• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


८ महिनामा ५ लाख ६१ हजार सवारी साधन कारबाहीमा


नेपाली अपडेट
मङ्लबार, चैत्र ७, २०७९
 

काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५ लाख ६१ हजार ३ सय ७५ सवारी साधन कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ८ महिनामा ट्राफिक नियम उल्लङ्घन गरेको अभियोगमा उक्त सवारी साधनलाई कारबाही गरेको हो ।

कार्यालयका अनुसार सबैभन्दा बढी सवारी अड्याउन निषेध गरेको ठाउँमा सवारी राखेको कसुरमा ८८ हजार ४ सय ७२ सवारीसाधन कारबाहीमा परेका छन् । यस्तै बढी भाडा लिने २ हजार १ सय ९०, सवारीचालक अनुमतिपत्र प्राप्त नगरेका ३६ हजार ३ सय ४०, हदभन्दा बढी मानिस वा सामान बोक्ने १३ हजार ५ सय ९, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने ३७ हजार ८ सय ९६ सवारी कारबाहीमा परेका छन् ।

यसैगरी क्षमताभन्दा बढी यात्रु बोक्ने २ हजार ४५, रेड लाइटमा सवारी चलाउने १६ हजार ९ सय ६८, सवारी मोड्न निषेध गरेको ठाउँमा सवारी मोड्ने १५ हजार २ सय ५९, लेन अनुशासन उल्लङ्घन गर्ने १९ हजार ८ सय १७, वानवेमा सवारी चलाउने २१ हजार १ सय २३, अवस्था ठीक नभएका सवारी चलाउने २८ हजार ८ सय ९९, सवारी चलाउन निषेध गरिएको ठाउँ र समयमा सवारी चलाउने १६ हजार २ सय ४७ सवारीलाई कारबाही गरेको हो ।

पेटी र हेल्मेट नबाँधी सवारीसाधन चलाउने २१ हजार ९ सय ८१, लापरवाही साथ सवारी चलाउने ७२ हजार १ सय ४४, कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ४४ हजार ३८, सवारी वजन हद निर्धारण गरेको क्षेत्रमा बढी वजनको सवारी चलाउने २० हजार ६ सय ६५, जथाभावी हर्न बजाउने १२ हजार ६ सय २२, सार्वजनिक स्थानमा बाधा पुग्ने गरी सवारी राख्ने ३७ हजार २ सय ६५ र ओभर स्पिडमा सवारी चलाउने २५ हजार ७ सय ८२ सवारीसाधन कारबाहीमा परेका छन् ।

कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले पछिल्लो समय उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले विशेष निगरानी बढाउँदै आएको जानकारी दिए । ‘ट्राफिक नियम उल्लङ्घन गर्दा दुर्घटनाको सङ्ख्या बढेकाले हामीले यसलाई विशेष कडाइ गरेका हौं,’ उनले भने ।

हाल काठमाडौं उपत्यकाभित्र २० लाख हाराहारीमा सवारीसाधन आवतजावत हुँदै आएको जनाइएको छ । उक्त सवारीसाधन व्यवस्थापनका लागि काठमाडौं उपत्यका ट्राफिक कार्यालयबाट १ हजार ७ सय ट्राफिक प्रहरी परिचालन हुँदै आएको छ ।

प्रकाशित भएको : March 21st, 2023

सम्वन्धित समाचारहरु