• बुधबार, बैशाख १२, २०८१
  • | April 24, 2024


पोखरा हङकङ बजारका व्यवसायीहरू आन्दोलित


नेपाली अपडेट
शनिबार, जेष्ठ २०, २०८०
 

पोखरा । पोखरा पृथ्वीचोकमा स्थापित पोखरा हङकङ बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरू आफूलाई सरकारले विस्थापित गर्न लागेको भन्दै आन्दोलित भएका छन् ।
सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले आफ्नो स्वामित्वको उक्त जग्गा न्यूनतम मासिक १२ लाख १५ हजार रुपैयाँ भाडामा दिन सिलबन्दी बोलपत्र आह्वान गरेपछि व्यापारीहरू आन्दोलित भएको हङकङ बजार व्यवस्थापन समितिका सहसचिव ठाकुर लामिछानेले बताए ।

७ रोपनी क्षेत्रफलमा फैलिएको यो जग्गा यसअघि भाडामा लिई बजार सञ्चालन गरिरहेका नन्दप्रसाद तिवारीका छोरा मीलनप्रसाद तिवारीले लिमिटेडलाई मासिक २ लाख २४ हजार ५ सय १० रुपैयाँ तिर्दै आएको पोखरा हङकङ बजार व्यवस्थापन समितिका सहसचिवले बताए । तिवारीसँगको करार अवधि सकिएको र नयाँ करारका लागि गएको चैत्र २१ गते गोरखापत्र दैनिकमा ३१ दिने अवधिको बोलपत्रको सुचनाकृषि सामग्री कम्पनिलिमिटेडले आह्वान गरेको हो ।
काठमाडौंस्थित कुलेश्वरमा रहेको लिमिटेडको केन्द्रीय कार्यालयमा समेत समितिले एक पत्र लेखी आह्वान गरिएको टेन्डरले व्यवसायीहरु विस्थापित हुने जनाउँदै त्यसलाई खारेज गर्न माग गरेका छन् ।

लिमिटेडको प्रादेशिक कार्यालय, पोखरा महानगरपालिका कार्यालय वा समिति स्वयं मार्फत् विना विचौलिया प्रत्यक्ष बजार सञ्चालन हुनुपर्ने र भाडा पनि अस्वभाविक र असन्तुलित नभई न्यायोचित हुनुपर्ने समितिको माग छ । आंफूहरू भाडा तिर्न तयार रहेको तर बोलपत्रमार्फत् नयाँ विचौलिया प्रवेश गराइए पुनः फुटपाथमै फर्कन बाध्य हुने र संघर्षका कार्यक्रममा उत्रने समितिकी अध्यक्ष कृष्णकुमारी गुरुङले चेतावनी दिइन् । यस्तो विषयको बोधार्थ समितिले विभिन्न १५ वटा सरकारी तथा गैरसरकारी संस्थामा समेत बुझाइएको उनले जानकारी दिइन् ।
शिलबन्दी बोलपत्र आह्वान गरिएपछि आफू साना व्यापारी निराश र आतंकित भएको उनीहरूले जनाएका छन् । साना व्यावसायीहरूले साविक न्यूनतम भाडा समेत तिर्न नसकेको कारण कैयौं व्यावसायीहरू विस्थापित भई सकेको अवस्थामा भाडा वृद्धिले व्यापारीहरूमाथि ठूलो अन्याय हुने समितिका संस्थापक अध्यक्ष दिलीप सुनारले बताए । हङकङ बजारमा व्यवसायीले उपभोक्तालाई पोखराका अन्य पसल र बजारको दररेट भन्दा सस्तोमा वस्तु तथा सेवा उपलब्ध गराउँदै आएको र नयाँ बोलपत्र लागु भए उपभोक्ता समेत मारमा पर्ने व्यवसायीको तर्क छ ।

 

पोखरा । पोखरा महानगर क्षेत्रभित्र छरिएर रहेका फुटपाथ व्यवसायीहरूलाई व्यवस्थित गर्ने प्रयास स्वरुप २०६५ सालको फागुन १० र १५ गते महानगरको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ, विभिन्न सुरक्षा निकाय, कास्की जिल्लामा क्रियाशिल राजनैतिक दलका प्रतिनिधीहरू, मानव अधिकारवादी विभिन्न संघ–संस्था, फुटपाथ व्यवसायीहरूका प्रतिनिधीहरू र पत्रकारहरूको रोहवरमा बैठक बसी उल्लेखित जग्गामा बजार सञ्चालन सुरु भएको हो । उक्त जग्गामा हाल ३ सय १० स्टल र उक्त जग्गा सँगै रहेको उत्तरतर्फको पोखरा उपत्यका नगर विकास समितिको करिब ३ रोपनी जग्गामा ५३ स्टल गरी १० रोपनी जग्गामा बजार सञ्चालन हुँदै पोखरा हङकङ बजार व्यवस्थापन समितिका संरक्षक राजकुमार सुवेदीले हामिलाई बताए ।

प्रकाशित भएको : June 3rd, 2023

सम्वन्धित समाचारहरु