• आइतवार, बैशाख २३, २०८१
  • | May 5, 2024


महिला विभेदविरुद्ध नारी जागरण आजको आवश्यकता : सभापति शेरबहादुर देउवा


नेपाली अपडेट
बुधबार, फाल्गुन २४, २०७९
 

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता भएको बताएका छन् । १ सय १३औं अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदी बहिनीमा शुभकामना व्यक्त गर्दै उनले महिला दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नसकेको उल्लेख गरेका छन् ।

‘सहरदेखि दूरदराजका गाउँमा महिला आज पनि शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिलामाथि हुने विभेद र हिंसाविरुद्ध नारी जागरण आजको आवश्यकता हो’, सभापति देउवाको शुभकामना सन्देशमा उल्लेख छ । हिंसा लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा भएको उल्लेख गर्दै सभापति देउवाले हिंसा मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधकसमेत भएको र सामाजिक एकता तथा सद्भावलाई कमजोर बनाउने कारण पनि भएको उल्लेख गरे ।

कांग्रेस सबै किसिमका हिंसाको अन्त्य चाहन्छ भन्दै उनले महिलाविरुद्ध हुने सबैखाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन दिवसले सहयोग पुर्‍याउने उनले विश्वास व्यक्त गरेका छन् । सभापति देउवाले नेपालमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका हरेक आन्दोलनमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदीबहिनीले आफ्नो प्राणको आहुति गरेको उल्लेख गर्दै उनीहरुप्रति उच्च सम्मान प्रकट गरेका छन् ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण र सम्बद्र्धनका लागि महिला दिदी बहिनीको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहने विश्वास लिँदै उनले दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित भएको : March 8th, 2023

सम्वन्धित समाचारहरु