पशुपतिनाथ मन्दिरको पुर्व बागमती नदीको किनारै किनार करिव सय मिटर उत्तर लागे पछि बागमती नदीको किनारैमा सुर्यघट रहेको छ । कतिपय आम मानिसलाई यो स्थानको बारेमै जानाकरिनै छैन या कमै जानकारी छ। झट्ट हेर्दा काठमान्डौको गजडी ग्याङ्गको क्रिडास्थल जस्तो लाग्ने यस स्थानले कमै मानिसहरुको ध्यान खिचेको छ। बौद्धमार्गी बिशेषत: बज्रयानी सम्प्रदायको लागि यस उपेक्षित सम्पदाले बिशेष महत्व राख्दछ। यहि स्थानमा प्रशिद्द तिलोप्पा र नारोप्पा गुफा रहेको छ। बौद्ध साहित्य र इतिहासमा तिलोप्पा र नारोप्पा गुरुचेलाको सम्बन्धले प्रचलित छन् । गुरु तिलोप्पाबाट नारोप्पा दीक्षित भएको तथा यहाँ वज्रयोगिनी स्वयं पटक पटक प्रकट भइ गुरुचेला दुवैले दर्शन पाएको तथा बज्रयोगिनीको उपदेशको अभ्यास गरेर ज्ञान , बुद्धि र सिद्ध प्राप्त भएको पवित्र स्थान यहि गुफा रहेको कारण यस गुफालाई आम बौद्ध मार्गिहरूको पवित्र तिर्थस्थल मान्ने गर्छन।
बज्रयाना सम्प्रदाय र योगाभ्यासमा राम्रो दखल राख्ने मेरो गेस्ट नाताली (Nathalie Bentolila) फ्रान्स बाट आएकी हुन। फ्रान्स लगायत विश्वको अन्य बिकसित देशहरुमा बौद्ध धर्म तथा बौद्ध दर्शनको महत्व र बौद्ध धर्मको अभ्यासहरु दिनानुदिन बढदो छ। उनले मलाइ नेपाल आउनु भन्दा अघिनै मारातिका, फर्पिङ्ग , लुम्बिनी र पोखराको बौद्ध धर्म संग सम्बन्धित र बिशेष गरि बज्रयोगिनी मन्दिरहरुको दर्शन र उक्त्त स्थानहरुमा सम्भव भएमा ध्यानादी कार्यहरु गर्छु भनेकी थिइन् ।
सोहि अनुरुप पहिलो दिन बौद्धनाथको घुमफिर गरियो, दोश्रो दिन दक्षिणकाली मन्दिर साथै फर्पिङ्गको अशुर गुफा र बज्रयोगिनी मन्दिरको दर्शन गरियाे। तेश्रो दिन आराध्यदेव पशुपतिनाथ मन्दिर परिशरमा रहेको प्रसिद्ध तिलोप्पा र नारोप्पा गुफाको अवलोकन गर्ने उत्साहका साथ हामि गोकर्ण फोरेस्ट रिसोर्टबाट त्यता लागियो । नाताली बिशेष गरि सम्पदाहरुको अवलोकन र ऐतिहासिक जानाकारी भन्दा पनि बज्रयाना सम्प्रदाय तथा योगाभ्यास सम्बन्धि कुराहरुमा बिशेष चासो राख्छिन भन्ने बुझेर मैले उनलाई तिमि सुरुमा वरिपरि घुम्न चाहान्छौ या सिधै गुफा तिर जाने भनेर सोध्छु उसले सिधै गुफा तिरै जाम भनिन। हजार रुपैयाको प्रवेश शुल्क तिरेर ब्रम्हानालाको छेउ हुँदै सुर्यघाट पुगियो । सुर्यघाट पुग्नु अगावै एकहुल कुकुरको बथानहरू हामी तिर केहि खानेकुरो ल्येदियोकी भनेर आउछन तर हामीले केहि पनि खानेकुराहरु जनावरहरूको लागि भनेर लागेका थिएनौं । हिडने बाटोहरु अलि फोहोर, पानीका पाएप फुटेर हिलाम्मे बाटो, मास्तिर भिर भरि बाँदरको बथान। अलिपर पुगेुसी देब्रे पट्टिको भीरको फेदमा स-साना कुटी, फलामको खिया लागेको गेट खोलेर हामी मास्तिर कुटी तिर लाग्छौं । कुकुरहरु हामीलाई निरन्तर पिछा गरि राखीक छन्। म तिलोप्पा नारोप्पा गुफा अगाडी मेरो गेस्ट संग छु। एक जना टुर गाईडको हैसियतमा मा त्यस स्थानमा मेरो पाहुना लिएर जादै गर्दा मलाई भित्र भित्रै हिनताबोध भै रहेको थियो । अलि मास्तिर भीरको आडमा खोर बनाएर एउटा बादर थुनिएको छ। अलि तलतिर मुसाहरुको खोर, छेवैमा केहि खरायोहरु थुनिएको खोर, कुकुरको बथान, तल तिर बागमती नदि पारीपट्टी भिर अनि जंगल । हाल यस स्थानमा आफ्नो प्राकृतिक स्वतंत्रता त्यागि मानव निर्मित बन्धनहरुमा यी प्राणीहरु रहेता पनि परापूर्वकालमा साच्चिकै प्रकृतिको मनोरम छटाहरुले भरिपुर्ण स्थान थियो होला भन्नेमा बिस्वस्त हुन सकिन्छ ।
गुफा भन्दा अलि पर एक हुल केटाहरु आगो तापेर बसेका छन्, गुफा बन्द छ। नसोधी गुफाको ढोका खोलाम कसले के भन्लान भन्ने डर। त्यहि हुलमा गएर सोधे “गुफा खोलेर हेर्न मिल्छ ?” २२ /२३ बर्षको झुस्स दारिवाल केटोले तुरुन्तै जवाफ दियो “मिल्छ दाइ कसैले केहि भन्दैन महाराज बाहिर जानु भा’छ हामीले नै हेर्ने हो।” म गुफा तिर लाग्छु नाताली मलाई पछ्याउदै आइ। गुफाको ग्रिलको सानो ढोका चाबी अडकाएर मात्र राखेको थियो ,मैले ढोका खोले, ह्वास्सै जाड़को गन्द नाक हुदै फोक्सो सम्म एक्कै चोटि पुग्यो। भित्र छिरियो, साँगुरो ठाउँ गन्द मन्द, छरपस्ट माटाको पालाहरु, भुइभरि पालाबाट पोकिएका घिउ, तिर्थालु बर्तालुहरुले बालेको धुपको खरानी अनि ढोका पट्टि ओछ्याईएको गनाउने म्याट। गुफाको अवस्था हेर्दा जड्याहरुको रात काटने स्थान जस्तो। म नातालिलाई के भनौ भन्ने दोधारमा परे। नारोप्पा / तिलोप्पाको गुफा यहि हो भन्ने आँट पिटिक्कै आएन, म मौन रहे। केहीबेरको अवलोकन पछि उसैले मौनता तोडी “यो गुफाको हेरचाह किन गरिएन ? बिश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाको हालत यस्तो त नहुनुनपर्ने “। “यस्तो नहुन पर्ने हो तर यसको ठ्याकै जवाफ म तिमीलाई दिन सक्दिन” मैले भने । उसले कुनै प्रतिप्रश्न गरिन ।
नातालिले म तिर हेरेर भनी “म यो गुफा सफा गर्न चाहन्छु मलाइ सहयोग गर।” मैले समर्थनमा टाउको हल्लाउँदै भने “हुन्छ”। उस्ले मलाई फटाफट काम अह्राउछे मलाई कुचो खोजेर ल्याइदेउ, एक बाल्टी पानी र सुख्खा टालो लेइदेउ। मैले ती सबै थाेक खोज्न थाले। छेवैमा रहेको भगवती गुफा भित्र कुचो भेटें , पानी र बाल्टी खोज्न तिनै केटाहरु भएको ठाउँमा गएर सोधे , एउटाले इसाराले त्या छ बाल्टी भन्यो। धारा खोज्छु छैन। दुइवटा ट्याङ्की डिलमा राखेको, तलतिरबाट पानी तान्न मिसिन तल्लो गरामा छ म खुत्रुक्क ओर्लिएर हेर्छु। मिसिनको रुपमात्रै छ।
ट्याङ्किको धारा खोल्छु पानी छैन । किचेनमा छिर्छु जारमा आधा जार पानी छ त्यही जार बोकेर आए, बाल्टिमा खन्याए। कोनि नाताली के सोच्दी हो, ” ठिक छ?” भनेर सोधी। मैले “ठिक छ” भनिदिए। त्यसपछी म सफा गर्छु तिमी बाहिर गएर फुल, खादा धुप र बत्तिहरु लिएर आउ भनी। हुन्छ भनें । मलाइ हजार रुपैयाँ पैसा थमाउछे, छेवैमा एकजना १८/२० बर्षको केटो उभिएको छ । म पैसा समाएर सामान किन्न निस्कन खोज्छु त्यही केटो मलाई थाहा छ दाइ सामान किन्ने ठाउँ म लान्छु तपाईलाई भन्छ। पर्दैन म आफै किनेर आउछु भन्छु तर उ अघि लाग्यो। मैले केही भनिन। पसलमा पुगियो, सामान किनियो मेरो अघि लाग्ने केटो को थियो केहि थाहा थिएन उस्ले भन्यो “सस्तो ठाउँ होनि दाइ यो। तपाईंलाई सस्तो पर्यो”। “होला भाइ” मैले भने। ” केको होला? होनि दाइ , तपाई लाई दुइ सय फाइदा भो, एक सय मलाई दिनुस एक सय तपाईं राख्नुस”। मैले सोचं यहि एक सयको लागि पछि लागिस भन्ने भयो! लामो कुरा गरिन, थपक्क एक सय दिएं। मैले सोधे “के काम गर्छौ “? उस्ले भन्यो “हामी लोकल केटा हो दाइ, यहीँ आउछौं आश्रममा बस्छौ खान्छौं”।
म पुजा सामान लिएर पुग्दै गर्दा नाताली बढारकुँडारमा ब्यस्त छ। मलाई देखेर मुस्कुराउदै भन्छे “मान्छेले गरेको फोहोर सफा गर्न गार्हो हुन्छ” । हामी दुवै जना मिलेर सफा गरिम। पानीले पुगेन एक जनाले पचास रुपैयाँ दिनुस म ल्याईदिन्छु भन्यो! पैसा लिएर गयो, पानी आईपुग्यो। गुफा बढारकुँडार गरेर पानीले पुछियो। नारोप्पाको मुर्तिको हात फुटेर खस्न लागेको रहेछ। कहिले काहीँ आउने बौद्धमार्गिहरुले बालेको धुप र माटाका पालाहरु बाहिर निकालियो।
सफा गरेर विश्राममा थियौं ! ७ जना बौद्धमार्गी महिलाहरु बौद्ध बाट आईपुगे। संगै पुजा थालियो। उनिहरु पुजा सकेर निस्किए । त्यहाँ बस्ने कुकुरहरुलाई बिस्कुट ल्याएका रहेछन त्यो कुकुरहरुलाई दिए । त्यहाँ बस्ने केटाहरुलाई बेलाबेला गुफा सफा गर्नु, जनावरहरुलाई खान दिनु भन्दै प्रत्येकले दुइ सय तिन सयका दरले पैसा दिए। केटाहरु खुशी थिए। नाताली पुजा सकेर ध्यानमा बसि। म बहिरको हिप्पी बाताबरण नियालेर बसे। छिनछिनमा आउने जाने दारी पालेका ज्यान सुकेका अर्धबैशे मानिसहरुको कृयाकलापहरु बिलकुल तपस्या स्थलमा सुहाउँदो क्रियाकलापहरु लागेनन। न त बोलिमा लागाम न त कुनै सौहार्दता, सप्पै गाजाले लट्ठा परेका जस्ता देखिने। मनमनै यस्तो कु-संस्कार प्रतिको हिनताबोध र यस्तो महत्त्वपूर्ण सम्पदाको हामी बाटै भएको उपेक्षाले मन सार्है खिन्न बनायो।
नाताली ध्यान सकेर बहिर निस्कन्छे। मलाइ हेरेर मुसुक्क हास्छे । ल हिन जाम भन्छे । यत्तिकैमा अर्को केटो आउछ। यहाँ आश्रममा जनावरहरुलाई खिलाउन यसो दान गर्न लाइदिनु दाइ भन्छ। म अक्क न बक्क ,दान गर भनम भने के भन्ली, नभनम भने गाइडले भनेन भन्ने! मेरो पालो तिम्लाई अंग्रेजी आउँछ हैन तिमी आफै माग भने। मागिदिनु न दाइ केटोले जिद्दी गर्यो। “मैले मागिदिन मिल्दैन” मैले अडान लिए। “अरुले मागिदिन्छन त, हामिले आश्रममा सरफाई अनि जनावरलाई खिलाउनु पर्छ भन्दिनुन” केटो अलि कडकियो । “सरसफाइ यस्तै हुन्छ? बादरलाई किन थुनेर राख्या? खरायो मुसा किन पाल्या”? म अलि जंघिन्छु। “भगवानकै रुपहरु हुन के दाइ यी जनावरहरु” उस्ले जिद्दी गर्छ। त्यो गलफत्ती देखेर नाताली मलाइ सोध्छे “ठिक छ”? मैले ठिक छ हिन भन्छु। केटो बाटो छेकेर “सम मनि गिभ मि” भन्छ। अग्रेजी टुटेफुटे बोलेनी नातालिले बुझी पाँच सय निकालेर थमाइ। केटो अझै बेखुसी, अलि दिनु लाउनुन दाइ यत्तिले के हुन्छ आजकाल? म फेरि ठाडै बोल्छु “तिम्लाइ के हुनु पर्ने?” उ बोलेन हेरि रहयो। हामी ब्रह्मनाल हुँदै बाग्मती तरेर अन्य सम्पदाहरुको अवलोकन तिर लाग्यौं ।
केही दिन बिति सक्यो तै पनि हामी नेपालीहरुले जिम्मेवारी, जवाफदेहिता र सु -संस्कार कहिले सिक्छौँ भन्न्ने कुराले पिरोली राखेको छ। हाम्रा धेरै धार्मिक स्थलहरुमा ऋषिमुनिहरु तथा बौद्ध भिक्षुहरुको तपस्या समभावपुर्ण रुपमा एक्कै स्थानमा भएको कारण बौद्धमार्गी र हिन्दुमार्गीहरुमा बिशेष सदभाव रही आएको छ। सम्पदाहरु हाम्रो पुस्ताको मात्र नभएर हाम्रा भावी पुस्ताको सम्पति हो, हाम्रो पहिचान हो । बिश्व सम्पदामा सुचिमा सुचिकृत सम्पदाको हालत यस्तो छ भने हाम्रो अन्य सम्पदाहरु कुन अवस्थामा छन ? एकजना घुम्न आउने तिर्थालु तथा पर्यटकले हाम्रो सम्पदाहरुको यस्तो हरिबिजोक देख्दै गर्दा उनिहरुलाई नेपाल र नेपाली प्रति कस्तो खालको ‘इम्प्रेसन’ पर्ला? कला ,साहित्य ,संगीत र सम्पदाको कुनै जात, भूगोल, धर्म, क्षेत्र हुन्न। यिनको संरक्षण गर्नु हाम्रो दायित्व हो।