• मङ्लबार, बैशाख ११, २०८१
  • | April 23, 2024


उपत्यकाबाहिरबाट उपचारका लागि काठमाडौं आउने संक्रमितको संख्या बढ्दै


नेपाली अपडेट
मङ्लबार, साउन २६, २०७८
 

काठमाडौँ — आइतबार ६५ वर्षीय एक वृद्धलाई सास फेर्न गाह्रो भएपछि पोखराबाट हेलिकप्टरमार्फत काठमाडौँको नख्खुस्थित नेपाल मेडिसिटी अस्पताल ल्याइयो ।अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. राज राणाकाअनुसारदैनिक १० देखि १२ जना कोरोनाका सिकिस्त बिरामीहरु उपत्यकाबाहिरबाट उपचारका लागि आइरहेको बताउँछन् । ‘हिजोमात्रै मेडिसिटीले काठमाडौं बाहिरका ३ जना सिकिस्त बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गर्‍यो,’ उनले भने ।उनका अनुसार हेलिकप्टरबाहेक एम्बुलेन्समार्फत पनि बिरामी आउने क्रम बढेको छ । उनले ६० प्रतिशत आइसियू भरिएको बताउँदै अस्पतालमा पीसीआर गराउनेमा पनि २० देखि २५ प्रतिशत पोजिटिभ देखिरहेको जनाए । डा. राजले अस्पतालमा ५५ देखि ६० जनाको हाराहारीमा आईसीयू र वार्ड गरी कोभिड बिरामी उपचार गराइरहेको जनाए ।

उनका अनुसार नियमित शल्यक्रियाका लागि आउने लक्षण नभएका बिरामीको पनि परीक्षण गर्दा पोजिटिभ देखिइरहको छ । ‘उपत्यकाभित्र र बाहिर दुवैबाट बिरामी आएका छन् । पोखरा, विराटनगर, धनगढी लगायतका ठाउँबाट बिरामीहरु एम्बुलेन्स, प्लेन तथा हेलिकम्प्टर मार्फत बिरामीहरु आइरहेका छन्,’उनले भने ।

मेडिसिटी मात्र होइन उपत्यकाका सबैजसो सरकारी तथा निजी अस्पतालमा बिरामीको चाप बढेको अवस्था छ । उपत्यकाबाहिर बाट प्लेन तथा हेलिकप्टरमार्फत पनि कोभिडका सिकिस्त बिरामीहरुको आउने संख्या बढ्दै गएको छ । आइसियू तथा भेन्टिलेटर सबै अस्पतालमा लगभग भरिँदै गएको अवस्थामा छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांक हेर्दा देशभर ७४१ जना आइसियूमा उपचाररत छन् भने १८६ जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । त्यसैगरी देशभर होम आइसोलेसनमा ३२ हजार ९०७ जना छन् भने संस्थागत आइसोलेसनमा ३ हजार ३८१ जना रहेका छन् । सबैभन्दा बढी बागमती प्रदेशमा १४ हजार ९८६ जना संस्थागत आइसोलेसनमा छन् भने १ हजार ६३४ जना संस्थागत आइसोलेसनमा छन् । बागमती प्रदेशमा नै आइसियू तथा भेन्टिलेटरमा उपचार गराउने संख्या बढी छ । हाल ४५८ जना आइसियू तथा १०९ जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।

धुम्बाराहीस्थिति ह्याम्स अस्पतालका निर्देशक डा. ज्योतिन्द्र शर्माका अनुसार आईसीयू बेडको उपलब्धताबारे जानकारी लिन दैनिकदर्जनौंले फोन गर्ने गरेका छन् । हाल अस्पतालकोआईसीयू बेड भरिभराउ छ । ‘दैनिक ४–५ वटा फोन उपत्यकाबाहिरबाट हेलिकप्टरवाएम्बुलेन्स मार्फत ल्याउनका लागेको भनेरै आउँछ,’ उनले भने, ‘तर, हामीसँग आईसीयू बेड खाली छैनन् ।’

अस्पतालले बिरामी धेरै हुँदा २० वटा आईसीयू बेडमा कोभिड–१९ का बिरामी राखेको भएपनिहाल १२ वटामा मात्रै संक्रमितका लागि छुट्याइएको छ । डा.शर्माका अनुसार ननकोभिडका बिरामी पनि अहिले बढेका छन् ।

उपत्यकामा धेरै कोरोना संक्रमित उपचार हुनेमध्येको एक सरकारी अस्पताल त्रिवि शिक्षण अस्पताल हो । यस अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासका अनुसार पनि अहिले अस्पतालमा उपत्यकाभित्र र बाहिर दुवैबाट बिरामीहरु उपचारकालागि आइरहेका छन् ।‘दोस्रो लहरको पीकमा उपत्यका बाहिरका धेरै बिरामीआए । अहिले दुवैतिरबाट आउने उस्तै छ,’उनले भने ।

उनका अनुसार खोप केन्द्रमा धेरै भीडभाड भएका कारण पनि मानिस संक्रमित भएर अस्पताल भर्ना हुनपुगेका छन् । ‘अहिले त धेरै खोपकेन्द्रहरु बनाएको छ सरकारले । अस्तिसम्म भने खोप लगाएको ४–५ दिनमै संक्रमित भएर आउने धेरै थिए । लाइन बस्दा नै संक्रमित हुन पुगेका थिए मानिसहरु,’ डा. दासले भने ।आईसीयूमा उपचाररत रहेको धेरैजसो ५० माथिका बिरामीहरु रहेको बताउँदै चापका कारण १० बेड थप गरेर ४० शय्या बनाइए पनि त्यो पनि भरिएको उनले जानकारी दिए ।

त्यसैगरी अर्को सरकारी अस्पताल पाटनमा पनि बिरामीकोचाप बढ्दो छ । अस्पतालका निर्देशक डा. रवि शाक्यका अनुसार अहिले परिवार नै संक्रमित भएर भर्ना हुन आइरहेका छन् । ‘आईसीयू पनि लगभग प्याक नै हुने गरेको छ । हामी कहाँ हाल २५८ जना कोभिडका बिरामीहरु उपचार गराइरहेका छन्,’ उनले भने ।

यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि केही सातायता कोभिड बिरामीको संख्यामा वृद्धि भएको छ ।आईसीयू बेड सबै प्याक भएका छन् । अस्पतालका निर्देशक डा.अनुप बास्तोलाले उपत्यकाबाहिरबाट आउने सबै बिरामी गम्भिर नै भएर आउने गरेको बताए । उनका अनुसार खोप लगाएकाहरु पनि संक्रमित भएर आएका छन् । ‘दोस्रो लहरमा कति व्यक्ति संक्रमित भए भनेर मन्त्रालयले सेरो प्रिभिलेन्स गरिरहेको भन्ने कुरा छ । साथै कतिले खोप लगाए भन्ने कुराले हामी कतातर्फ जाँदैछौं भन्ने देखाउँछ,’ उनले भने ।

मन्त्रालयको सोमबारको तथ्यांक हेर्ने हो भने वीर अस्पतालमा ३५ क्षमता भएको आइसियूमा २३ जना उपचाररत छन् भने १० शैयाको क्षमता भएको भेन्टिलेटरमा ७ जना उपचाररत छन् । त्यसैगरी सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा १७६ जना कोभिडका बिरामी उपचार गराइरहेका छन् । यस अस्पतालमा पनि भेन्टिलेटर तथा आइसियू लगभग प्याक नै छन् । २० शैयाको क्षमता भएको आइसियूमा १६ जना र ९ शैया क्षमता भएको भेन्टिलेटरमा ७ जना उपचार गराइरहेका छन् ।

नेपालभर गरी २१ देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी संक्रमित देखिएका छन् । गत २४ घण्टामा २१-३० उमेर समूहका ६४८ , ३१-४९ वर्ष उमेर समूहका ६१२, ४१-५० वर्ष उमेर समूहका ३८६ र ५१-६० वर्ष उमेर समूहका ३५४ जनामा संक्रमण देखिएको छ । नेपालमा हाल परीक्षण अनुसारको संक्रमण दर १९.४ प्रतिशत छ भने मृत्युदर १.५ प्रतिशत छ ।

प्रकाशित भएको : August 10th, 2021

सम्वन्धित समाचारहरु