाउने उहाँ बताउनुहुन्छ । हुन पनि उहाँ नेपाल जति अरु देश घुम्नुभएको छैन अनि टोनी हेगन फाउन्डेसनको कार्यक्रम पनि नेपालबाहेक अन्यत्र छैन । भन्नुहुन्छ “नेपाल त प्रकृतिले नै वरदानस्वरुप दिएको देश हो, जति पटक आयो त्यति नै राम्रो र झन नयाँ लाग्छ ।”

प्रकाशित भएको : December 5th, 2022

सम्वन्धित समाचारहरु