• शनिबार, बैशाख ८, २०८१
  • | April 20, 2024


साहसी सन्तोष, जसले त्रिशूलीमा बगिरहेकी युवतीलाई बचाए


नेपाली अपडेट
बुधबार, पुस १६, २०७६
 

१६ पौष २०७६ बुधबार

गत मंसिर २२ गते आइतबार दिउँसो २ बजे मुग्लिङस्थित आर्क ब्रिजबाट एक युवती त्रिशूली नदीमा हाम फालिन् । पुलको पारी पट्टी रहेको पुरानो मर्स्याङ्दी फ्रेस फिस रेष्टुरेण्टको छतमा बसेका एक युवकले युवती हाम फालेको देखे । उनी चिच्याए ।

युवकको चिच्याहट त्यही रेष्टुरेन्टमा ‘ट्राफिक’को काम गर्ने सन्तोष गुरुङले सुने र दौडिएर रेष्टुरेण्टको बार्दलीबाट नदीमा हेरे । युवती बग्दै गरेको देखियो । उनीसँगै रेष्टुरेण्टमा रहेका ग्राहकहरु पनि हेर्न आए ।
यत्तिकैमा होटल सञ्चालक (नातामा काका पर्नेे) ले सन्तोषलाई भने– ‘दौडी केटा’ । सन्तोष पनि थप केही नसोची पुरानो सडक पुलको बाटो हुँदै नदी बगेको धारतिर दौडिए । सबै मानिस युवती बगेको रमिता हेर्दै थिए, तर सन्तोष किनारै किनार ५ सय मिटर दौडिएर युवती नजिक पुगिसकेका थिए ।

युवतीलाई समाउन सक्ने ठाउँमा पुगेपछि सन्तोषले खल्तीको मोबाइल बगरमा मिल्काए र नदीमा फाल हाने । युवतीलाई च्याप्प समाएर बगरमा ल्याए । बगरमै सुताएर पेट थिचिदिए, ताकि निलेको पानी निक्लियोस् । युवतीको हात र पाइताला मालिस गरे । युवतीले ‘ऐया…’ भनिन् ।

‘श्वास छँदै उद्धार गर्न पाइयो,’ सन्तोष हर्षित मुद्रामा भन्छन् ।

उनले नदीबाट निकालेको १०/१५ मिनेटमा अरु साथीहरु र प्रहरी घटनास्थलमा आइपुगे । युवतीलाई तुरुन्तै उपचारका लागि अस्पताल पठाइयो ।

तनहुँको आँबुखैरेनीस्थित छिम्केश्वरी जनरल अस्पतालमा प्राथमिक उपचारपछि युवतीलाई उनको आमासँग समन्वय गरेर काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक बुद्धी सुवेदीले अनलाइनखबरलाई बताए ।

गोरखा स्थायी घर भएका युवतीको परिवार अहिले काठमाडौं बस्दै आएको आँबुखैरेनी प्रहरीले जनाएको छ । युवती अहिले परिवारसँगै छिन् । घटनाको प्रत्यक्षदर्शी र युवती उद्धारको सबै जस सन्तोस गुरुङलाई नै जाने प्रहरीले निरीक्षक सुवेदी बताउँछन् ।

‘हामीले अस्पतालसम्म ल्याउने र परिवारलाई समन्वय गर्ने काम गर्‍यौं,’ उनले भने ।

‘बचाउँछु भनेरै नदीमा हामफालें’

धादिङ नीलकण्ठ नगरपालिका १ हिलेखर्क घर भएका २० वर्षीय सन्तोष पौडिन सिपालु छन् । पौडी खेलेको अनुभवले गर्दा त्रिशूली नदीमा हामफाल्दा कुनै डर नलागेको उनले बताए ।

उनी मुग्लिङको पुरानो मर्स्याङ्दी फ्रेस फिस रेष्टुरेण्टमा गाडीका यात्रुलाई खाना खान बोलाउने ‘ट्राफिक’ (उनैले दिएको नाम) को काम गर्छन् । आफूले युवतीको ज्यान बचाउन सक्छु भन्ने आत्मविश्वासले नै नदीमा हामफालेको उनले बताए ।

प्रकाशित भएको : January 1st, 2020

सम्वन्धित समाचारहरु