• शुक्रबार, बैशाख १४, २०८१
  • | April 26, 2024


ओलीले पेलेरै जाने तयारीमा


नेपाली अपडेट
मङ्लबार, साउन १९, २०७८
 

काठमाडौं। पार्टी एकताका लागि पहल भइरहेका बेला सोमबार नेकपा एमालेले नौ वटा विभाग गरेको छ। यसअघि एमालेले विधान महाधिवेशनको मितिसमेत तय गरिसकेको छ।

सोमबार नै माधव नेपाल समूहले एकताका लागि एकतालाई अन्तिम निष्कर्षमा पुर्‍याउन र पार्टीलाई जोगाउन पहल गर्ने निर्णय गरेको थियो।उता माधव नेपाल समूहभित्रै चाँडो सरकारमा सहभागी हुनुपर्ने नेपालमाथि दबावसमेत छ।

माधव नेपालकै कारण सरकारले पूर्णता पाउन नसकेको ब्रिफिङ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठकमा गरेका थिए। सोमबार नेपाल समूहले एकताका लागि सम्पूर्ण ध्यान केन्द्रित गर्ने निर्णय गरेपनि संस्थापन पक्षले भने नौ वटा विभाग गठन गरेको छ। यद्यपि माधव नेपाल समूहका लागि स्थान खाली राखिएको छ।

नेपाल समूहले एकपछि अर्को माग राख्न थालेपछि अध्यक्ष ओलीले आफ्नो पक्षका नेताहरुको बैठक बोलाएर विभागहरु गठन गरेका हुन्। अध्यक्ष ओलीले सार्वजनिक मञ्चबाटै पार्टीभित्र माधव नेपाललाई कुनै स्थान नरहेको समेत बताउने गरेका छन्।

प्रवक्ता प्रदीप ज्ञवालीले पार्टीलाई गतिशिल बनाउन विभिन्न विभागगठन गरिएको संवाददातहरुलाई बताए। ‘‘पार्टीभित्र उत्पन्न समस्याको समधानका लागि छलफल जारी रहेको छ। परिणाम के हुन्छ यो बारेमा केही भन्न सकिन्न तर, पार्टीको गतिलाई अगाडि बढाएका छौँ,’ उनले भने।

पार्टीको नियमावलीअनुसार हरेक विभागमा २५ सदस्यसम्म राख्न पाइने भए पनि नेपाल समूहबाट फर्किएर आउने नेताहरूका लागि भन्दै पूर्णता नदिएको उनको भनाइ छ।

उनले भने, ‘पार्टीमा एकताबद्ध भएर अगाडि बढ्न चाहनेहरूका लागि ठाउँ खाली रहेको छ। विभाग २५ सदस्य नबनाउनुको पछाडि फर्किनेहरूका लागि ठाउँ सुरक्षित गरिएको हो। नियमावली अनुसारले विभाग २५ सदस्य रहेको बनाउन मिल्छ। प्रारम्भमा थोरै सदस्य राखेर नौ विभाग गठन भएका छन्।’

एमालेको आन्तरिक समस्या समाधान कार्यदलले गत असार २७ गते तयार गरेको १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउन पहल जारी रहे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित हुँदै आएको छ।

विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदनको मस्यौदा तयार गर्न पार्टीका अध्यक्ष केपी शर्मा ओली र संगठनात्मक प्रतिवेदन तयार गर्न महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन भएको छ। पार्टीका स्थायी कमिटी सदस्य रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गरेको छ।

एमालेले असोजको पहिलो साता देशभरका सबै वडास्तरका अधिवेशन र दोस्रो साता सबै पालिकास्तरका कमिटीमा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

एमालेले आगामी भदौ २७ र २८ गते काठमाडौंमा पार्टीको विधान महाधिवेशन आयोजना गर्ने तयारीबारे मस्यौदा तयारी र व्यवस्थापन कमिटीबारे आइतबार निर्णय गरेको थियो।

एमालेको बैठकले असोज ३ गते सबै वडामा एकैदिन पार्टीको वडा अधिवेशन गर्ने र ९ गते सबै पालिकामा पार्टीको पालिकास्तरका अधिवेशन गर्ने निर्णय आइतबार नै गरेको थियो।

माधव नेपाल समूहको उपस्थिति बिनै संस्थापन पक्षले विभागहरु गठन गरेपछि दुवैतर्फका नेताहरु अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच भेट गराउन सक्रिय छन्। सभवत दुवै नेताबीच आज भेटवार्ता हुने जनाइएको छ।

ओली निकट एक नेताका अनुसार दुई नेताबीच भेट हुने तयारी भएपनि समय र स्थान टुंगो लागिसकेको छैन। विगठित कार्यदलका सदस्यहरुबीचको दैनिकजसो हुने अनौपचारिक संवादका कारण दुवै नेता भेटवार्ताका लागि तयार भएका हुन्।

Dc Nepal

प्रकाशित भएको : August 3rd, 2021

सम्वन्धित समाचारहरु