प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही फागुन १९ गते शुक्रबार कतारको दोहा जाने भएका छन् । अतिकम विकसित मुलुकहरु (एलडिसिज) को सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड कतार जाने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सम्मेलनका क्रममा संयुक्त राष्ट्र सङ्घका केही कार्यक्रम र साइडलाइन बैठक र द्विपक्षीय बैठकमा सहभागी हुने पनि तयारी छ । दोहामा रहँदा प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने कार्यक्रम र नेपाली समुदायसँगको कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।
फागुन २० गते एलडिसिजको अध्यक्ष राष्ट्र मलावीले आयोजना गर्ने सम्मेलनलाई प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने तयारी छ । सम्मेलनको ‘जनलर डिबेट’का क्रममा प्रधानमन्त्री दाहालले २६ औं वक्ताका रुपमा राष्ट्रिय सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नेपाली प्रतिनिधिमण्डलले अतिकम विकसित मुलुकबाट स्तरोन्नतिमा रहेका नेपाल, बङ्गलादेश र लाओसबीच हुने साइड इभेन्टमा समेत सहभागिता जनाउनेछ । प्रधानमन्त्री दाहाल फागुन २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।