• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


५० वर्ष आरनमा : बरु छोरीले हेर्छन्’ ‘छोरा पाउनु मात्रै


नेपाली अपडेट
शुक्रबार, पुस २५, २०७६
 

२५ पौष २०७६ शुक्रवार

(पोखरा) — बाँसको कप्टेराले बनेको भित्ताको अन्तरकुन्तरबाट माछापुच्छ्रेको सिरेटो भित्र छिर्छ । पुसको ठण्डीमा कठ्यांग्रिँदै ललितबहादुर विक रात कटाउँछन् । माछापुच्छ्रेमुनि घलेल गाउँको सिरानमा छ उनको घर र पाँच दशक पुरानो आरन पनि ।


कास्कीको माछापुच्छ्रे गाउँपालिकास्थित घलेलमा ५ दशकदेखि आरन थापेर बसिरहेका ललितबहादुर विक । तस्बिर : दीपक/कान्तिपुर

आगो, कोइला र फलामसँग खेल्दै उनले अनेक कुइँनेटा छिचोले । ५२ वर्षको उमेरमा श्रीमती गुमाए । तीन छोरा र दुई छोरी आ–आफ्नो घरगृहस्थी सम्हाल्न पुगे । उमेरले ७० टेकेका उनीसँग सम्पत्तिका नाममा दुई सुर्का पाखोबारी छ । घन ठटाउने तागत घटिसक्यो, खेतीपाती परकै कुरा भयो ।

पर्वतको लाङ्दीबाट उनको परिवार कास्कीको घलेल सर्‍यो । उनी कहिले पर्वत त कहिले घलेल ओहोरदोहोर गर्दै हुर्किए । १९ वर्षको उमेरमा गाउँकै सुकमायालाई भित्र्याए । बिहेपछि फौजमा भर्ती हुन दिल्ली पुगे । भर्तीमा फालिएपछि गाउँ फर्किएर बाबुबाजेको पेसा थामे । आरनको सीप उनले बाल्यकालदेखि नै सिकेका थिए । गाउँभरिकाले बाली दिँदा खानलाउन पुग्थ्यो । छोराछोरी भए । सुकमायालाई क्यान्सरले च्याप्यो । माइलो छोरा मनबहादुर र जेठी छोरी रामकुमारीले उपचार गर्न भारत लगे । सुकमायाले उतै देह त्यागिन् । मनबहादुर र कान्छो छोरा कालुले उतै आमाको किरिया गरे ।

आमा बित्नु वर्ष दिनअघि कतार गएका जेठा छोरा रामप्रसादसँग ललितबहादुरको न भेटघाट छ, न त छोराको अवाज नै सुन्न पाएका छन् । १५ वर्ष भयो उनी बुवालाई सम्झिएर घर नफर्केको । रामले श्रीमती र दुई छोरालाई पोखरामै राखेका छन् । छोरासँग ठाकठुक परेको ललितबहादुरलाई सम्झना छैन । तर, जेठो छोरा कतारबाट पोखरा आउँछन्, दुई घण्टा परको घलेलमा भएका बुबालाई भेट्न पुग्दैनन् । दुई नाति भने कहिलेकाहीँ पुग्छन् ।

भारतको हिमाञ्चल प्रदेशमा मजदुरी गर्ने माइला र कान्छो छोरा भेट्न नआएको पनि ९–१० वर्ष पुग्यो । फोन पनि गर्दैनन् । ‘छोराहरूले फोन पनि गर्दैनन् । टाढाबाट पैसा धेरै लाग्छ भन्थे,’ उनले भने, ‘जति खर्च भए पनि बा सम्झेर फोन गर्नुपर्ने हो ।’ फोनै नगर्ने छोराहरूले खर्चपानी हेर्ने कुरै भएन । उनलाई सम्झने भनेको कान्छी छोरी बुद्धिकुमारीले हो । उनी बिहे गरेर हेमजा मिलनचोकमा बस्दै आएकी छन् । दिनमा एकफेर बालाई फोन गर्छिन् ।

चाडबाडमा माइत आउँछिन् । ज्वाइँ विदेशबाट आउँदा धेरथोर खर्च दिन्छन् । ‘छोरा पाउनु मात्रै भयो, बरु छोरीले हेर्छन्,’ रित्तो घरतिर हेर्दै उनले भने, ‘छोरा जन्माइयो, हुर्काइयो, २/४ कक्षा पढाइयो । अहिले आफ्नो नोकरी गर्ने भए, मलाई हेरेनन् ।’

एक्लै बस्नुपर्दा उनको मनमा नानाथरी कुरा खेल्छन् । एक्लै पकाउ, खाउ । आरन बिसाउँदा खाजा बनाएर खुवाउने श्रीमती छैनन् । बिरामी पर्दा बोकेर लैजाने छोराछोरी छैनन् । एकाबिहानै हजुरबालाई उठाउन नातिनातिना आउँदैनन् । पनाति पनातिनीका तोतेबोली सुन्नै पाएनन् । घरका चार भित्ताभित्र छ त केवल सन्नाटा मात्रै ।

‘उमेर छँदा श्रीमती नभए पनि हुँदोरै’छ,’ रसाएका आँखा, अवरुद्ध गलामा उनले भने, ‘यही बेला रै’छ, बूढाबूढी चाहिने ।’ महिलालाई भन्दा पुरुषलाई बुढेसकाल काट्न गाह्रो हुने उनको अनुभव छ । ‘बूढी हुन्थी भने छोराछोरी लाइनमा बस्थे होलान्, आयआर्जन हुन्थ्यो, छरछिमेक पनि खुसी हुन्थे होलान्,’ उनी भन्छन्, ‘कोही नहुँदा घरमा आगो निभ्यो, जोरी शत्रु हाँसेका छन् ।’

घलेलमै खेतीपातीको चलन घट्यो । कोदो, मकै लाउँदैनन् । धेरैजसो जमिन बाँझो छ । गाउँमा रेमिट्यान्स पसेको छ । अन्न बजारबाटै जान्छ । ‘डिंगा पाल्न पनि छोडे, गोबर मल नभई खेती हुन्नँ,’ ललितबहादुर भन्छन्, ‘मल नपुगेर हो कि खेती नगरेका ।’

खेती नभएपछि उनीसँग आउने काम पनि घटेको छ । खेतीपातीलाई चाहिने बाउसो, आँसी, फालीजस्ता औजार बनाउन कमै आउँछन् । कम काम आएपछि उनको आम्दानी पनि घटेको छ । ग्राहकले पहिला बाली दिँदा खानलाउन पुग्थ्यो । तीन खाल मकै, दुई–चार मुरी कोदो हुन्थ्यो । उभ्रेको बेच्थे पनि । त्यसैले चोखिन, मरमसला, लत्ताकपडा जोड्थे । पोहोरबाट गाउँलेले बाली दिन छाडे । नगदै दिन्छन् ।

बाली बुझ्दा काम जति भए पनि सबै घरबाट उत्तिनै अन्न पाउँथे । नगद बुझ्दा काम गरेअनुसार पाउँछन् । ‘खेतीपाती धेरै हुन्थ्यो भने औजार बनाउन पनि धेरै आउँथे, आम्दानी पनि धेरै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले काम थोरै आउनी भएर खानलाउनै धौ छ । कसैले बाँकी राख्छन् । मिहिनेतअनुसार पाउँदिनँ ।’ घलेल र सिदिङबाट आउने स्थानीयले हसियाँ अर्जापेको १५–२० रुपैयाँ दिन्छन्, ओदानको खुट्टा जोडेको ५० रुपैयाँ । त्यतिले उनलाई घर खर्च चलाउन हम्मे–हम्मे पर्छ । तीन–तीन महिनामा पाउने वृद्धभत्ताले भरथेग गरेको छ ।

प्रकाशित भएको : January 10th, 2020

सम्वन्धित समाचारहरु