• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि गड्डाचौकी नाकामा कडाइ


नेपाली अपडेट
शुक्रबार, चैत्र १७, २०७९
 

भारतको विभिन्न ठाउँबाट कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीहुँदै घर फर्किनेमा कोरोना सङ्क्रमण देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार भारतबाट फर्किनेमा दैनिक कोरोना सङ्क्रमण देखिन थालेको हो ।

‘भारतबाट आएका दुई जनामा सङ्क्रमण देखिएको छ,’ जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकृष्ण पन्तले भने, ‘पछिल्लो समय भारतमा सङ्क्रमण बढ्न थालेपछि घर फर्किने नेपालीमा पनि सङ्क्रमण देखिन थालेको छ ।’ सङ्क्रमण फैलिन थालेपछि स्वास्थ्य कार्यालयले शुक्रबारदेखि जिल्लामा कोभिड–१९ विरुद्धको खोपको तेस्रो र चौथो मात्रा दिइँदै छ ।

‘अहिले एक–दुई जनामा सङ्क्रमण देखिन थालेको छ,’ पन्तले भने– ‘यहाँ कोभिड–१९ विरुद्धको खोप लगाउने संख्या धेरै कम छ ।’ कोभिड–१९ महामारीविरुद्ध लड्न खोप लगाउनु आवश्यक रहेको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन सिद्धराज भट्टले कञ्चनपुरमा कोरोनाको तेस्रो र चौथो मात्राको खोपका लागि ५० हजार डोज आएको जानकारी दिए । प्राथमिकताका आधारमा खोप लगाइने उनले बताए ।

‘अहिले सीमानाकामा भारतबाट आउनेको एन्टिजेन परिक्षण गरिरहेका छौँ,’ उनले भने– ‘आजदेखि जिल्लाका सबै पालिकामा बुस्टरडोज लगाउने अभियान सुरु हुँदैछ ।’ नयाँ वर्ष नजिकिँदै गर्दा भारतबाट घर फर्किनेको संख्या बढ्न थालेको छ । नयाँ वर्ष मनाउन फर्किनेको सङ्ख्या बढेपछि नाकामा एन्टीजेन परीक्षणमा कडाइ गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कञ्चनपुरमा ४८.३० प्रतिशतले खोप लगाएका छन । ४ लाख ४ हजार ५ सय ४५ जनाले कोरोनाविरुद्धको खोपको पहिलो मात्रा तथा ३ लाख ६४ हजार ७ सय ८५ जनाले दोस्रो मात्रा लगाएका छन । त्यसैगरी २ लाख १६ हजार ६ सय ६७ जनाले खोपको तेस्रो मात्रा लगाएका छन् । ‘खोपको पहिलो मात्रा लगाउने धेरै छन् । त्यसपछि खोप लगाउनेको सङ्ख्या घटेको छ,’ पन्तले भने ।

प्रकाशित भएको : March 31st, 2023

सम्वन्धित समाचारहरु