असार ३०, काठमाडौँ । जवाफदेहिता र सुशासनयुक्त समाज निर्माणको उद्देश्यसहित सूचनाको हकका लागि समुदाय जागरण अभियान बौद्धबाट सुरू भएको छ ।
सूचनाको हकका लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौँ तथा उपत्यका प्रदेश समितिको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त्य गरौँ भन्ने मूल नाराका साथ अभियानको शुभारम्भ गरिएको छ । उक्त अभियानका गोकर्णेश्वर नगरपालिकाको जोरपाटीचोकबाट पदयात्रा गर्दै बौद्ध स्तूप परिसरमा आएर कोणसभामा परिणत भएको थियो । सार्वजनिक निकायबाट आम नागरिकलाई पाउनुपर्ने सूचनालाई सहज बनाउन दबाबसहित सूचना हकको प्रयोग गरी भ्रष्टाचारको अन्त्य गर्नका लागि नागरिक सचेतना गराउने उद्देश्यले अभियानको आरम्भ गरेको बताएको छ ।
अभियानको बारेमा प्रकाश पार्दै जिल्ला महासंघका अध्यक्ष पूर्णप्रसाद मिश्रले समुदाय जागरण अभियान सूचनाको हकका लागि राष्ट्रिय महासंघले सर्वसाधारण नागरिकलाई सुसूचीत गर्न संचालन गरेको बताए । बौद्धबाट सुरू भएको अभियान काठमाडौँ जिल्लाका ११ वटै स्थानीय तहमा सञ्चालन गरिने बताए ।
कार्यक्रम संयोजक भीम लामाले अभियानलाई सफल पार्न महत्वपूर्ण सहभागीता जनाउने क्रियटिभ सरसफाई प्रा.लि., तराना महिला विकास समिति, गौरीशंकर महिला समाज, शुभ विहानी महिला समूह लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधि, नेपाल प्रहरी, सञ्चारकमीलाई धन्यवाद दिदै सार्वजनिक चासोको विषयमा सूचना माग्ने र सार्वजनिक गर्ने गराउने बानीको विकास गर्न आग्रह गरे । विकास र परिवर्तनको मुख्य आधार नै सूचना भएकोले सार्वजनिक निकायबाट सहज रूपमा आम नागरिकले सूचना पाउनुपर्ने बताए ।